गर्भवती र गर्भमा रहेको शिशुको गर्भ पहिचानदेखि बच्चा जन्मिने अन्तिम महिनासम्म अब्स स्क्यान अर्थात् अल्ट्रासाउन्ड गर्ने गरिन्छ। गर्भावस्थामा अल्ट्रासाउन्ड कति पटक गरिन्छ? यसको आवश्यकता र महत्व किन छ? यसको भ्रम र यथार्थको विषयमा रेडियोलोजिष्ट डा रामचन्द्र पौडेलसँग स्वास्थ्य खबरपत्रिकाकी रिता लम्सालले गरेको कुराकानी:
अब्स स्क्यान अर्थात् गर्भावस्थामा गरिने अल्ट्रासाउन्ड भनेको कस्तो परीक्षण हो? अल्ट्रासाउन्ड कसरी गरिन्छ?
अब्स स्क्ब्यान भनेको गर्भावस्थामा गरिने अल्टा सोनोग्राफी स्क्यान हो। कतिपयले यसलाई भिडियो एक्सरे पनि भन्छन्। तर वास्तवमा यो भिडियो एक्सरे होइन। यो भिडियो पनि होइन र एक्सरे पनि होइन।
अल्टा सोनोग्राफी स्क्यानमा हामीले सुन्न सक्ने फ्रिक्वेन्सीभन्दा माथिल्लो फ्रिक्वेन्सी भएको ध्वनि मेसिनले उत्पादन गर्छ। त्यसलाई गर्भवती महिलाको शरीरमा पठाइन्छ। शरीरमा पुगेपछि शरीरका तन्तुहरु, बच्चाको अंगबाट केही मात्रामा ध्वनि फर्केर आउँछ त्यसलाई इको भनिन्छ। त्यसलाई मेसिनले संकलन गरेर विद्युतीय सिग्नलमा परिवर्तन गर्छ। त्यसलाई हामीले कम्प्युटरमा तस्बिरको रुपमा देख्छौं। त्यसैलाई अल्ट्रासोनोग्राफी अर्थात् अल्ट्रासाउन्ड भनिन्छ। यदि एक्सरे भएको भए एक त धेरै पटक गर्न मिल्ने थिएन। अर्को गर्भावस्थामा एक्सरे गर्न मिल्दै मिल्दैन। अल्ट्रासाउन्ड भिडियो एक्सरे नभएकोले यो हानिकारक पनि छैन।
अल्ट्रासाउन्ड गर्भावस्थामा कति पटक र कस्तो अवस्थामा गर्नुपर्छ?
गर्भावस्थाको समयलाई तीन त्रैमासिकमा विभाजन गर्न सकिन्छ। पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिक गरेर गर्भावस्थाको ९ महिनालाई तीन/तीन महिनाको अवधिमा विभाजन गरिन्छ। अल्ट्रासाउन्डमा पनि पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकमा छुट्टै–छुट्टै परीक्षणहरु हुन्छ। गर्भावस्थामा आवश्यकता अनुसार धेरै पटक अल्ट्रासाउन्ड गर्न सकिन्छ।
पहिलो त्रैमासिकमा अल्ट्रासाउन्ड कहिले र किन गर्नुपर्छ?
पहिलो त्रैमासिकमा सुरुमा बच्चा बसेको हो वा होइन भनेर थाहा पाउनलाई अल्ट्रासाउन्ड गरेर हेरिन्छ। त्यसपछि बच्चा कुन ठाउँमा बसेको छ भनेर हेरिन्छ। प्रयाजसो बच्चा पाठेघर भित्र बस्छ। तर कुनै–कुनै महिलाको बच्चा पाठेघरमा नबसेर पाठेघरभन्दा बाहिर डिम्बबाहिनी नली वा त्यो भन्दा बाहिर पनि बस्न सक्छ। यसलाई एक्टोपिक प्रेग्नेन्सी भन्छौं। एक्टोपिक प्रेग्नेन्सी भएमा महिलाको लागि खतरनाक हुन सक्छ। कहिलेकाहीँ एक्टोपिक प्रग्नेन्सी भयो र त्यो फुट्यो भने बाहिर देखिँदैन। तर पेट भित्र अत्यधिक रक्तश्राव भएर गर्भवतीको ज्यानै जान सक्ने जोखिम हुन सक्छ। त्यसैले बच्चा ठिक ठाउँमा बसेको छ कि छैन भनेर हेर्न जरुरी छ।
अर्को कुरा, पहिलो त्रैमासिकमै बच्चा बसेको छ तर बच्चा ‘भायवल’ छ वा छैन अर्थात् बच्चाको मुटु चलेको छ वा छैन भनेर हेर्न पनि अल्ट्रासाउन्ड पहिलो त्रैमासिकमा गरिन्छ। यस्तै बच्चा कति वटा बसेको छ, एउटा वा दुई वटा छ कि तीन वटा छ भन्ने पनि अल्ट्रासाउन्डबाटै थाहा पाउन सकिन्छ।
यस्तै गर्भवतीको पाठेघरमा कुनै समस्या छ वा छैन, पाठेघरको वरपर, डिम्बासय भएको ठाउँमा ट्युमर वा अरु समस्या छ वा छैन भनेर हेर्न पनि पहिलो त्रैमासिकमा अल्ट्रासाउन्ड गर्छौं।
पहिलो त्रैमासिकको अन्तिममा पनि अल्ट्रासाउन्ड गरिन्छ। यो समयमा बच्चाको वृद्धि विकासको अवस्था कत्तिको पहिचान हुन्छ?
आजभोलि पहिलो त्रैमासिकको अन्तिम–अन्तिममा गरिने फस्ट ट्राइमिस्टर प्रिएनोमोली स्क्यान भनेर पनि आएको छ। पहिलो त्रैमासिकको अन्तिम–अन्तिममा बच्चामा कुनै असामान्यता बन्न लागेको छ कि भनेर पहिचान गर्न सकिन्छ। यद्यपि, यो समयमा बच्चाको सम्पूर्ण अंगहरु बनिसकेको हुँदैन। तैपनि, कुनै–कुनै प्रमाणहरु पत्ता लगाउन सकिन्छ। जसले बच्चा पछि राम्रोसँग वृद्धि विकास हुन्छ वा हुँदैन भनेर अनुमान गर्न सक्छौं। यसमा गरिने नियमित जाँचमा न्युकल ट्रान्सल्युकेन्सी भन्छौं। यसमा बच्चाको घाँटीमा भएको सानो पानीको रेसाजस्तो हुन्छ त्यसको थिकनेस नाप्छौं। यसले पनि बच्चामा पछि कुनै एवनर्मालिटी देखिन सक्छ वा सक्दैन भन्ने प्रमाण दिन मद्धत गर्छ। यो समयमा नोजल बोनको लेन्थ पनि नाप्छौं। यो स्क्यान ११ हप्ता ३ दिनदेखि १३ हप्ता ६ दिन भित्रमा गरिन्छ।
दोस्रो त्रैमासिकमा के–के परीक्षण गरिन्छ? यो परीक्षण किन महत्वपूर्ण छ?
दोस्रो त्रैमासिकमा धेरैजसो गरिने स्क्यान भनेको एनोमोली स्क्यान हो। यो समयमा बच्चाको सबै अंगहरु बनिसकेको हुन्छ। बच्चाको सबै अंगहरु ठिकसँग बनेको छ वा छैन भनेर हेर्न एनोमोली स्क्यान गरिन्छ। यसमा बच्चाको शिरदेखि पाउसम्म सबै अंगहरु केलाएर हेर्छौं।
जस्तो मस्तिष्कको वृद्धि विकास कस्तो भइरहेको छ? मस्तिष्क भित्र भेन्टिकुलर भन्ने हुन्छ, पानी हुने ठाउँ। त्यो कस्तो बनेको छ? आँखा बस्ने ठाँउ कस्तो छ, आँखाको बनोट कस्तो हुन्छ लगायत सबै हेर्छौं। सानो ब्रेन सेरेबेलम हेरेर पनि एवनर्मालिटी छ कि छैन धेरै कुरा थाहा पाउन सकिन्छ। बच्चाको नाकका डाँडी पनि हेरिन्छ। बच्चाको माथिल्लो ओठ हेरिन्छ। टाउकोको पछाडि भागमा हुने सफ्ट टिस्युको अवस्था नाप्छौं। त्यो धेरै बाक्लो छ भने पनि बच्चामा एवनर्मालिटी छ भन्ने संकेत दिन्छ।
टाउकोमा यी कुराहरु हेरेपछि मुटुमा कुनै असामान्यता छ वा छैन भनेर हेरिन्छ। हामीले एनोमली स्क्यान गर्दा नै मुटुजाँच गर्छौं। मुटुको थप परीक्षण गर्नुपर्ने अवस्थामा फिटल इको गर्न सकिन्छ। यसको परीक्षणका लागि विशेष तालिम लिनुभएको बाल मुटुरोग विशेषज्ञ वा रेडियोलोजिष्टहरु हुनुहुन्छ। जसले फिटल इकोको तालिम लिनुभएको हुन्छ।
एनोमोली स्क्यानमा फोक्सोको अवस्था पनि हेरिन्छ। पेट र छाती छुट्याउने डायफ्रागम पनि हेर्छौं। त्यसपछि पेटको विभिन्न भागहरु आमाशय, आन्द्रा, कलेजो, पित्तथैलीहरु, नाभी निस्कने ठाउँ हेरिन्छ। नाभी निस्कने ठाउँ पनि असामान्यताहरु हुन सक्छन्। आन्द्राहरुमा धेरै सेतो छ वा फुल्लिएको छ कि भनेर हेरिन्छ। त्यसपछि पेटको पछिल्लो भागमा हुने मिर्गौला ठिक छ कि छैन, ठिक ठाउँमा छ कि छैन, ठिक आकारको छ कि छैन लगायतका सबै कुराहरु हेरिन्छ। त्यसपछि पिसाब थैली हेरिन्छ।
बच्चाका खुट्टा ठिकसँग बनेको छ वा छैन, खुट्टाको हड्डीहरु ठिक छ कि छैन। पैताला र खुट्टाको बनोट र अवस्थाहरु सबै हेरिन्छ। बच्चाको दुई वटा हात पनि सूक्ष्म रुपमा हेरिन्छ। सुरुमा दुई वटा हातको हत्केला हेरिन्छ। गर्भमा रहेको भ्रुणले मुठ्ठी कसेको छैन भने औंला गन्न पनि सकिन्छ। पाँच वटा औंला छ कि छैन भनेर हेर्न सकिन्छ।
समग्र मेरुदण्ड पनि हेरिन्छ। मेरुदण्डमा कुनै किसिमको न्युरलट्युव डिफेक्ट छ कि छैन भनेर हेरिन्छ। कसैकसैमा कुम्लो आएको, पानीको फोकाजस्तो आएको कहिलेकाहीँ ब्रेनको अथवा स्पाइनल कर्डको इलिमेन्ट पनि मिसिएर आएको हुनसक्छ। यस्तो छ कि छैन भनेर पनि हेरिन्छ। एनोमोली स्क्यान गर्दा बच्चाको प्रत्येक अंगहरु केलाएर हेरिन्छ।
एनोमोली स्क्यानमा गर्भवती आमाको साल अर्थात् प्लासेन्टा कस्तो छ, कुन ठाउँमा छ, पाठेघरको माथिल्लो भागमा छ वा तल्लो भागमा छ, त्यो पनि हेर्न आवश्यक हुन्छ। यदि एनोमोली स्क्यानमा साल तल्लो भागमा छ भने त्यसलाई लोलाइन प्लासेन्टा र अझ तल छ भने प्रिबिया प्लासेन्टा भन्छौं। यस्तो अवस्थामा तेस्रो त्रैमासिकमा पनि यो परीक्षण गर्नुपर्छ। किनकि, बच्चा जन्मिने नली अर्थात् बर्थ क्यानललाई सालले छेक्यो भने त्यस्तो समयमा नर्मल डेलिभरी गराउँदा आमा र बच्चा दुवैलाई खतरा हुन्छ। त्यो छ कि छैन भनेर हेर्न जरुरी छ। यो दोस्रो त्रैमासिकमा र पछि तेस्रो त्रैमासिकमा पनि हेर्न सक्छौं।
दोस्रो त्रैमासिकमा नै हामीले बच्चा जन्मने पाठेघरको नलि हेर्छौं। यो नली २ दशमलब ५ सेन्टिमिटरभन्दा बढी हुनुपर्छ। यदि यस्तो छैन भने दोस्रो त्रैमासिकमा बच्चा खेर जाने जोखिम पनि हुनसक्छ। त्यसैले यी कुरा पनि हेर्छौं। यस्तै आमाको गर्भमा बच्चा खेल्ने पानीको मात्र पनि हेर्छौं। जसलाई एम्नियोटिक फ्ल्यूड भनिन्छ। यसको मात्र ठिक छ कि छैन भनेर हेरिन्छ। गर्भावस्थाको दोस्रो त्रैमासिकमा गरिने एनोमोली स्यानमा यी थुप्रै कुराहरु हेरिन्छ। यसको लागि समय पनि लाग्छ र यो हेर्न तालिमप्राप्त विज्ञ रेडियोलोजिष्ट पनि हुनुपर्छ।
तेस्रो त्रैमासिकमा गरिने अल्ट्रासाउन्ड कति महवपूर्ण छ? के–के परीक्षण गरिन्छ?
तेस्रो त्रैमासिकमा गरिने अल्ट्रासाउन्ड स्क्यानलाई ग्रोथ स्क्यान पनि भनिन्छ। यसमा बच्चाको ग्रोथ अर्थात वृद्धि विकास राम्रोसँग भएको छ वा छैन भनेर हेरिन्छ। यसमा विशेषगरी जेस्टेस्नल एज एक्पेक्टेट अर्थात् गर्भ कति समयको भयो र कति समयपछि बच्चा जन्मन सक्छ भनेर हेरिन्छ। अर्को, एक्स्पेक्टेट फिटल वेट अर्थात् बच्चाको अनुमानित तौल पनि हेरिन्छ। समय–समयमा हेर्दा तौल वृद्धि भइरहेको छ कि छैन, हुनुपर्ने जति छ कि छैन भनेर हेरिन्छ। यस्तै एम्नियोटिक फ्ल्यूड इन्डेक्स अर्थात् बच्चा खेल्ने पानीको मात्रा ठिक छ कि छैन भनेर फ्ल्यूडको पकेटहरु हेरिन्छ। त्यो धेरै बढी भयो भने पनि राम्रो होइन र कम हुनु पनि राम्रो होइन। त्यो ठिक्क मात्रामा हुनुपर्छ। यस्तै साल ठिक ठाउँमा छ कि छैन भनेर तेस्रो त्रैमासिकमा हेर्न जरुरी हुन्छ त्यो पनि हेर्छौं।
कहिलेकाहीँ हामीले सोचेको भन्दा सानो बच्चा देखियो भने वा आमाको पेट राम्रोसँग बढेको छैन भने ग्रोथ स्क्यानसँगै इन्ट्रायूटेराइन ग्रोथ रेस्ट्रिक्सन (आईयूजीआर) गर्छौं। बच्चाको वृद्धि विकास नभएको अवस्थामा फिटल डपलर पनि गर्छौं। यो भनेको बच्चालाई सालबाट बच्चाको पेटसम्म पु¥याउने नली जसलाई अम्लिकल कर्ड भन्छौँ, त्यसमा तीन वटा रगतको नलीहरु हुन्छन्। त्यो तीन वटा रगतको नलीहरुमा रगतको नलीबाट रगतको बहाव ठिक छ कि छैन भनेर हेर्छौं। यदि सालबाट रगतको बहाव बच्चामा भइरहेको छ भने त्यो समस्या छैन। बच्चाले आवश्यक मात्रामा अक्सिजन र पोषण पाइरहेको छ भन्ने संकेत त्यसले दिन्छ।
यस्तै बच्चाको टाउको भित्रको रगत पठाउने धमनी हुन्छ। त्यसमा फ्लो छ कि छैन भनेर हेर्छौं। त्यही अनुसार बच्चामा एनिमिया छ कि छैन, ब्रेनमा असर परेको छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ। यस्तै पाठेघरमै रगतको फ्लो राम्रो छ कि छैन भनेर पनि हेर्न सकिन्छ। यसरी बच्चाको वृद्धि विकास, तौल वृद्धि राम्रोसँग भएको छ कि छैन भनेर पत्ता लगाउन सक्छौं। तेस्रो त्रैमासिकमा यी परीक्षणसँगै साल राम्रोसँग विकास भएको छ कि छैन भनेर हेरिन्छ।
यी परीक्षण प्रसूति तथा स्त्रीरोग विशेषज्ञको सिफारिस अनुसार नै गरिन्छ? गर्भावस्थामा अरु के–के परीक्षण गरिन्छ?
प्रसूति तथा स्त्रीरोग विशेषज्ञले कुनै असामान्यताको शंकामा पनि थप परीक्षणहरुको सिफारिस गर्नुहुन्छ। डबल मार्कर टेष्ट, क्वाडु«पल टेष्टहरु पनि हुन्छ। पहिलो त्रैमासिकमा गरिने नियमित परीक्षणका क्रममा केही असामान्यता देखिएमा थप परीक्षणहरु गर्ने गरिन्छ। जसमा जेनेटिक टेष्टहरु गर्न सकिन्छ। स्क्यानहरुसँगै कुनै कुनै प्रोसिडरहरु पनि अल्ट्रासाउन्ड गाइडेट अब्स स्क्यानहरु गर्दै हेर्न सकिन्छ।
अल्ट्रासाउन्डको प्रयोगबारे कस्ता–कस्ता भ्रम छन्? यथार्थ के हो?
भ्रम र यथार्थको कुरा गर्नुपर्दा धेरैमा अल्ट्रासाउन्ड र भिडियो एक्सरे उस्तै हो भन्ने सोचाइ छ। धेरैले मलाई सोध्नु पनि हुन्छ। यो भिडियो एक्सरे पटकपटक गर्न हुन्छ? धेरै गर्न हुँदैन भन्छन् नि? भनेर गर्भवतीहरुले नै सोध्नुहुन्छ। मैले सम्झाउँछु। गर्भ परीक्षणमा गरिने अल्ट्रासाउन्ड हो भिडियो एक्सरे होइन। यसमा हानिकारक विकिरण हुँदैन ध्वनि प्रयोग हुने हो भनेर सम्झाउँछौं। यो गर्भावस्थामा जति पटक पनि गर्न सकिन्छ।
गर्भ परीक्षणको विधि र प्रविधिको विकासको अवस्था कस्तो छ? सामान्यतया कुन प्रविधि बढी प्रयोगमा छ?
अहिले गर्भ परीक्षणका लागि टुडी, थ्रिडी, फोरडी स्क्यानहरु छन्। हामी रेडियोलोजिष्टले नियमित प्रयोग गर्ने भनेको टुडी स्क्यान हो। टुडी स्क्यान भनेको टु डाइमेन्सन ब्ल्याक एन्ड ह्वाइटमा गरिने स्क्यान हो। यसमा घुमाएर सबैतिरको भागलाई हेर्न सक्छौं। टुडीबाट बच्चाको भित्री अंगहरुको भाग राम्रोसँग देखिन्छ। त्यसैले डाइग्नोस्टिक सिग्निफिकेन्स भएको टुडी स्क्यान नै हो। आजभोलि प्रविधि थ्रिडी, फोरडी पनि आएको छ। थ्रिडी भनेको बच्चाको तीनै डाइमेन्सन देखिने हो। त्यसमा बच्चाको पूरै अनुहार, हात–खुट्टा हेर्न सकिन्छ। थ्रिडी गर्दा स्क्यान गरेको एक छिनपछि पिक्चर दिन्छ। रियलटाइम इमेजिङ देखियो भने चाहिँ थ्रिडी प्लस इमेजिङ भएकाले त्यसलाई फोरडी स्क्यान भनिन्छ। आजभोलि गर्भवतीहरु थ्रिडी, फोरडी स्क्यान छ कि छैन भनेर पनि सोध्नुहुन्छ। त्यसबाट गर्भमा भएको बच्चा हेर्न पाउने थियौं भनेर भन्नुहुन्छ। त्यो डाइग्नोसिसका लागि भन्दा पनि गर्भमै भएको बच्चा देखाउन, रियल पिक्चर हेर्न बढी प्रयोग हुन्छ। डाइग्नोसिसको पाटोबाट हेर्दा त टुडीबाट नै पत्ता लाग्छ।
नेपालको कानुनले भ्रुण पहिचान गैरकानुनी भनेको छ। गर्भवती वा उनका परिवारले परीक्षणको क्रममा कत्तिको सोध्छन्?
यो प्रश्न हरेक २ जना बिरामीमध्ये एक जनाले सोध्ने प्रश्न हो। नेपालको कानुनले बर्जित गरेको कुरा भएकाले हामीले भन्न मिल्दैन। त्यसैले हामीले भन्ने गरेका पनि छैनौं। भन्नु पनि हुँदैन। त्यो गैरकानुनी कुरा हो। सोध्न चाहिँ धेरैले सोध्नुहुन्छ। तर हामीले एनोमोली स्क्यान गर्दा बच्चाको प्राइभेट पार्टहरुको वृद्धि विकासको विषयमा पनि राम्रोसँग हेर्नुपर्छ। भ्रुणमा देखिएको असामान्यता छ भने हामीले हेर्नुपर्ने अवस्था हुन्छ। यो एनोमोली स्क्यानको पार्ट नै हो। जनेन्द्रीयको अवस्था कस्तो छ, सामान्य छ वा छैन हेर्नुपर्छ। त्यो हेर्दा रेडियोलोजिष्टलाई थाहा त भएको हुन्छ तर हामीले खुलाउँदैनौं। रिपोर्टमा पनि भ्रुण पहिचान गैर कानुनी हो भनेरै उल्लेख गरेका हुन्छौं।
अब्स स्क्यान कति महँगो छ? सबै महिलाले सबै परीक्षण गराउन सक्ने अवस्था छ?
अब्स स्क्यान खासै महँगो छैन। यसमा गरिने एनोमोली स्क्यान अलि महँगो हुने हो। अल्ट्रासाउन्ड सिटी, एमआरआई जस्तो महँगो छैन। त्यसैले यसलाई सर्वसुलभ नै मान्नुपर्छ।
कस्तो अवस्थामा अल्ट्रासाउन्ड धेरै पटक पनि गर्नुपर्ने हुन्छ?
पहिलो त्रैमासिकमा एक पटक गर्दा राम्रो हुन्छ। सुरुमा बच्चा ठाउँमा बसेको छ वा छैन, बच्चा भायवल छ वा छैन भनेर हेर्ने हो। पहिलो त्रैमासिकमा अल्ट्रासाउन्ड गर्दा कुनै असामान्यता छ भने समयमै रोकथाम वा उपचार गर्न सकिन्छ। अर्को, गर्नै पर्ने स्क्यान भनेको एनोमोली स्क्यान हो। यो दोस्रो त्रैमासिकको सुरुमा गरिन्छ। यो स्क्यानले बच्चामा कुनै जटिल असामान्यता छ भने सुरुमा पत्ता लगाएर प्रोगेस हुन नदिएर टर्मिनेट गर्न पनि सकिन्छ। महिलाको लागि पनि खतरनाक छ वा बच्चामा कम्प्लिकेसन हुने जोखिम हुनसक्छ। यसको लागि यो स्क्यान आवश्यक छ।
अर्को, तेस्रो त्रैमासिकमा अल्ट्रासाउन्ड गर्दा नर्मल डेलिभरी गराउने सम्भावना छ वा छैन भन्ने यकिन गर्न सकिन्छ। बच्चाको तौल, पाठेघरमा पानीको मात्र लगायत थाहा पाउन पनि यो स्क्यान आवश्यक छ। अर्को भनेको समय अवस्था र केस हेरेर विशेषज्ञको सिफारिसमा हाई रिक्स छ, आमाको उमेर बढी छ, जुम्ल्याहा बच्चा छ भने धेरै पटक परीक्षण गराउन आवश्यक छ। अल्ट्रासाउन्डले गर्भवती महिला र गर्भमा रहेको शिशु दुवैलाई कुनै असर पुर्याउँदैन।