काठमाडौं- नेपालमा पछिल्लो ११ महिनामा जापानिज इन्सेफलाइटिस (जेई) को संक्रमणबाट २२ जनाको मृत्यु भएको छ। परिवार कल्याण महाशाखाको कात्तिक १३ गतेसम्मको तथ्यांक अनुसार देशका १४ जिल्लाका २२ जनाले ज्यान गुमाएका हुन्।
महाशाखाका अनुसार देशभरका ३० वटा जिल्लाबाट संकलन गरिएका नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ७७ जनामा जापानिज इन्सेफलाइटिसका बिरामी फेला परेका छन्। तीमध्ये १४ जिल्लाका २२ जनाको मृत्यु भइसकेको महाशाखाको तथ्यांकमा उल्लेख छ। संक्रमण पुष्टि भएकामभ्ये २८ दशमलव ५७ प्रतिशतको मृत्यु भएको छ।
महाशाखाले जापानिज इन्सेफलाइटिसको शंकास्पद बिरामीमध्येबाट ९१५ जनाको नमुना परीक्षण गरेको थियो। सोमध्ये ७७ जनामा संक्रमण पुष्टि भएको हो। 'शंकास्पद जेईका बिरामीहरुबाट संकलन गरिएको ज्ममा नमूना ९१५ मध्ये ७७ वटामा जेई पुष्टि भएको छ,' महाशाखाको तथ्यांक विवरणमा उल्लेख छ, 'प्रयोगशालाको नतिजा अनुसार जेईका बिरामीहरुमा धेरैजसो १५ वर्षभन्दा कम उमेर समूहका छन्।'
मृत्यु हुनेमा सबैभन्दा बढी कैलालीका छन्। कैलालीमा ४ जनाको मृत्यु भइसकेको छ भने कपिलवस्तु, रौतहट, सिराह, सुनसरी र झापामा दुई दुई जनाको मृत्यु भएको छ। रुपन्देही, पाल्पा, चितवन, काठमाडौं, पर्सा, सर्लाही, सिन्धुली र धनुषामा एक एक जनाको मृत्यु भएको छ।
संक्रमण देखिएका जिल्लामा यी १४ सहित थप १६ जिल्ला रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ। जसअनुसार यी १४ सहित कञ्चनपुर, दैलेख, सुर्खेत, बाँके, बर्दिया, दाङ, रुकुम पश्चिम, स्याङ्जा, तनहुँ, भक्तपुर, महोत्तरी, सप्तरी, उदयपुर, खोटाङ, मोरङ र इलाम रहेका छन्।
नेपालमा जेईविरुद्ध बालबालिकालाई खोप लगाइने गरिन्छ। १२ महिना पूरा गरेका बालबालिकालाई जेईविरुद्धको खोप दिइन्छ। यसका साथै सरकारले सन् २०१६ सम्म खोप अभियान नै चलाएको थियो। बिरामी र मृत्युको संख्या बढ्दै गएपछि जनस्वास्थ्य विज्ञहरुले यस विरुद्धको खोप कार्यक्रमको पहुँच, खोपको भण्डारणदेखि खोपको ढुवानी लगायतका विषयमा शंका गर्न थालेका छन्।
चिकित्सकहरुका अनुसार जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। क्युलेक्स लामखुट्टेले पशुपक्षीहरु जस्तो घोडा, सुँगुर, हाँस आदिलाई टोकेपछि मानिसलाई त्यही लामखुट्टेले टोक्यो भने जापानिज इन्सेफलाइटिस रोग मानिसमा सर्छ। यसरी मानिसलाई टोकेपछि (भाइरस) जीवाणुले मानिसको मस्तिष्कमा असर पुर्याजउँछ अनि बेस्सरी ज्वरो आउने, बेहोस हुनेजस्ता लक्षणहरु देखिन्छ। यो रोग लागेपछि बिरामीमा पक्षघात हुने, अपांग हुने र अन्त्यमा मृत्युसमेत हुन सक्दछ।
महाशाखाको विवरण अनुसार यो रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको नै लामखुट्टेको टोकाइबाट जोगिनु हो। यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार जेईका बिरामीमा उच्च ज्वरो आउने, मुर्च्छा पर्ने, घाँटी अररो हुने, भ्रममा पर्ने, बोल्न नसक्ने अवस्थामा पुग्ने, शरीर अनियन्त्रित भएर कामिरहने, मांसपेशी कमजोर हुने वा पक्षाघात हुने जस्ता लक्षण देखिन्छ। जापानिज इन्सेफलाइटिसबाट सङ्क्रमित हुने २५० मध्ये एक जनामा अझ घातक खालका समस्याहरू देखा पर्न थाल्छन्। त्यस्ता समस्या भएका तीन बिरामीमध्ये एक जनाको मृत्यु हुन्छ। केही बिरामीको मस्तिष्कमा गम्भीर क्षति पुग्छ। तर धेरै बिरामीको स्वास्थ्यस्थितिमा बिस्तारै सुधार हुन थाल्छ।
बच्ने उपाय
– लामखुट्टेको नियन्त्रण गर्नु तथा लामखुट्टेको टोकाइबाट बच्नु।
– झुल हालेर मात्र सुत्ने। बिहान, साँझ विशेष ख्याल गर्ने।
– घरपरिवार, सार्वजनिक स्थल वा पानी जम्ने खाल्टाखुल्टी पुर्ने।
– बढी प्रभावित हुने १५ वर्षमुनिका बालबालिकाहरुलाई यो रोगविरुद्ध खोप दिने।
– पानी जम्ने ठाउँ पुर्ने वा किटनाशक औषधि छर्कर्ने।
– सुँगुर, बंगुर, हाँस, घोडा आदी व्यवस्थित ढंगले पाल्ने र सरसफाईमा विशेष ध्यान दिने।
– पशुपक्षीको खोर मानिस बस्ने घरभन्दा टाढा राख्ने।
– सम्भव भएसम्म घर तथा सुँगुर, बंगुरको खोरको झ्याल ढोकामा मसिनो जाली राख्ने।
– घरवरपरको वातावरण सफा राख्ने।