काठमाडौं- स्विस वायु गुणस्तर अनुगमन संस्था आइ.क्यु एअर द्वारा गरिएको पछिल्लो विश्लेषण अनुसार सन् २०२४ मा विश्वका जम्मा सात मात्र देशले विश्व स्वास्थ्य संगठनको वायु गुणस्तर मापदण्ड पूरा गरेका छन्। डब्लुएचओको मापदण्ड पूरा गर्ने देशहरूमा अष्ट्रेलिया, न्यूजिल्याण्ड,बहामास, बार्बेडोस, ग्रेनाडा, अस्टोनिया र आइसल्यान्ड रहेका छन्। यी देशहरूले वार्षिक औसत पि.एम २.५ स्तर ५ माइक्रोग्राम प्रति घन मिटर वा सोभन्दा कम कायम राख्न सफल भएका छन्।
सबैभन्दा प्रदूषित देशहरू:
आइ.क्यु एअरको रिपोर्टअनुसार निम्न देशहरूमा सबैभन्दा उच्च वायु प्रदूषण देखिएको छ:
चाड - ९१.८ माइक्रोग्राम प्रति घन मिटर
बंगलादेश - ७८.० माइक्रोग्राम प्रति घन मिटर
पाकिस्तान - ७३.७ माइक्रोग्राम प्रति घन मिटर
कङ्गो लोकतान्त्रिक गणतन्त्र - ५८.२ माइक्रोग्राम प्रति घन मिटर
भारत - ५०.६ माइक्रोग्राम प्रति घन मिटर
वायु प्रदूषण र स्वास्थ्य जोखिम
दीर्घकालीन रूपमा पि.एम २.५ को उच्च स्तरमा रहेको वायुको प्रभावले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ, जसमा श्वासप्रश्वास तथा मुटु सम्बन्धी रोगहरू पर्दछन्। विश्व स्वास्थ्य संगठनको अनुसार, हरेक वर्ष लाखौँ मानिसको असमयिक मृत्यु वायु प्रदूषणका कारण हुने गर्दछ, जसले गर्दा यस समस्यालाई सम्बोधन गर्न तत्काल विश्वव्यापी कदम चाल्नु आवश्यक छ।
आइ.क्यु एअरका विश्वव्यापी सी.ई.ओ फ्राङ्क हाम्स भन्छन्, ‘वायु प्रदूषण मानव स्वास्थ्य र वातावरणीय स्थिरताका लागि गम्भीर खतरा बनेको छ, तर अझै पनि विश्वका धेरै मानिसहरू आफू सास फेर्ने वायुको गुणस्तरबारे बेखबर छन्।'
उनले वायु गुणस्तरको निरन्तर निगरानी, जनचेतना अभिवृद्धि, र प्रभावकारी सार्वजनिक स्वास्थ्य नीति अवलम्बन गर्ने आवश्यकतामा जोड दिएका छन्। जसले प्रदूषणको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न मद्दत गर्नेछ।