काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी चुरोट तथा सुर्ती उद्योगको प्रभावमा परेका छन्। जनस्वास्थ्यका लागि हानीकारक चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरुको प्रभावमा मन्त्री भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयमा पत्र पठाउन लगाएका छन्।
गत माघमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ल्याएको जनस्वास्थ्यका लागि हानीकारक पदार्थको उपभोग निरुत्साहित गर्न 'चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटको अगाडि र पछाडिको भागमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने' निर्देशिका जारी गरेका थिए। उक्त निर्देशिका कार्यान्वयनमा नलैजान सुर्ती उद्योगीकै भाषामा सहजीकरण गर्न भन्दै स्वास्थ्य मन्त्रालयमा पत्र पठाउने निर्णय गरेका हुन्।
मन्त्री भण्डारीले चैत ११ गते मन्त्रीस्तरीय निर्णय गर्दै चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगीहरुको माग अनुसार नयाँ निर्देशिका कार्यान्वयन नगर्न र आवश्यक सहजीकरण गर्न स्वास्थ्य मन्त्रालयमा पत्र पठाएका छन्।
मन्त्री भण्डारीले उक्त निर्णय गर्नुअघि सुर्ती उद्योगहरुले उद्योग विभागका कर्मचारीलाई प्रभावमा पार्दै सरोकारवालाहरुसँग छलफल गर्दै नयाँ निर्देशिका कार्यान्वयनमा नलैजान स्वास्थ्य मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेका थिए। सोही निर्णय अनुसार मन्त्री भण्डारीले पनि उद्योगीको प्रभावमा गत माघ तेस्रो साता स्वास्थ्य मन्त्री पौडेलले ल्याएको निर्देशिका कार्यान्वयनमा नलैजान र उद्योगीको मागअनुसार नै आवश्यक सहजीकरण गर्ने निर्णय गर्दै पत्र पठाएका हुन्।
'सरोकारवालाहरूबीच भएको छलफलको निर्णय तथा सो निर्णयको विषयमा सम्बोधन हुनेगरी नीतिगत तथा कानूनी व्यवस्थामा पुनरावलोकन गर्न र सो सँग सम्बन्धित निर्देशिका अनुसार हाललाई उद्योग व्यवसायलाई प्रभाव पर्ने कुनै नयाँ व्यवस्था नगर्ने गरी सहज औद्योगिक वातावरणका लागि सम्बन्धित पक्षबाट अनुरोध भए बमोजिम नै आवश्यक सहजीकरण गरिदिनका लागि तहाँ मन्त्रालयमा अनुरोध गरी पठाउन लेखी आएको विषय पेस हुँदा प्रचलित कानूनअनुसार आवश्यक सहजीकरणका लागि तहाँ अनुरोध गरी पठाउने गरी नेपाल सरकार (मा.मन्त्रीस्तर) बाट मिति २०८१/१२/११ मा निर्णय भएको व्यहोरा अनुरोध छ,' उद्योग मन्त्रालयले स्वास्थ्य मन्त्रालयमा पठाएको पत्रमा भनिएको छ।
मन्त्री भण्डारीले निर्णय लिनुअघि नै उद्योगीहरुले यसको बिरोध गरेका थिए। अहिले उद्योगीहरुकै लाइनमा मन्त्री भण्डारीको निर्णय देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले विश्व क्यान्सर दिवसको अवसर पारेर गत माघमा 'सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१' पारित गरेको थिए।
मन्त्री पौडेलले पारित गरेको उक्त निर्देशिका अनुसार चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा तथा प्याकेटहरुको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमा घातक रंगीन चित्र र चेतावनीमूलक सन्देश अनिवार्य छाप्नु पर्ने व्यवस्था राखिएको छ।
निर्देशिकामा उत्पादकले सुर्तीजन्य पदार्थको बट्टा, र्यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ्ग र लेबुलको बाहिरी भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानीकारक छ भन्ने लगायतका चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थ सेवनको असरबाट भएको घातक, रंगीन चित्र प्रष्ट रुपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अंकित गर्नुपर्ने भनिएको छ।
यो पनि:
अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने