काठमाडौं- डा सञ्जय यादवलाई एमबीबीएसपछि देशबाट बाहिरिँदै गर्दा भविष्य स्पष्ट थिएन। युवावयको दिमाग आफ्नै विचारबाट भन्दा बढी अरुबाट प्रभावित हुन्छ नै। विदेशमा उच्च शिक्षाका साथै राम्रो करियर बन्ने भाष्यले उनलाई पनि प्रभावित पार्यो। उनी पनि लागे बेलायत तिर। विदेशिने अन्य चिकित्सकको जस्तै उनीसँग पनि सपना थियो- पढ्ने र कमाउने।
बेलायतमा उनले पढ्ने अवसर पाएनन् तर काम गर्ने अवसर भने पाइरहे। पढ्ने कुरामा आज आएर त्यतातिर फर्किदा उनलाई लाग्छ, 'मेरो आफ्नै कमी-कमजोरी रहे होलान् । युरोपियन युनियनको प्रभावले बाहिरियालाई गाह्रो भएको समयको केही प्रभाव पनि थियो।'
केही समय त्यहाँ काम गरेपछि अमेरिकातिर लागे। अमेरिकाको पेन स्टेट कलेज अफ मेडिसिनमा मानसिक स्वास्थ्यमा विशेषज्ञता गर्ने अवसर पाए। दिमागमा अरु नै केही बोकेर हिँडेका उनलाई मानसिक स्वास्थ्यमा मनले डोर्याएको हो । त्यसैले अमेरिका पुगेपछि उक्त विषयमा भर्ना लिन पुगे र फेरि फर्केर हेरे, मैले साइक्याट्रीको काम एमबीबीएस अध्ययनका समयमा पनि गरेको रहेछु । मेडिकल कलेजमा पढ्दा विद्यार्थीले निकाल्ने पत्रिका सम्पादन गर्ने क्रममा मेडिकल विद्यार्थीमा हुने डिप्रेसन र एन्जाइटीमा सामान्य अध्ययन गरेको रहेछु।'
एमबीबीएसपछि उनी एशोसिएससन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा-नेपाल) नामक गैरसरकारी संस्थामा आबद्ध भए। त्योबेला एचआईभी र एसटीआईमा समुदायस्तरमा काम गरिरहेको उक्त संस्थाले हेल्थ क्याम्प गर्थ्यो। त्यसमा उनी पनि पुग्थे। उनी सम्झिन्छन्, 'नेपालको पूर्वपश्चिम गर्ने मौका पाएँ । समाजलाई अलि नजिकबाट बुझें। मानसिक स्वास्थ्यबाट प्रभावित मान्छे देखें।'
क्याम्पमा आएका उनीहरुको 'स्तब्धता' उनले नजिकबाट महसुस गरे। आफ्ना कुरा प्रस्ट भन्न नसक्ने उनीहरुको समस्या पहिचान गर्न सहज थिएन। उनलाई लाग्छ- 'मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ। यसमा धेरै काम गर्न बाँकी छ भन्ने महशुस मलाई त्यहीबेला भएको हुनुपर्छ। जसले मानसिक स्वास्थ्यमा काम गर्ने अध्ययन गर्ने उत्प्रेरित गर्यो होला।'
यी र यस्तै संयोगले उनलाई मानसिक स्वास्थ्यतर्फ मोड्यो। उनी अमेरिकामा मानसिक स्वास्थ्य उपचारमा काम गरिरहेका छन्। आफैंले अध्ययन गरेको पेन स्टेट कलेज अफ मेडिसिनमा उनी एशोसिएट प्रोफेसर छन्। उनको मुख्य विधा अस्पतालमा अन्य रोग लिएर आउने बिरामीलाई हुने मानसिक समस्याको उपचार गर्नु हो। उनको विशेषज्ञता क्यान्सर, निमोनिया जस्ता दीर्घ स्वास्थ्य समस्याले निम्त्याउने मानसिक स्वास्थ्यको उपचार हो। आधारभूत स्वास्थ्य समस्यासँग जुधिरहेको नेपालका लागि नयाँजस्तो लागेपनि विश्वमा वर्षौंदेखि अभ्यास भइरहेको छ। नेपालमा पनि केही चिकित्सकले यसको महत्व बुझेर अभ्यास गरिरहेका छन्। आधारभूत सेवा नै राम्रोसँग दिन नसकिरहेको अवस्थामा यसको प्रशस्त विकास नहुनुलाई डा सञ्जय स्वभाविक ठान्छन्।
अमेरिकाको आर्थिक तथा सामाजिक विकासको तीव्र गतिमा लय मिलाउँदै उनको जीवन अघि बढिरहेको थियो। कोभिड १९ नामक एउटा त्यस्तो महामारी आयो, जसले केही समयका लागि संसार रोकिदियो। जसले जसरी सक्छ, त्यसरी एक-अर्कालाई सहयोग गर्ने संस्कृतिले व्यापकता पायो। अमेरिकामा रहेका नेपाली चिकित्सक आफ्नो समाज र देशका लागि आफूले सकेको सहयोग गर्न लागिपरे। आइसोलेसनले उत्पन्न गराउने मानसिक समस्याको समाधानका लागि डायस्पोरामा केही गर्न हटलाइन खोलियो । त्यसक्रममा बेवनार पनि गर्न थाले। पहिलो लहरमा एकखालको व्यस्तता पनि देखियो। तर, दोस्रो लहरपछि महामारी पनि घट्दै गयो र हाउगुजी समेत कम भयो।
'सामाजिक काममा जोडिएका हामीलाई निरन्तरता दिन पाए हुन्थ्यो भन्ने लागिरह्यो। यसपछि के त ? भन्ने प्रश्न आयो। त्यसले यो अवधारण जन्मायो,' उनले भने।
तीनजना साथीहरु डा श्रीधर पौडेल, डा जगन सुवेदी र उनी भएर संस्थाको सुरुवात गरे। 'हामीले सुरुमा एउटा अवधारणा बनायौं। त्यसका लागि सूत्र बनाएँ। नेपालमा कसरी कार्यान्वयन गर्न सकिन्छ बनाउने भनेर लाग्यौं । धेरैले यस्तो काम तिमीहरुले सक्दैनौं । टन्नै पैसा चाहिन्छ पनि भने,' उनले सम्झिए, 'हामीले त मनदेखि काम गर्न खोजेको, धेरै पैसा थिएन।'
उनीहरुले हिम्म त कसे। विस्तारै टिम निर्माण हुन थाल्यो। २०२२ को अप्रिलमा एनजिओको रुपमा नेपाल इन्सिच्युट अफ मेन्टल हेल्थ नामक संस्था दर्ता भयो । उनीहरु तीनजनाका साथै अन्य ८ जना उक्त संस्थामा जोडिए। संस्थाको संरचना स्वयंसेवी छ।
नेपालको मानसिक स्वास्थ्यमा ठूलो खाडल छ। उनलाई लाग्छ, 'मानसिक सम्या भएका पाँचदेखि १० प्रतिशतले मात्रै उपचार पाउँछन् । त्यसमा पनि ग्रामिण भेगका शून्यदेखि एक प्रतिशत मात्रै हुन्। शहरमा अलि राम्रो होला १५ देखि २० प्रतिशतले पाउँछन्।'
उनलाई यही खाडल पुर्नेगरी काम गर्न पाए हुन्थ्यो भन्ने लाग्यो। सानै भएपनि कम्प्रिहेन्सिभ र इन्टिग्रेटेड होस् भन्ने अपेक्षा थियो। त्यसैले आफ्नो उक्त उपायमा ६ आधार स्तम्भ बनाएर काम थालेका छन्। त्यसमा सेवा दिने, सेवा प्रदायकको क्षमता विकास गर्ने, चेतना फैलाउने, पैरवी गर्ने, अध्ययन गर्ने र अधिकारमा आधारित मानसिक स्वास्थ्य उपचार दिने मुख्य हुन्।
एउटा सानो क्षेत्रमा 'इकोसिस्टम' जस्तो बनाएर कार्यान्वयन गर्दै पछि सफल हुँदै जाँदा त्यही विस्तार गर्ने उनको योजना छ। त्यसैले अहिले चितवनमा सुरु गरिएको छ। विस्तारै त्यही वरीपरीका ६ जिल्लामा आफ्नो काम विस्तार गर्ने उनको संस्थाको योजना छ। उपचारका लागि अहिलेलाई चितवन क्षेत्रमा कमत्मा २५ बेडको अस्पताल चलाउने लक्ष्य लिएका छन्। सरकारको संरक्षणमा चलिरहेका मानव सेवा आश्रममा उक्त संस्थाले सेवा दिने गरेको छ। त्यो चितवनबाटै सुरु भएको छ। प्राथमिक मानसिक स्वास्थ्य सेवा र चेतना वडास्तरबाटै सुरु गर्न केही स्थानीय पालिका र वडासँग समेत छलफल चलिरहेको उनले बताएका छन्।
सामाजिक सञ्जालमा आधारित मानसिक स्वास्थ्य साक्षरता समेत उनको संस्थाले चलाइरहेको छ। जहाँ मानसिक स्वास्थ्यका विभिन्न आयामबारे छलफल हुन्छ। २०७९ मा डिप्रेसनमा केन्द्रीत रहेको चलाइएको उनले बताए। १२ महिनामा डिप्रेसनका १२ वटा फरक पाटोहरु केलाइएको थियो।
अहिले अमिरका नेपाल फाउन्डेसनको सहयोगमा रेडियो कार्यक्रम 'मनोसंवाद' सुरु गरिएको छ। जहाँ मानसिक स्वास्थ्यका विषयमा म्यागेजिन फर्म्याटमा कार्यक्रम प्रसारण हुन्छ। जसबाट आमजनले मानसिक स्वास्थ्य जटिल कुराहरु सहज ढंगले बुझ्ने अपेक्षा डा यादवको छ।
अवधारणा र त्यसको कार्यान्वयनको तहमा उनी स्पष्ट भएका छन्। अबको चरणमा उनी आफूजस्तै नेपाल र नेपालीको मानसिक स्वास्थ्यका लागि चिन्तन गर्नेहरुलाई जोड्दै जाने बताउँछन्। नेपाल सरकारसँगै हातेमालो गर्दै नेपालको मानसिक स्वास्थ्य क्षेत्रमा योगदान गर्ने उनको लक्ष्य छ। हाल अमेरिकामै अध्यापन र चिकित्सा सेवा दिइरहेका उनी यसैका लागि नेपाल आउने-जाने गरिरहन्छन्।