काठमाडौं- नर्स ममता काफ्ले बेपत्ता प्रकरणमा उनका श्रीमान् नरेशदत्त भट्टबिरुद्ध अदालतमा नयाँ प्रमाण पेश गरिएको छ। घरमै हत्या गरेर शव बाहिर लुकाइएको आशंका गरिएका बेला 'रगतको टाटा' देखिएको भुइँको तस्विर अदालतमा पेश गरिएको हो।
अमेरिकी समाचार संस्था सेभेन न्युजका अनुसार कोठाको कार्पेटजस्तो देखिने कुरामा रगतको टाटा देखिएको तस्विर अनुसन्धान अधिकारीले अदालतमा पेश गरेका हुन्।
ममताका श्रीमान् भट्ट बेपत्ता पारेको अभियोगमा हिरासतमा छन्। आफूले हत्या गरेको अझै अस्वीकार गरिरहेका छन्। प्रहरीले दुईपल्ट उनको घरमा छापा मारे पनि अझै शवको पहिचान गर्न सकेको छैन।
भट्टले चक्कु किनेको, सफा गर्ने सामाग्री किनेको लगायत प्रमाण प्रहरीले जुटाएको छ। तर, अझै ममताको शव लुकाएको ठाउँ फेला पार्न सकेको छैन।
एक महिनादेखि ममता बेपत्ता छिन्। उनी जिउँदो फेला पर्ने सम्भावना लगभग सकिएको प्रहरीले यसअघि नै संकेत गरिसकेको छ।
ममताकी एक वर्षीया छोरी हजुरआमा र मामाको जिम्मा लगाइएको छ। उनको न्यायका लागि ममताका साथी, छिमेकी र नेपाली समुदायले दबाब कायम राखेका छन्।