काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालय र माताहतका निकायको ओएनएम गर्न पूर्वस्वीकृति दिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
'स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको छ,' मन्त्री गुरुङले भने।
यसैगरी, मन्त्रिपरिषदले नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचीमा हेरफेर तथा थपघट गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा वर्षौंदेखि नयाँ दरबन्दी थप नहुँदा अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप अनुसार सेवा प्रवाह सहज हुन सकिरहेको छैन।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा हजारौं जनशक्ति आवश्यक रहे पनि नेपालको अहिलेको आर्थिक अवस्थाका कारण केही सय संख्यामा मात्र नयाँ दरबन्दी थप गर्ने हिसाबले नयाँ दरबन्दी संरचना पास गर्ने गरी काम अगाडि बढाइरहेको बताउँदै आइरहेका छन्। उनले १५ सय हाराहारीमा स्वास्थ्यमा दरबन्दी थप गर्ने तर्फ आफू लागिरहेको बताएका छन्।