काठमाडौं - लगातार टाउको दुख्ने, ज्वरो आउने भएपछि चितवनका ६० वर्षीय कृतिमानले नजिकैको फार्मेसी पसलमा एन्टीबायोटिक औषधि खरिद गरे।
उनले न कुनै चिकित्सकको प्रेसक्रिप्सन देखाए न फर्मासिस्टले नै मागे। आफुलाई भएको स्वास्थ्य समस्या सुनाएपछि फर्मासिस्टले पनि उनलाई सजिलैसँग एन्टीबायोटिक औषधि दिए। अन्य बेला स्वास्थ्यमा समस्या आउँदा पनि उनी अस्पताल नगई फार्मेसी पसलमै औषधि खरिद गरेर खाने रहेछन्।
उनी भन्छन्, ‘यतिको टाउको दुख्दा, ज्वरो आउँदा को अस्पताल गइरहन्छ ! म त यसरी नै फार्मेसीमा औषधि किनेर खान्छु।’
एन्टीबायोटिक औषधिको प्याकेजिङ्गमा राखिने रातो धर्का (रेड लाइन) बारे पनि आफुलाई कुनै जानकारी नभएको उनी बताउँछन्।
आफुखुशी एन्टीमाइक्रोबियल्स (प्रतिजैविक) औषधिहरुको प्रयोग दिनप्रति दिन बढ्दो छ। विभिन्न सुक्ष्म जीव (ब्याक्टेरिया, भाइरस, फंगस) का कारण हुने संक्रामक रोगको उपचारका लागि प्रयोग गरिने औषधिहरु नै एन्टीमाइक्रोबियल्स हुन्।
ज्वरो, टाउको दुखाई वा कुनै पनि रोग लागेका बिरामीले औषधि पसलबाट एजिथ्रोमाइसेन, एमोक्सीलिन जस्ता एन्टीबायोटिक औषधि आफुखुशी खरिद गरेर खाने गर्छन्।
बजारमा पाइने सबै औषधि बिरामीले आफुखशी खरिद गरेर खान मिल्दैन। विशेषगरी समूह ‘क’ र ‘ख’ वर्गका औषधिहरु न त चिकित्सकको प्रेसक्रिप्सन बिना बिक्रि वितरण गर्न मिल्छ न सेवन नै। औषधि स्तर नियमावली २०४३ ले समूह ‘क’ र ‘ख’ वर्गमा विभाजन गरिएका औषधिहरु चिकित्सकको प्रेसक्रिप्सन र फर्मासिस्टको उपस्थितिमा मात्र बिक्रि वितरण गर्नुपर्ने व्यवस्था गरेको छ।
औषधि ऐन २०३५ को ‘दफा ४०’ ले दिएको अधिकार प्रयोग गरिएको बनाइएको उक्त नियमावलीको दफा १० को उपनियम २ को (अ) मा सो व्यवस्था बारे उल्लेख गरिएको छ।
नियमावलीमा भनिएको छ, ‘समूह क मा लागू र विषालु औषधिहरु रहने छन् र समूह ख मा एन्टीबायोटिक्स हर्मोन्स आदि औषधि रहने छन्। यी समूहहरुका औषधिहरु चिकित्सकको प्रेसक्रिप्सन अनुसार मात्र बिक्रि वितरण गर्नु पर्नेछ र यी औषधिहरु फर्मासिस्ट वा व्यवसायी आफैँले वा फर्मासिस्ट वा व्यवसायीमध्ये कुनै एकको उपस्थितिमा मात्र बिक्रि वितरण गर्नुपर्नेछ।’
निर्देशन पालना नगर्ने कम्पनीको लाइसेन्स रद्द गर्छौ : विभाग
एन्टीमाइक्रोबियल्स औषधिहरुको अधिक, न्यून तथा अनावश्यक प्रयोगले प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक रेसिस्टेन्ट) को समस्यालाई झनै बढावा दिँदै लगेको छ।
एन्टीबायोटिक रेसिस्टेन्ट नेपाल सहित विश्वभर देखिएको एक चुनौतीपूर्ण स्वास्थ्य समस्या हुन्। एन्टीबायोटिक औषधिको सही प्रयोग नुहँदा ब्याक्टेरिया विरुद्धको औषधि र त्यसको प्रतिरोधक क्षमतामा ह्रास आउनुलाई एन्टीबायोटिक रेसिस्टेन्ट भनिन्छ।
यही चुनौतीको भारलाई कम गर्न एन्टीमाइक्रोबियल्स औषधिको प्याकेजिङ लेवलमा रातो धर्का लगाउने अन्तर्राष्ट्रिय अभ्यास छ। सोही अभ्यासलाई नेपालमा पनि प्रभावकारी रुपमा लागू गर्न गराउन औषधि व्यवस्था विभागले गत वर्ष भदौमा एन्टीमाइक्रोबियल्स औषधिको प्याकेजिङ्गमा रातो धर्का लगाउनुपर्ने निर्णय ग¥यो। तर हालसम्म पनि प्रभावकारी कार्यान्वयन हुन सकेन।
एन्टीमाइक्रोबियल्स औषधिमा रातो धर्का राख्नुपर्ने व्यवस्था पालना नभएको भन्दै विभागले पुनः यही फागुन १९ गते निर्देशन सहितको सूचना जारी गरेको छ। सेवनकर्ता, स्वास्थ्यकर्मी लगायत सबैले प्रतिजैविक औषधिहरुमा रातो धर्का हुँदा पहिचान गर्न सहज र प्रयोगमा सर्तक हुने भएकाले यो आवश्यक भएको विभागको निष्कर्ष छ।
विभागका महानिर्देशक नारायण ढकाल भन्छन्, ‘यी औषधिमा रातो धर्का भएपछि सबैले नोटिस गर्छन्। औषधि खरिद गर्नेले पनि यो के हो ? भनेर प्रश्न गर्छन्। चनाखो हुन्छन्।’
सेवनकर्ताका लागि मात्र नभई रातो धर्का औषधिको बिक्रि वितरणमा संलग्न हुने व्यवसायीहरुका लागि पनि भएको उनले बताए।
उनका अनुसार रातो धर्काको संकेत भनेको चिकित्सकको प्रेसक्रिप्सन बिना बिक्रि वितरण र खरिद गर्न मिल्दैन भन्नु हो। संक्रामक रोगहरुको उपचारका लागि यी औषधिहरुमा रातो धर्का राखिएको हुनुपर्छ। रातो धर्का भएका औषधि आफुखुशी खान मिल्दैन। मात्रा पुरा गरेर खान अनिवार्य छ। यसो नगर्दा एन्टीबायोटिक रेसिस्टेण्टको समस्या हुन्छ। र, औषधिले रोग विरुद्ध राम्रोसँग काम गर्दैन।
‘समूह क र ख का औषधिको लागि प्रेसक्रिप्सन चाहिने हाम्रो कानूनी व्यवस्था छ।’ उनले भने, ‘ऐन बर्खिलाप भयो भने व्यवसायीलाई पनि कारबाही हुन्छ। रातो धर्का भएपछि अलि होसियार हुनुपर्छ भनेर बुझोस् भन्ने पनि हो।’
रातो धर्का लगाउने सम्बन्धी व्यवस्थाको कार्यान्वयन फितलो भएको उनी स्वीकार्छन्। गत वर्ष सूचना निकालेपनि औषधि उत्पादन गर्ने उद्योगीहरुले कार्यान्वयन नगरेका कारण पुनः निर्देशन दिइएको उनले बताए। उत्पादकले यी प्रतिजैविक औषधिहरु उत्पादन गर्दा प्रष्टसँग देखिने र बुझिने गरी लेवलमा रातो धर्का लगाउनुपर्ने उनी बताउँछन्।
‘कार्यान्वयन फितलो भयो। त्यसैले हामीले पुनः सूचना निकाल्यौ। दिएको निर्देशन लागू गर्नुपर्छ। निर्देशन लागू नगर्ने कम्पनीको लाइसेन्स रद्द गर्छौ। लागू गरेको व्यवस्था कार्यान्वयन गर्दिन भन्ने विकल्प छैन।’ उनले भने।
यो विषयमा जनचेतनाका लागि जनमानसमा लैजाने गरी काम गर्ने सोच बनाएको उनले जानकारी दिए।
रातो धर्का लागू भए प्रतिजैविक औषधिको दुरुपयोग घट्न सक्छ
डा लोचन कार्की पेशाले फिजिसियन कन्सल्टेण्ट हुन्। उनलाई उपचार गर्न जाने अधिकांश बिरामीले आफुखुशी एन्टीबायोटिक औषधि खाइसकेका हुन्छन्। सामान्य रुघाखोकी लाग्दा पनि चिकित्सकको सल्लाह बिना चकलेट जसरी एन्टीबायोटिक औषधि खाने गरेको उनले बताए।
‘एउटा पनि एन्टीबायोटिक औषधि नखाई म कहाँ उपचार गर्न आउने बिरामी एकदमै न्यून छन्। पहिले नै आफुखुशी एन्टीबायोटिक औषधि खाइसकेका हुन्छन्।’ उनले भने।
एन्टीबायोटिक सहित एन्टीमाइक्रोबियल्स औषधिमा रातो धर्का राख्ने व्यवस्था लागू भए बिरामी अनि स्वास्थ्यकर्मी पनि सचेत हुने उनको भनाई छ।
साथै यसले बढ्दै गएको एन्टीबायोटिक रेसिस्टेण्टको समस्यालाई कम गर्न सक्ने उनको विश्वास छ। तर औषधिमा रातो धर्का राखेर मात्र नभई यसको प्रभावकारी कार्यान्वयन भए नभएको अनुगनम गर्न पनि उत्तिकै आवश्यक रहेको उनले बताए।
‘हामीसँग सीमित एन्टीबायोटिक औषधि मात्र छन्। यसलाई सही तरिकाले चिकित्सकको सुझाव अनुसार मात्र प्रयोग गर्नुपर्छ। सरकारले पनि रातो धर्का लगाउने भनेर मात्र हुँदैन। यसको प्रभावकारी अनुगनम पनि जरुरी छ।’ उनले भने।
चिकित्सकको सल्लाह बिना र आफुखुशी सेवन गरिएको औेषधिले शरीरमा फाइदा नभई झन् बेफाइदा गर्ने उनले बताए।
यता, फार्मेसी अधिकृत एवं काठमाडौं विश्वविद्यालयमा फार्मेसी विषयमा विद्यावारिधी गरिरहेका अनिष श्रेष्ठ प्रतिजैविक औषधिहरुमा रातो धर्का अनिवार्य हुनुपर्ने बताउँछन्।
ब्याक्टेरिया, भाइरस, फंगस जस्ता सुक्ष्म जीवका कारण हुने रोगमा प्रतिजैविक औषधि प्रयोग गरिने भएपनि एन्टीबायोटिकको प्रयोग बढी हुने गरेकाले एन्टीबायोटिक औषधिको चर्चा बढी हुने गरेको उनले बताए।
‘भारत, बंगलादेशमा उत्पादन हुने एन्टीबायोटिक औषधिहरुमा रोता धर्का राख्ने प्रचलन नै भइसक्यो।’ उनले भने, ‘रातो धर्का भएपछि आम प्रयोगकर्ता र हामी स्वास्थ्यकर्मी पनि अझ सचेत हुन्छौ।’
प्रतिजैविक औषधिमा रातो धर्का लागू भएपछि एन्टीबायोटिक रेसिस्टेण्टको समस्या पनि केही हदसम्म घटेर जाने उनको विश्वास छ।