भरतपुर अस्पतालले ६९ औं वर्ष पूरा गरेको छ । भरतपुरमा बस्तिको विकाससँगै सामान्य हेल्थ सेन्टरका रुपमा सुरु भएको अस्पतालले ६०० बेडमा सञ्चालित छ । देशको मध्येभागमा पर्ने भरतपुर क्षेत्रमा बढ्दै गएको जनघनत्वको चाप थेग्नेगरी अस्पतालले आफूलाई विकास गर्दै जाँदा आजको अवस्था आइपुगेको हो । संघीय अस्पतालहरुमा धेरैलाई सेवा दिइरहेको यो अस्पताल अग्रपंतिमा भएपनि काठमाडौं उपत्यका केन्द्रीत मानसिकताको बाछिटा यसले भोगेको छ । जसका कारण अपेक्षित बजेट प्राप्त गर्न सकेको छैन, जनशक्ति पाउन सकेको छैन र राज्य सञ्चालकको प्राथमिकतामा पनि देखिदैन । अस्पतालको विकास, विस्तार र यसक्रमका भोगाइलाई लिएर मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलसँग डिबी खड्काले गरेको कुराकानी :
तपाईं चौथो कार्यकाल निर्देशकका रुपमा अस्पतालको नेतृत्व गरिरहनुभएको छ । अस्पतालको प्रशासक मात्रै होइन, यहीँ जन्मेहुर्केको एक साँक्षीका रुपमा अस्पतालको इतिहास तथा विकासक्रमको समीक्षा कसरी गर्नुहुन्छ ?
अस्पतालको जन्मसँग मेरो जन्म पनि जोडिएको छ । नेपाल सरकारले २०११ सालमा चितवन राप्ती उपत्यका विकास समिति गठन गरेको थियो । मलेरिया नियन्त्रण गर्ने, पहाडबाट तराइतर्फ बसाइँ सार्ने तथा धान उत्पादन गर्ने मुख्य लक्ष्यका साथ उक्त समितिको गठन भएको थियो । त्यसकारण मेरो बुबाआमा पहाडबाट तराइमा बसाइँ सर्नुभएको हो । म चितवनमा नै जन्मिएको हो । मलेरियाको बिरामी उपचार गर्ने प्रमुख लक्ष्यका साथ हेल्थ सेन्टरका रुपमा २०१३ सालमा यसको स्थापना गरिएको हो । परिवार तथा जीवनको निरन्तरतासँग यो अस्पताल जोडिएकाले यससँग मेरो भावानात्मक नाता छ।
देशमै न्युन संख्यामा चिकित्सक हुँदा पनि यसको स्थापनाकालदेखि नै यहाँ चिकित्सकहरु थिए । डा हिरण्य देव प्रधान, डा नगरेन्द्रध्वज जोशी, डा मथुराप्रसाद श्रेष्ठ लगायतका चिकित्सकले सुरुवातकालमा यस क्षेत्रका जनताहरुलाई स्वास्थ्य सेवा दिनुभएको थियो ।
अस्पतालको इतिहासले एलोपेथिक चिकित्साको स्थापना र अभ्यास, राजनीतिक, सामाजिक तथा मानव सभ्यताको नै संकेत समेत गर्छ । स्वास्थ्य मन्त्रालयका दृष्टिबाट २०२० मा २५ बेडबाट सुरु भएको अस्पताल हाल ३०० बेड पुगेको छ । तर, सेवाका हिसाबले हामीले ६०० बेड भन्दा धेरै दिइरहेका छौं ।
अस्पताल अनेक इतिहाससँग जोडिएको छ । सम्झिनु नै पर्दा कविशिरोमणि लेखनाथ पौडेलले आफ्नो जीवनको अन्तिम कालखण्डमा उपचार गरेको अस्पताल हो यो । त्यसकारण पनि यस अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्न पाउँदा र चौथोपटक वार्षिकोत्सव मनाउन पाउँदा इतिहासको बाटोमा उभिएको यात्री जस्तो महशुस भइरहेको छ ।
बाल्यकालदेखि नै नियालिरहेको मान्छेका रुपमा भरतपुर अस्पतालको विकास स्वभाविक रुपमा अघि बढेको पाउनुभएको छ ?
कुनैपनि कुरा सरल रेखामा अघि बढ्दैन भनिन्छ । मान्छेको जीवन, पेशादेखि लिएर अस्पतालको जीवन समेत उतारचढाव हुन्छन्। स्थापनादेखि २०२० सम्म अस्पतालको अवस्थालाई राम्रो मान्न सकिन्छ । तर पञ्चायतकालमा भने यस अस्पतालको विकास त्यति हुन सकेन । बहुदल आइसकेपछि भने अस्पतालको विकासमा केही गति लिएको देखिन्छ ।
२०५९ सालमा अस्पताल विकास समिति गठन आदेशे आयो । जसले पहिलोपटक अस्पतालमा स्थानीय व्यक्तिहरुको पनि संलग्नता गराएर कोष सञ्चालन गरियो । राज्यले ल्याएको यो नीतिले अस्पताल विकासमा ठूलो टेवा पुर्याएको छ ।
नेपालभरका ठूलाठूला अस्पतालहरुको व्यवस्थानका लागि २०५९ सालमा अस्पताल विकास समिति गठन आदेश आएको थियो । स्थानीयहरु विकास समिति अध्यक्ष, सदस्य नियुक्त हुँदा अस्पतालको आवश्यकता बोध गरे । त्यसले विकास द्रुत गतिमा अगाडि बढेको छ । त्यसपछि २०६७ सालमा आइसक्दा यो अस्पताल १५० बेड भइसकेको थियो । १५० वेडलाई नेपाल सरकारले कर्मचारी खर्च दिने तथा १५० वेड आफैं कर्मचारी राखेर चलाउनका लागि अनुमति दिएको छ ।
चितवनको जनघनत्व र चितवन वरिपरिको जनघनत्व निरन्तर बढी नै रहेको छ । पहाडतिरका मान्छेहरु पनि उपचारका लागि यहीँ नै आउने गर्छन् । त्यसैले यसलाई बढाउँदै लैजानुपर्ने आवश्यकता देखियो र २०७४ सालमा आइपुग्दा यो अस्पतालले एकैचोटी ५ सय बेडका अस्पतालका रुपमा पहिचान बनाइसको थियो । सरकार र विकास समिति दुबैबाट परिचालित हुन पाउँदा त्यो सम्भव भएको थियो । अहिले हामी ६ सय बेड अस्पताल सञ्चालन गरिरहेका छौं । दोस्रो टक २०७८ सालमा मेसु हुँदाको समयमा नै अस्पताललाई ६ सय बेडमा लगिसकिएको थियो ।
अब सरुवा रोग सेन्टर र ट्रमा सेन्टर चलाएर ७ सय बेड अस्पताल सञ्चालन हुनेछ । हालको वीर अस्पतालको बराबरको बेड संख्या हामी चल्दैछौं ।

ठूलो भएर उपत्यकाबाहिर हुँदा राज्यका दृष्टिगत विभेद महशुस गर्नुभएको छ कि छैन ?
अहिलेपनि उपत्यकाका राजनितीज्ञ, कर्मचारी, संस्थाहरु, एनजिओ, आइएनजिओहरुमा केन्द्रीकृत राज्य प्रणालीको दृष्टिकोण परिवर्तन भएको छैन । वीर अस्पतालमा जति बजेट जान्छ, कर्मचारी जति थपिन्छन् त्यति हाम्रो अस्पतालमा आउँदैनन् । काठमाडौंको वीर र त्रिवि शिक्षण अस्पतालपछि बिरामी बढी चाप भएको तेस्रो अस्पतालमा यो अस्पताल पर्छ ।
संघीयता लागु भएपनि केन्द्रीकृत मानसिकतालाई पूर्ण रुपमा चिर्न सकिएको छैन । अझै पनि यसलाई मोफसलको अस्पतालको रुपमा लिने र त्यही भाष्य प्रयोग गर्ने गरिन्छ । यसले मलाई दुःख पनि लाग्छ ।
अस्पतालको विकासमा भौतिक संरचनाका साथै विशिष्टिकृत सेवाले पनि विशेष महत्व राख्छ । भरतपुर अस्पतालमा रहेका विशिष्टिकृत सेवा के–के उपलब्ध छन्, साथै चाहिएपनि अभाव भएको सेवाहरु के के छन् ?
६० को दशकदेखि नै हाम्रो अस्पताल विशेषज्ञ सेवाको हिसाबले सुरु भइसकेको अस्पताल हो । हाल विशिष्टीकृत सेवाले पनि छलाङ मारिसकेको अवस्था छ । हाल ११ वटा विधामा विशिष्टिकृत सेवा सञ्चालित छन् । जसमा न्युरो मेडिसिन, न्युरो सर्जरी, स्पाइनल सर्जरी, अर्थाेप्लास्टी, युरोलोजी, प्लास्टिक सर्जरी, डेन्टलमा अत्याधुनिक सेवा लगायत पर्छन् । यसमा स्वास्थ्य मन्त्रालयले प्रत्यक्ष लगानी पनि गरेको छ । हामीले लोकसेवाबाट जनशक्ति नपाएपनि एमडी–एमएस गरेका र डीएम/एमसीएच चिकित्सक स्वास्थ्य मन्त्रालयले पठाएको छ । जसकारण पनि विशिष्टिकृत सेवा प्रदान गर्न सहज भएको छ ।
विसं २०७५ फागुन ३ मा यस अस्पताललाई संघीय सरकार अन्र्तगत विशिष्टिकृत अस्पतालका रुपमा राखिएको हो । छात्रवृति करार पठाउने, अन्य कर्मचारीहरु पनि दिने, उपकरणहरु दिए पनि बजेटको सिलिङ बढेको छैन ।
करिब ५ वर्ष अगाडि ३९ करोडको सिलिङ बजेट रहेकोमा गत वर्ष बढेर जम्मा ४३ करोड पुगेको छ । जबकि अस्पताल ३ सय बेडबाट बढेर ६ सय बेड पुगेको छ । त्यस्तै स्थायी कर्मचारी संख्या पनि बढेको छैन । १८० जना मन्त्रालय अन्तर्गत तथा ७८० जनाले अस्पतालको आम्दानीबाट तलब सेवा लिने गरेका छन् । तर विभिन्न कार्यक्रम मार्फत ३८० जना स्वास्थय मन्त्रालयबाट नै तलब सुविधा पाउनुहुन्छ ।
त्यसकारण विशिष्टीकृत सेवालाई विस्तार गर्नमा कठिन छ । ठाउँ भएपनि अप्रेशसन थिएटरको अभाव छ । हामीसँग हाल ७ वटा मात्रै अप्रेशसन थिएटर छन् ।
अहिले एउटा आन्तरिक स्रोतले अप्रेशन थिएटर थप गर्ने भवन बनिरहेको छ । अप्रेसन थिएटरको अभावमा शल्यक्रियामा पर्खिनुपर्ने पालो घटाउन सकिएको छैन । यी यस्ता कुराहरु पेचिलो पनि छन् ।
पुरानो तथा बिरामीको चाप धेरै हुने यस अस्पतालमा शैक्षिक गतिविधि पनि हुँदा राम्रो मानिन्छ । त्यस्ता गतिबिधि अस्पतालको मेरुदण्ड पनि हुन् । भरतपुर अस्पतालमा के–कस्ता शैक्षिक गतिविधि तथा अनुसन्धान हुने गरेका छन् ?
यो धेरै महत्वपूर्ण प्रश्न हो, कुनैपनि अस्पताल ठूलो भएपछि त्यसको दायित्व बिरामीको उपचार गर्नु मात्रै होइन । यसका अलावा जनशक्ति उत्पादन गर्न आवश्यक हुन्छ । आगामी पुस्ताका लागि जनशक्ति उत्पादन गर्न सक्नु महत्वपुर्ण कुरा हो । अस्पतालको कर्तव्य उपचार दिनुका साथै तालिम दिनु पनि हो । साथै अनुसन्धानका कामहरु अगाडि बढाउनु पनि सामाजिक दायित्व हो । नेपालीहरुले कहिलेसम्म विदेशीले लेखेको किताब तथा अनुसन्धानका भरमा उपचार गर्ने तथा धारणा बनाउने ?
अनुसन्धानको स्रोत हाम्रा लागि बिरामी नै हुन् । हामीकहाँ दिनमा २८/२९ शय बिरामी आउने गर्छन् । त्यो एकदमै उल्लेखनीय तथ्यांक पनि हो । दिनमा ४० शल्यक्रिया हुनु पनि उल्लेखनीय नै हो ।
ल्याबमा दैनिक ४ सय नमूना परीक्षण हुने गरेको छ । एक्सरे ५ सय जनाको हुन्छ । यति धेरै स्रोत भएको अस्पतालमा हामीले अनुसन्धानका कार्य अगाडि बढाउन सकेका छैनौं ।
त्यसकारण ३ वटा हांगा हुन्छन् भनिन्छ, उपचार, अध्ययन–अध्यापन तथा रिसर्च । अनुसन्धानमा हामीले प्रत्यक्ष रुपमा सहयोग नपाएपनि आईआरसी र रिसर्च कमिटीको गठन गरेका छौं । वार्षिक १० वटा उत्कृष्ट रिसर्चलाई अस्पताल आफैंले पैसा दिन्छ । यो अस्पतालको प्रयासमा गरिएको छ । यो सरकारी अस्पतालमा अन्त कतै पनि छैन । म मेसु भएदेखि नै लगातार त्यो कार्य गरि नै रहेको छु ।
हामीले यस अस्पतालको वार्षिकोत्सवमा पहिलोपटक अस्पताल जर्नल निकाल्दै छौं । २५ गते नै यसको विमोचन गर्ने कार्यक्रम छ । साइन्टिफिक कमिटीका साथीहरु त्यसका लागि आउनुभएको छ । हामी र वरिपरि भएका वेस्ट रिसर्च प्रोपोजल तथा जर्नलहरु रजिष्टर गर्ने काम भइसकेको छ ।
यी सबै कुराहरु हामीले अस्पतालकै प्रयासमा गरेका हौं । तर जनशक्ति, पूर्वाधार र स्रोत साधनमा पनि यति ठूलो अस्पताल एकेडेमिक कार्यक्रम चलाउनका लागि हामी पछाडि परेकै हो । वीर, राप्ती, कर्णालीले जस्तो हामीले प्रतिष्ठान पनि बनाएनौं । प्रतिष्ठानको मोडालिटीमा जाँदा सरकारी तथा गैरसरकारी कर्मचारी बीचको लडाईं देखेका कारण त्यतातिर हामी गएनौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकै आंगिक अस्पताल भएर सञ्चालन गरौं भनेर हामी अगाडि बढ्यौं।
विं सं २०७९ साल चैत्र १० गतेको मन्त्रीपरिषद्ले भरतपुर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पतालका रुपमा निर्णय पनि गरिएको छ । तर, त्यो अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट पूर्णकालीन एमडी, एमएस विद्यार्थी तथा चिकित्सकहरु पाएका छैनौं । त्यो पनि मोफसल मानसिकता नै हो । नर्सिङ कलेज हाम्रो पूर्णकालीन छ ,तर कलेजको ६० प्रतिशत शुल्क मात्रै हामीले पाउँछौं । धेरै उतै जान्छ, अहिले पनि धेरै उतै गएको स्थिति छ । उता कुरा गर्दा स्वास्थ्य मन्त्रालयबाट एकेडेमिक बजेट लैजानुहोस् भन्नुहुन्छ । मन्त्रालयले दिइरहेको छैन।
अहिले २४ जना नयाँ शिक्षकहरु नियुक्त गरिएको छ । तलब, भत्ता तथा सेवा सुविधा भने उताबाट आउँदैन । त्यो न्यायोचित भएन । शिक्षकहरुलाई पनि हौसला र तालिम दिनुपर्छ । उहाँले पैसा लिदन सकिदैन भन्नुहुन्छ, त्यो स्वास्थ्य मन्त्रालयले हेरिदिनुपर्यो । एमबिबिएस पढाउने भनेर नीति तथा कार्यक्रममा विंसं २०८० सालमा नै आयो । पोखरा र दाङमा सुरु भएपनि वीर अस्पताल र भरतपुर अस्पतालमा सुरु हुन सकेन ।
एमबिबिएस पढाउने शिक्षकको माग हामीले गरेअनुसार ५७ जनाले निवेदन पनि दिनुभयो । यसका लागि हामीले कक्षाकोठा पनि तयार गर्यौं । पोखरा र दाङमा अनुमति दिइयो अन्तिममा यहाँ अनुमति दिइएन ।

बिरामीको संख्या बढ्दो छ, बिरामीको भीडभाड व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
नेपालमा केही पक्षहरु नीतिगत रुपमा नै मिलाउन नसकिएको अवस्था छ । रेफरल प्रणालीको सुरुवात नै गरेका छैनौं । त्यसबारेमा हामीले चर्चा पनि गरेका छैनौं । रेफरल प्रणाली भनेको कुनैपनि स्वास्थ्य बिमाका बिरामीले स्थानीय स्तरमा उपचार गर्छ भने त्यही स्तरको चिकित्सकहरुसँग विभिन्न परीक्षण गर्छ भने रेफर भएर अर्काे अस्पतालमा जाँदा सबै परीक्षणहरु पुनः त्यही परीक्षण गराउने, त्यही स्तरका चिकित्सकलाई देखाउने गर्दा राज्यका स्रोत साधनहरुको आवश्यकता बिना नै प्रयोग भइरहेको अवस्था छ।
त्यसकारण स्वास्थ्य बिमाको पनि सही रुपमा प्रयोग भइरहेको छैन । नियन्त्रण गर्ने प्रविधि नियमनकारी निकायले अपनाउनु पर्ने हो। रेफरल प्रणालीको बारेमा भन्दा विदेशतिर एकैपटक विशेषज्ञ चिकित्सकलाई देखाउन पाइँदैन । त्यसका लागि ३/६ महिना कुर्नुपर्ने हुन्छ । त्यहाँ निजी अस्पतालमा बढी पैसा तिरेर पनि यस्तो सेवा पाउन सकिदैन।
नेपालमा भने एकैदिन ३-४ वटा डाक्टरलाई भेट्न पाए मात्रै बिरामी खुसी हुन्छन् । डाक्टरहरुले पनि धेरै बिरामी हुँदा समय दिएर बिरामी हेर्न नपाउने अवस्था छ । त्यसका डाक्टर र बिरामी दुवै असन्तुष्ट हुने गर्छन् ।
यो प्रचलन हटाउन सकिएको छैन । त्यसका लागि मेहनत गरेर अभ्यास पनि गरिएको छैन । एमबिबिएस पढेको डाक्टरले पहिला हेरेर मात्रै विशेषज्ञ चिकित्सकले हेर्ने व्यवस्था भएमा विशेषज्ञ चिकित्सकले समय लिएर बिरामी हेर्न पाउने अवस्था हुन्छ । यसले स्वास्थ्य सेवामा गुणस्तरीयता पनि बढाउँछ । प्रणाली बसाल्न नसकेका कारण नेपालमा स्वास्थ्य सेवा गुणस्तरीय बनाउन नसकिएको हो ।
निशुल्क सेवा, विशेषज्ञ चिकित्सक तथा सम्पूर्ण सेवा एकैपटक पाउनुपर्ने मानसिकता बिरामीहरुको पनि छ । जसलाई परिवर्तन गर्न आवश्यक छ।
आधारभुत बाहेकका सेवाहरु तत्कालै तथा सजिलै विश्वमा कहीँ पाइँदैन । त्यो हामीले बुझाउन सकेका छैनौं । आधारभूत सेवा संविधानले नै तोकेको छ, इर्मेजेन्सी सेवाबाट जनतालाई विमुख गराउन पाइँदैन । विशिष्टिकृत सेवा तत्काल दिनुपर्ने बाध्यता हुँदैन । नेपालमा भने राज्यले धान्न नसक्ने अवस्थामा निशुल्क स्वास्थ्य उपचार कार्यक्रमहरु ल्याइएको छ । जसकारण एकातिर राज्यको स्रोत दोहन भएको छ भने अर्काेतर्फ दिगोपना समेत छैन । जनता समेत सन्तुष्ट भएको स्थिति छैन।
त्यसकारण रेफरल तथा उपचारमा प्रणाली बसाउन आवश्यक छ । हामीले भीड व्यवस्थापनका लागि विंसं २०७८ सालदेखि नै अनलाइन टिकट प्रणालीको सुरु गरेका छौं । स्वास्थ्य मन्त्रालयले भनेको भन्दा पनि २ वर्ष अगाडि हामीले अनलाइन टिकट प्रणालीको सुरु गरेका थियौं । त्यतिबेला हामीले बिमा पनि अनलाइन टिकट प्रणालीका सुरु गरेका थियौं । प्राविधिक समस्या देखा परेका कारण बिमाको टिकट भने हामीले एक वर्ष सुरु गरेर पनि बन्द गरेका थियौं।
अनलाइन टिकट प्रणाली एकदमै सजिलो पनि छ । तर मानिसहरुको अनलाइन टिकट नकाटी अस्पतालमा नै लाइन बस्न आउने परिपाटी छ । छिटै लाइन बसेर अनावश्यक भीडभाड बिरामीले बनाइरहेका हुन्छन् । त्यसकारण अनलाइन टिकट प्रणालीमा अझैपनि मानिसहरुको रुचि देखिएको छैन । हामीले ल्याबमा लाइन लाग्नु नपर्ने प्रणालीको विकास गरेका छांै,क् युआर भुक्तानी प्रविधिको विकास गरेका छौं । तर बिरामीहरु प्रविधिमैत्री हुन सकेका छैनन् । एमआरआई, सिटीस्क्यानको एब्ऋक् प्रणाली पनि हामीले लागु गरिसकेका छौं। स्वास्थ्य मन्त्रालयले प्रविधिमैत्री बनाउन भनेको छ । बिरामी पनि प्रविधिमैत्री हुन आवश्यक छ । बिरामीहरु प्रविधिमैत्री नहुँदा अस्पतालमा भीडभाड बढेको छ।
शल्यक्रियाको सूची अझै पनि धेरै घटाउन नसक्नु हाम्रो कमजोरी हो । विस्तारित अस्पताल सेवा नभएको भए हामीले बिरामीको चाप थेग्न सक्ने स्थितिी. थिएन । हामी सबैको बानी नसुध्रेसम्म अस्पतालको भीड व्यवस्थापन चुनौती नै छ ।
के–कस्ता सहयोग प्राप्त भए भरतपुर अस्पताललाई चाहेअनुरुपको अस्पताल बनाउन सकिन्छ ?
यति धेरै बिरामीलाईइ द्रूत गतिमा चाहेको जस्तो सेवा लिन सफल भइसकेका छौं । त्यसकारण भरतपुर अस्पताल हामीले चाहेको जस्तो बनाइसकेका छौं । अरुलाई आरोप लगाउने बानीको हटाउनु नै समस्या समाधान हो । अरुलाई आदर नगर्ने, गाली गर्ने बानी, प्रणालीमा जान नखोज्ने, कर्मचारीहरुको केही हदसम्मको लापरवाही जस्ता बानी हटाउन सके अस्पताल चाहेजस्तो बन्न सक्छ।
बिमा बक्यौता रकम भुक्तानी नभएमा भने हामी आर्थिक संकटमा पर्नेछौं र त्यो चुनौती हामीबीच छ । कर्मचारीहरुमा पनि काम प्रतिको लगाव कम देखिएको छ । सेवा प्रदायक सेवा लिनेमा प्रणाालीमा काम गर्नुपर्छ भन्ने अवधारणाको विकास जबसम्म हुँदैन तबसम्म असामञ्यताको अवस्था आउने गर्छ । तर पनि यति ठूलो संख्या सही रुपमा अस्पताललाई चलाइरहेका छौं ।
त्यसकारण हामी लक्ष्यमा पुगेको नै मान्नुपर्छ । त्यसलाई अझै प्रभावकारी बनाउनका लागि सेवा प्रदायक तथा सेवा लिनेले बानी व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । मानसिकता परिवर्तन तथा रेफरल प्रणालीको विकास पनि आवश्यक छ । स्वास्थ्य बिमाको नमूना परिवर्तन पनि आवश्यक छ।
अरु अस्पतालभन्दा फरक के–कस्ता सेवाहरु छन् ?
हाम्रो औषधि परामर्श कक्ष भिन्नै छ । निःशुल्क बस सेवा नेपालमा नै पहिलो सञ्चालनमा ल्याएका छौं । विभन्न समूहका लागि फरक फार्मेसीको व्यवस्था गरेका छौं । ज्येष्ठ नागरिक, अशक्त, गर्भवतीका लागि भिन्नै फार्मेसीको व्यवस्था छ।
ज्येष्ठ नागरिकको संख्या बढ्दै गएकोले निशुल्क बस सेवा सञ्चालनमा छौं । ७ किलोमिटरको रिङरोडमा बस सेवा सञ्चालनमा छ । जाडोयाममा अस्पतालका बिरामी कुरुवालाई कपडा वितरण गरिएका छ । निरन्तर चलिरहेको छ । भरतपुर अस्पतालमा मात्रै दिनमा एकजना आत्महत्या गरेका बिरामीको पोस्टमार्टम गरिने भएकोले मानसिक रोगकोबारेमा खुलेर कुरा गर्नका लागि ब्लु ट्री सञ्चालनमा ल्याइएको छ।
ब्लड बैंक आफ्नै छ । बिरामीलाई कम शुल्कमा ब्लड दिइन्छ । अन्य अस्तालमाा १ हजार पर्ने यहाँ ६ सयमा ब्लड दिइन्छ । बोलीवचन तथा एक अर्काप्रतिको आदर गर्ने बानीको विकास गरेका छौं र यो क्रम जारी छ । फार्मेसीको ७ वटा काउन्टर छन् । निशुल्क पाइने १ सय १० प्रकारका औषधिका लागि भिन्नै काउन्टर छ।