काठमाडौं- एसिएन मेडिकल स्टुडेन्टस एसोसिएसन -नेपाल(आम्सा नेपाल)ले निशुल्क स्वास्थ्य शिविर गरेको छ। पहिलो चरणमा फागुन १०, ११र १२ गते नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिकामा सञ्चालन गरिएको हो।
सोही नगरपालिका स्थित चिम्टेस्वर महादेवको मन्दिर अगाडि तीन दिन नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो। जसमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका डाक्टरहरुले सामान्य स्वास्थ्य परीक्षण, स्त्रीरोग सम्बन्धी, हाडजोर्नी सम्बन्धी, नाक, कान, घाँटी सम्बन्धी, आँखा जाँच, दाँतको जाँच र पेटको भिडियो एक्सरेलगायत गरेका थिए।
शिविरमा बिरामीहरूको निःशुल्क जाँच, परामर्श र निःशुल्क औषधि वितरण गरिएको थियो। उक्त क्याम्पमा लगभग १५०० स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए। पहिलो दिन लगभग ६५०, दोस्रो दिन ३०० र तेस्रो दिन ५९० सेवाग्राहीले स्वास्थ्य सेवा लिएका थिए। सोही प्रोजेक्ट अनुसार फाल्गुन ११ गते श्री बेलकोट भञ्ज्याङ माध्यमिक बिद्यालयमा जनचेतना फैलाउने उद्देश्यले आम्सा नेपालका सदस्यहरुले कक्षा ८,९,१०,११ र १२ का विद्यार्थीहरुलाई जनचेतना कार्यक्रम पनि सञ्चालन गरे। साथै दीर्घकालीन रोगसम्बन्धी जनचेतनामुलक नाटक पनि प्रस्तुत गरिएको थियो।
सम्पुर्ण नागरिकको स्वास्थमा पहुँचलाई मध्येनजर गर्दै आफ्नो वडालाई नै मुख्य बिन्दु बनाएर शिविर गरिदिएकोमा बेल्कोटगढी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र तिमिल्सिनाले आभार प्रकट गरे।
शिविरमा सहभागी भएका बिरामीहरूलाई हड्डी र जोर्नीको समस्या, मधुमेह (चिनी रोग), ग्यास्ट्रिक, उच्च रक्तचाप, अधिकांश महिलामा पाठेघर खस्ने, तल्लो पेट दुख्ने र ढाड दुख्ने जस्तो समस्या बढी देखिएका थियो l यी लगायत कान र आँखाका धेरै समस्या पनि देखा परीएको थियो। शिविरमा उपचार गर्न नसकिने समस्याका लागि रिफर गरिएको छ ।
आम्सा नेपाल नेपालमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीहरुको गैरसरकारी संस्था हो। यसले विद्यार्थीको हकहितका साथै आमजनको स्वास्थ्यका लागि काम गर्दै आइरहेको छ। यही क्रममा 'प्रोजेक्ट आरोग्य' नामक कार्यक्रमको सुरुवात गरेको हो। आम्सा नेपालका अध्यक्ष डा सागर विस्वकर्माको नेतृत्वमा गरिएको उक्त प्रोजेक्टमा निशुल्क स्वास्थ्य शिविर, बिद्यालय स्वास्थ्य कार्यक्रम र जनचेतनामुलक कार्यक्रम गरिएको छ l प्रोजेक्ट आरोग्यलाई ४ चरणमा विभाजित गरीएको छ।