काठमाडौं- कालाजार, कुष्ठरोग, डेंगी, रेबिज, सर्पदंश, माटोबाट सर्ने जुका र ट्रकोमा अर्थात् खस्रे रोग। यी सबै आठ रोग नेपालमा पाइने उपेक्षित उष्णप्रदेशीय रोगहरु हुन्।
नेपालमा पाइने उपेक्षित उष्णप्रदेशीय रोगहरुको संख्या ११ छ। तर माथिका यी आठ रोगहरुलाई भने सरकारले समस्याको रुपमा व्याख्या गर्दै प्राथमिकतामा राखेको छ।
उष्णप्रदेशीय भन्नाले सामान्य भाषामा गर्मी हुने देशहरु हुन्। र, बेवास्ता गरिएका रोगहरु नै उपेक्षित रोग हुन्।यी रोगहरुबाट मुख्यतया सरसफाइको कमी, रोग बाहक संक्रामक कीटहरु, घरपालुवा जनावर र पशुहरुसँग नजिकको सम्पर्कमा रहने व्यक्ति र गरिबीको रेखामुनि रहेका मानिसहरु बढी जोखिममा रहेको पाइन्छ।
कुनै कालखण्डमा यी रोगहरु उपेक्षित थिए। कुनै बहस तथा वकालत हुँदैन थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उष्णप्रदेशीय देशहरुमा पाइने उपेक्षित रोगहरुको सूचीकृत गर्दै वकालत सुरु गर्यो।
डब्लुएचओले उष्णप्रदेशीय क्षेत्र तथा देशहरुमा पाइने सूचीकृत गरेका २१ उष्णप्रदेशीय रोगहरु :
१. डेंगी र चिकनगुनिया
२. रेबिज
३. ट्रकोमा (खस्रे रोग)
४. बुरुली अल्सर
५. यज
६. कुष्ठरोग (लेप्रोसी)
७. चागस रोग
८. हयुमन अफ्रिकन ट्रीपानोसोमियासीस (स्पीलिंग सिकनेस)
९. कालाजार (भिसेरल लेस्मानियासिस)
१०. टेनियासिस (फित्ते जुका) र न्यूरोसिस्टाइसर्कोसिस
११. ड्राकुनकुलियासिस (गिनिया वोर्म रोग)
१२. इसिनोकोकोसीस
१३. खाना जन्य ट्रीम्याटोडीयासिस
१४. हात्तीपाइले (लिम्फ्याटिक फाइलेरियासिस)
१५. ओंकोसर्सियासिस (रिभर अन्धोपना)
१६. सिस्टोसिसोमियासिस
१७. माटोबाट सर्ने जुका
१८. माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसीस र अरु डिप माइकोसेस
१९. सर्पदंश
२०. लुतो र अरु इक्टोपारासाइट
२१. नोमा
यी २१ मध्ये नेपालमा पाइने ११ वटा रोगहरुको सूचीमा भनेडेंगी र चिकनगुनिया, रेबिज,कुष्ठरोठ, ट्रकोमा,माटोबाट सर्ने जुका, डसर्पदंश, लुतो र अन्य इक्टोपारासाइट, हात्तीपाइले, टेनियासिस (फित्तेजुका) र न्यूरोसिस्टाइसर्कोसिस, कालाजार र माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसिस छन्। तर आठ वटा रोगहरुलाई मात्र सरकारले समस्याको रुपमा अघि सार्दै रोकथाम तथा निवारणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।सन् २०१८ मा ट्रकोमा रोगलाई जनस्वास्थ्य समस्याको रुपमा निवारण गरिसकेको सरकारलाई सन् २०२६ भित्र कालाजार र सन २०३० भित्र हात्तीपाइले, कुष्ठरोग र रेबिजलाई निवारण गरिसक्नुपर्ने चुनौती छ।
१. कालाजार
नेपालमा पाइने उपेक्षित उष्णप्रदेशीय रोगहरुको सूचीमा कालाजार पहिलो नम्बरमा छ। सन २०२६ सम्ममा जनस्वास्थ्य समस्याको रुपमा निवारण गर्ने सरकारले लक्ष्य छ। तर हालपनि विभिन्न जिल्लामा यो समस्याको रुपमा रहेकाले चुनौतीपूर्ण रहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कालिकोट, डोल्पा जस्ता हिमाली जिल्लामा कालाजारको दर उच्च रहेको र पाल्पा, कैलाली, सुर्खेत, डोल्पा, धुनषा, ओखलढुंगामा बिरामी संख्या अझै बढी छ। रोग निदान र उपचार निःशुल्क हुँदै आएको छ।
२. कुष्ठरोग
आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रियस्तरमा कुष्ठरोगको प्रिभ्यालेन्स दर प्रति दश हजार जनसंख्यामा शून्य दशमलव ९२ प्रतिशत छ। र, २ हजार ४७२ नयाँ कुष्ठरोगका बिरामी पहिचान भएको महाशाखाको तथ्यांक छ। कुष्ठरोगको फैलावटलाई अवरुद्ध गरेर जिल्ला र स्थानीय तहमा कुष्ठरोगको निवारण गर्ने सरकारको लक्ष्य छ। साथै स्थानीय तहमा लगातार पाँच वर्षसम्म १५ वर्ष मुनिका बालबालिकामा कुष्ठरोगका स्थानीय नयाँ संक्रमणलाई शून्यमा पुर्याउनु पनि सरकारको अर्को लक्ष्य हो। सबै तहमा शून्य कुष्ठरोगका लागि राष्ट्रिय मार्गचित्र कार्यान्वयन गर्ने रणनीति लिएको सरकारले रोग निदान र उपचार निःशुल्क प्रदान गर्दै आएको छ। कुष्ठरागको कारण हुने अपांगता व्यवस्थापनको लागि निःशुल्क सुधारात्मक शल्यक्रिया तथा सहायक सामग्री समेत वितरण गर्दै आएको छ।
३. हात्तीपाइले
नेपालमा हालसम्म हात्तीपाइले रोगका कारण ४७ हजार ८८६ जनामा शारीरिक समस्या (हाइड्रडोसिल तथा गोडामा सूजन) देखिएको छ। ५३ जिल्लामा औषधि सेवन बन्द गरिएको छ। ६४ हात्तीपाइले एन्डेमिक जिल्लामध्ये आम औषधि सेवन सम्पन्न गरी ती जिल्लामा बन्द गरिएको महाशाखाले जनाएको छ। समुदायमा हात्तीपाइले रोगको एन्टीजेनेमिया दुई प्रतिशतभन्दा कम र माइक्रोफिलारिया एक प्रतिशतभन्दा कममा पु¥याउने र जनस्वास्थ्यको समस्याको रुपमा निवारण गर्ने सरकारको लक्ष्य छ। आम औषधि सेवन, हाइड्रोशिल बिरामीहरुका लागि निःशुल्क शल्यक्रिया गर्दै आएको सरकारले ४९ जिल्लाहरुमा हात्तीपाइले बिरामीहरुको लागि केयर सेन्टरको स्थापना समेत गरेको छ।
४. डेंगी
सन् २००४ मा डेंगीको पहिलो बिरामी नेपालमा भेटिएको थियो। त्यसपछि प्रत्येक वर्ष बिरामीहरुको संख्या बढीरहेको महाशाखाले जनाएको छ। सन् २०२४ मा मात्रै ७६ जिल्लाका ४१ हजार ८६५ व्यक्तिहरुमा डेंगीको संक्रमण भएको र १५ जनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ। यसको रोकथामका लागि डेंगी रोग रोकथाम तथा नियन्त्रण कार्य योजना स्वीकृत भई हाल कार्यान्वयनको चरणमा छ।
५. रेबिज
नेपालमा उपेक्षित गरिएको अर्को मुख्य उष्णप्रदेशीय रोग हो, रेबिज। सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने रेबिजलाई शून्यमा पु¥याउने सरकारको लक्ष्य छ। तर अझै पनि वर्षेनी हजारौ रेबिजका बिरामी अस्पताल पुग्ने गरेका छन्। गत आर्थिक वर्षमा जनावरको टोकाइबाट अस्पताल पुग्ने बिरामीको संख्या २ लाख १८ हजार ४८२ जना रहेको महाशाखाका तथ्यांक छ। सरकारले यसको रोकथामका लागि कुकुरलाई खोप, एक स्वास्थ्य रणनीतिको अवलम्बन गर्नुका साथै रेबिज खोप इम्मुनोग्लोबुलिन निःशुल्क प्रदान गर्दै आएको छ।
६. सर्पदंश
आर्थिक वर्ष २०८०/८१ मा देशभर ८ हजार १८१ सर्पदंशका बिरामी थिए। जसमध्ये १ हजार ४८८ व्यत्तिलाई विषालु सर्पले डसेको थियो। देशभर हाल ११० वटा केन्द्रहरु मार्फत सर्पदंशको उपचार हुने गरेको छ। नियन्त्रणको लक्ष्य रहेको सरकारले सर्पदंशमा प्रयोग हुने प्रतिविष सकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ।
७. माटोबाट सर्ने जुका
नेपालमा उपेक्षित उष्णप्रदेशीय रोगको सातौ सूचीमा रहेको रोग हो, माटोबाट सर्ने जुका। यो विशेषगरी सरसफाइको कमीले हुने गर्दछ। आर्थिक वर्ष २०८०/८१ मा ५ लाख ४३ हजारभन्दा बढीमा जुकाको संक्रमण देखिएको महाशाखाको तथ्यांक छ। यो रोगको रोकथामका लागि सरकारले १५ देखि ५९ महिनाका बालबालिकाहरुलाई अर्धवार्षिक रुपमा भिटामिन ए सँगै जुकाको औषधि, कक्षा १ देखि १० सम्म अध्ययन गर्ने सबै विद्यार्थीहरुलाई र गर्भवतीहरुलाई दोस्रो गर्भ जाँचमा एक मात्रा खुवाउँदै आएको छ।
८. ट्रकोमा (खस्रे रोग)
आठौँ सूचीमा रहेको खस्रे रोग नेपालमा निवारण भइसकेको छ। सन् २०१८ मा जनस्वास्थ्य समस्याको रुपमा निवारण गरिएको भएको थियो।
नयाँ चुनौती अनुसार काम गर्नुपर्छ – विज्ञ
नेपालमा देखिएका यी आठ रोगको रोकथाम तथा नियन्त्रणका लागि समय अनुसार कार्यक्रम ल्याउनुपर्नेमा विज्ञको जोड छ।
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन डेंगी, रेबिज जस्ता उपेक्षित रोगहरु चुनौतीका रुपमा देखिदै गएको बताउँछन्। उनी भन्छन्, ‘सरकारले काम नगरेको होइन। गरेको छ। तर अपेक्षा अनुसार हुन सकेको छैन।’
नयाँ चुनौती अनुसार सरकारले आफ्ना कार्यक्रमहरु ल्याउनुपर्ने बताउँदै उनले नसर्ने रोगलाई जस्तै यी उपेक्षित रोगलाई पनि प्राथमिकता दिनुपर्ने सुझाव दिन्छन्।
‘एउटा राम्रो उदाहरण रेबिज नै हो। सरकारले निःशुल्क औषधि पनि खुवाउँछ। तर समस्या बढीरहेको छ।’ उनी थप प्रष्ट पार्छन्, ‘पहिले तराईमा देखिने डेंगी अहिले हिमाल पहाडतिर देखिदै गएको छ। डेंगी हरेक वर्ष बढीरहेको छ। सरकारले यही बदलिदो समस्या अनुसार कार्यक्रम ल्याउनुपर्छ।’
यी रोगहरु नियन्त्रणका लागि सरकार विदेशी फण्डमा मात्र भर नपर्न उनको सुझाव छ।
यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरे भने यी उपेक्षित उष्णप्रदेशीय रोगलाई सरकारप्राथमिकताका साथ नियन्त्रणमा जुटिरहेको बताउँछन्। साथै यी रोगहरु नेपालमा हाल उपेक्षित रुपमा नरहेको समेत उनले बताए।
‘यी रोगहरु कुनै बेला उपेक्षित थिए। अहिले छैन।’ उनले भने, ‘हामी प्राथमिकताका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौ। त्यसैले अहिलेको सन्दर्भमा यी रोगलाई उपेक्षित भन्न मिल्दैन।’