काठमाडौं– सन् १९९९ मा चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) बाट एमबीबीएस अध्ययन पूरा गरेपछि डा दीपक सुवेदी त्रिवि शिक्षण अस्पतालमा काम गर्दै थिए। त्यहीक्रममा उनको भेट संयुक्त अधिराज्य (युके) बाट हाइ अल्टिच्युडको विषयमा अनुसन्धान गर्न आएको टोलीसँग भयो। उनी पनि त्यो अनुसन्धानमा सामेल भए। सँगै थिए, अन्य १० नेपाली चिकित्सक।
सोही क्रममा उनले युकेमा मेडिकल शिक्षाको विषयमा जानकारी लिने अवसर पाए।
त्यतिबेलासम्म पनि युके जाने सोच उनको थिएन। अनुसन्धान सकियो। टोलीले दुई वटा पब्लिकेसन पनि निकाल्यो।
अनुसन्धानको काम सकिएपछि उनी आफ्नै दैनिकीमा फर्किए।
एमबीबीएसपछि अबको बाटो रेडियोलोजी थियो उनको मनमा। एमडी अध्ययनका लागि प्रवेश परीक्षाको तयारीमा थिए। हाइ अल्टिच्युडको अनुसन्धानका लागि नेपाल आएका चिकित्सकसँग उनी सम्पर्कमा थिए।
एकदिन डा सुवेदीले युकेमा नेपाली चिकित्सकलाई पढ्ने अवसर कस्तो छ भनेर त्यहाँका चिकित्सकलाई इमेल पठाए।
‘एस अफकोर्स, अवसर छ,’ उताबाट रिप्लाइ आयो।
त्यसपछि उनले त्यहाँ अध्ययनका लागि प्रक्रियालगायतका कुरामा पनि जिज्ञासा राखे। उताबाट ‘तपार्इंजस्तो मानिसले सहजै भर्ना पाउन सक्नुहुन्छ’ भन्ने जवाफ आयो।
त्यसपछि उनलाई पनि थप अध्ययनका लागि युके जाने रहरले छुन थाल्यो। उनले आवेदन दिए। सहजै उताबाट पनि सकारात्मक जवाफ आयो। उनले बेलायत अध्ययनको अवसर पाए।
‘उताबाट आएका रिसर्च टिमका एक डाक्टरलाई मैले इमेल पठाएँ, के छ युकेमा हामीले पढ्न मिल्छ भनेर,’ डा सुवेदीले सम्झिए, ‘ती डाक्टरले मलाई त भोलि नै बोलाइहाल्छ जसरी जवाफ दिए।’
युकेका ती चिकित्सकले सहज रुपमा बोलेको कुरा सत्य नै बन्यो। केही दिनमा डा सुवेदीलाई इमेल आयो–क्लिनिकल अब्जरभेसनका लागि आउ भनेर।
युके जाने अवसर पाएपछि उनले हतारहतार आइईएलटीएसको परीक्षा दिए, त्यो चिठ्ठी आएको ६ सातामै उनी बेलायत पुगिसकेका थिए।
युके पुगेपछि झस्किए
युकेमा विमानस्थलमा ओर्लिनेबित्तिकै उनलाई एक नेपाली चिकित्सक लिन आए।
ती नेपाली चिकित्सकले विमानस्थलमै भने–तिमी यहाँ आउन त आयौ, आउन लागिसकेको मान्छेलाई नआउ किन भन्नु सोचेर केही भनिनँ, तर त्यति सजिलो छैन जति त्यो डाक्टरले भनेको थियो।’
उनले थप सुनाए, ‘पहिलो कुरा प्ल्याब जाँच दिन मिति पाउन गाह्रो छ। पाइहाले अर्को पालो ६ महिनापछिमात्र आउछ, त्यो २ पार्ट गरिसक्दा एकवर्ष जान्छ। एकवर्ष काम नगरी खान सक्ने पैसा दिनसक्ने कोही छ? नत्र भने धेरै गाह्रो छ।’
उनले आफूले सकेको सहयोग गर्ने विश्वास भने दिलाए।
मेडिकल शिक्षा अध्ययन र आफ्नो करिअरको सपना बोकेर युके प्रवेश गरेका डा सुवेदी एयरपोर्ट पुग्नेबित्तिकै झस्किए।
तर हार मानेर सुःख थिएन।
ती नेपाली चिकित्सकले भनेजस्तै एकवर्ष उनका लागि सहज भएन।
उनले सो समयमा प्ल्याब परीक्षालगायतका प्रक्रिया सके। युकेको एमआरसिपी कोर्षको पहिलो भाग पनि पास गरे। त्यसपछि उनले जागिरका लागि आवेदन दिए।
उनको जागिरका लागि अन्तवार्ताको मिति र परीक्षा प्रकाशनको मिति एकैदिन तय भयो।
१३ डिसेम्बर २००२ को बिहान रिजल्ट र दिउँसो जागिरको अन्तर्वार्ता। संयोग उनी दुवैमा पास भए।
डा सुवेदीको इच्छा रेडियोलोजीमा एमडी गर्ने थियो। तर त्यहाँ एकैपटक रेडियोलोजी पढ्न नपाइने व्यवस्था थियो। उनले एमआरसिपी सकेर एडिनबर्ग युनिभर्सिटीको विभिन्न अस्पतालबाट रेडियोलोजीको तालिम सन् २००५ देखि २०१० सम्म लिए। ५ वर्षको कोर्ष अध्ययन गरे।
त्यसपछि उनी कन्सलटेन्ट रेडियोलोजिष्ट बने।
डा सुवेदीको सोच अमेरिका, क्यानडा पुगेर मेडिकल शिक्षाका अन्य कोर्ष अध्ययन गर्ने थियो।
तर वर्कपर्मिट लिनका लागि उनले बेलायतमै जागिर खानुपर्ने बाध्यता थियो। त्यसपछि उनले स्कटल्यान्डको एडिनबर्ग वेस्टर्न जनरल हस्पिटलका कन्सलटेन्ट रेडियोलोजिष्ट भएर काम गरे।
उनले फेरि न्युक्लियर मेडिसिनको कोर्ष पनि गरे।
बिरामीले नेपालको डाक्टर भनेर हेप्दैनन्
डा सुवेदीले चिकित्सा शिक्षा अध्ययन र कार्यको सिलसिलामा २० वर्ष युकेमा बिताइसके।
एडिनबर्गको अस्पतालमा काम गर्ने नेपाली चिकित्सक खासै नभएको डा सुवेदीले बताए। तर एडिनबर्गमा नेपालीहरु भने ५०० भन्दा बढी रहेको उनले सुनाए।
आफू नेपाली डाक्टर भए पनि त्यहाँका बिरामीले विदेशी डाक्टर वा नेपाली एकै हिसाबले व्यवहार गर्ने उनले सुनाए।
‘नेपालबाट आएको भन्दा झनै धेरै एप्रिसेट गर्नुहुन्छ, बिरामीले नेपाली चिकित्सक हो वा विदेशी हो भनेर विभेद गरेको जस्तो लागेको छैन, बरु नेपाली भएकाले अवसर भने पाएको छु,’ उनी भन्छन्।
नेपालमा सरकारी क्षेत्रमा सर्वसाधारणले उपचार गराउने अस्पतालहरुमा रेडियोलोजी मेसिन धेरैजस्तो विग्रिएको अवस्थामा देखिएको उनले बताए।
डा सुवेदीले भने, ‘हुन त सम्बन्धित निकायले प्रयास त गर्नुभएको होला तर मर्मतमा समस्या नै छ,’ उनले भने, ‘मोर्डन टेक्नोलोजीलाई पब्लिक सेक्टरमा अझै धेरै विकास गर्नुपर्ने छ।’
सिटी, एमआरआइ, गामा क्यामरा, पेटसिटी, अल्ट्रासाउण्ड, एक्सरे मेसिन अत्यावश्यक सेवा भइसकेको भए पनि नेपालमा यी मेसिनहरु पर्याप्त नभएको उनले सुनाए।
युकेमा बिरामीको उपचारमा आफूले प्रयोग गरिरहेका सबै प्रविधि नेपालमा नभए पनि केही प्रविधिलाई भने प्रयोगमा ल्याउन सके बिरामीले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्ने उनको भनाइ छ।
डा सुवेदीका अनुसार युकेमा राष्ट्रको प्राथमिकता स्वास्थ्यमा छ। राजनीतिक दलहरुको एजेन्डामा स्वास्थ्यका विषयले प्राथमिकता पाउने र जिडीपीको १० प्रतिशत खर्च स्वास्थ्यमा हुने उनले सुनाए।
युकेमा बिरामीको उपचार सेवाबारे हरेक सेवा विभागमा नतिजामुखी कार्य हुने र यसको निरीक्षण भइरहेको उनले बताए।
उनले काम गरेको अस्पतालमा हाजिरीको सिस्टमसमेत छैन। तर पनि अस्पताल व्यवस्थापकहरुले अप्रत्यक्ष रुपमा निगरानी गरिरहन्छन्। तर चिकित्सक, कर्मचारीहरु आफैं अनुशासित भएर काम गर्छन्।
‘हाजिर गर्ने सिस्टम छैन, तर मैले मेरो काम आफ्नो समयमा सक्काउनुपर्छ भन्ने अनुशासन आफैँ पालना गर्नुपर्छ, त्यहाँ सबैले त्यस्तै गर्छन्,’ उनले भने, ‘त्यहाँको स्कुलिङमा चिटिङ गर्न हुँदैन भन्ने छ।’
चिकित्सकको सेवा मूल्यांकन बिरामीले गर्छन्
युकेमा बिरामीहरु चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिँदा सम्मान दिनुपर्छ र उनीहरुलाई राम्रो व्यवहार गर्नुपर्छ भन्छन्।
चिकित्सक वा स्वास्थ्यकर्मीले दिने सेवा कस्तो छ वा कुनै पनि चिकित्सकले बिरामीलाई कस्तो व्यवहार गर्छ भन्ने कुरा बिरामीसँग नै सोधिन्छ।
चिकित्सकले प्रवाह गरेको सेवाबारे चिकित्सकलाई थाहै नदिइ उनले हेरेका बिरामीसँग सर्भे हुने गरेको डा सुवेदीले बताए।
आफ्नो मूल्यांकन बिरामीले पाएको सेवा र उनीहरुको सन्तुष्टिले तय गर्ने उनले बताए। ‘मैले उपचार गरेको बिरामीलाई अस्पताल प्रशासनबाट कसैले फर्म दिएर जान्छ, बिरामीले आफूले पाएको सेवाबारे लेख्छ,’ उनले भने, ‘हामीलाई त रिपोर्ट तयार भएपछि मात्र थाहा हुन्छ, बिरामीले मैले दिएको सेवाप्रति सन्तुष्टि जनायो वा के भयो भन्ने कुरा।’
कुनै पनि उपचार सेवा वा स्वास्थ्य परीक्षण गर्दा बिरामीलाई राम्रोसँग बुझाइने गरेको उनले सुनाए।
०००
डा सु्वेदी स्कटल्यान्डको एडिनबर्ग वेस्टर्न जनरल हस्पिटलका कन्सलटेन्ट रेडियोलोजिष्ट हुन्। उनी गत चैत तेस्रो साता नेपाल आएका थिए। उनले रोयल कलेज अफ रेडियोलोजिष्ट (युके) इन्टरनेसनल ट्राभलिङ फेलोसिपमार्फत् काठमाडौं उपत्यका र उपत्यकाबाहिरका रेडियोलोजी र अंकोलोजी अध्ययनरत रेजिडेन्ट चिकित्सकका लागि तीन दिने तालिम आयोजना गरे।
अंकोलोजीमा सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्डलगायतका प्रविधिलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा तालिम दिन आफू नेपाल आएको उनले बताए।
तालिममा फोक्सोको क्यान्सर, टाउको, नाक, कान, घाँटीको क्यान्सर, प्रोस्टेट क्यान्सर, महिलाको प्रजनन अंगको क्यान्सर र आन्द्राको क्यान्सरबारे प्रशिक्षण दिइएको थियो।
बिरामीको यी अंगहरुमा भएको क्यान्सर कसरी पत्ता लगाउने तथा उपचार कसरी गर्ने, नयाँ–नयाँ प्रविधिहरु के आइरहेको छ र त्यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा जानकारी दिएका थिए।
डा सुवेदी आफ्नो कार्यक्षेत्र उतै भए पनि नेपालको चिकित्सा क्षेत्रसँग पनि जोडिइरहन चाहन्छन्। पारिवारिक बाध्यता तथा कामका कारण उनी तत्कालै नेपाल नै फर्किहाल्ने सोचमा भने छैनन्।
उनी भन्छन् ‘अहिले नै स्कटल्यान्डलाई छोडेरै नेपालमा आएर काम गरौं भन्ने सोच त छैन तर एडिनबर्ग र नेपालसँगको लिंक बनाइरहन मन छ, ज्ञान हस्तान्तरणको रुपमा नेपालसँग काम गर्न मन छ।’
०००
दाङमा जन्मिएका डा सुवेदीको बाल्यकाल काठमाडौंमा बित्यो। काठमाडौंमै विद्यालय शिक्षा हासिल गरे। सेन्टजेभियर्सबाट आइएस्सी सकेपछि उनी अमेरिका जाने सोचमा थिए। तर चिकित्सक बनाउने सोच परिवारको थियो। पढाइमा अब्बल डा सुवेदीले परिवारको इच्छा बुझेपछि आइओएममा एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा दिए। नाम निकाल्न सफल पनि भए।
‘पारिवारिक वातावरणले मलाई आफू चिकित्सक बन्न नै जन्मिएजस्तो भयो,’ उनले भने, ‘सरकारले पहिलो पटक डेन्टल पढ्न पठाउन परीक्षा लिएको थियो, मेरो नाम निस्कियो तर डेन्टल गर्दिनँ भन्ने लाग्यो। पछि आइओएममा नाम निस्कियो र पढ्न थालेँ।’
आइओएमको पढाइसकेपछि त्रिवि शिक्षण अस्पतालमा काम गर्ने क्रममा संयुक्त अधिराज्य (युके) बाट हाइ अल्टिच्युडको विषयमा अनुसन्धान गर्न आएको टोलीसँगको भेटपछि नै उनको यात्रा नेपालबाट स्कटल्यान्डसम्म बनेको हो।