काठमाडौं- नेपाल फार्मेसी संघले बिहीबार जारी गरेको विज्ञप्तिप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ। फार्मेसी संघले ‘बिरामीलाई भ्रममा पार्ने, अज्ञानताको फाइदा उठाउने र अनुचित मुनाफा कमाउने मुख्य जिम्मेवार आयातकर्ता र डाक्टरहरू नै हुन्’ भनेर विज्ञप्ति निकालेको थियो।
चिकित्सक संघले फार्मेसी संघको विज्ञप्तिमा उल्लेखित विषयले चिकित्सकहरुको आत्मसम्मानमा ठेस पुगेको भन्दै चिकित्सकमाथि कपोल्कल्पित र गम्भीर आरोप लगाइएको भन्दै विज्ञप्ति निकालेको छ। संघले शनिबार विज्ञप्ति जारी गर्दै फार्मेसी संघको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अहोरात्र सेवामा खटिने चिकित्सकहरूमाथि लगाइएको यस्तो कपोलकल्पित तथा गम्भीर आरोपले चिकित्सकहरूको आत्मसम्मानमा ठेस पुगेको नेपाल चिकित्सक संघको ठहर रहेको छ,’ महासचिव डा सन्जिब तिवारीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
चिकित्सक संघले स्वास्थ्य क्षेत्रको समस्या निराकरण गर्न सबै एकजुट हुनुपर्नेमा अरूलाई दोष लगाउनु र कारबाहीको माग गर्नु हास्यास्पद र दुःखद भएको भन्दै बिरामीको आवश्यकता अनुसार लेख्न पाउने चिकित्सकको अधिकारमाथि कसैले हस्तक्षेप नगर्न पनि अपिल गरेको छ।
‘वर्षौँको ज्ञान तथा अनुभवबाट दक्षता हासिल गरेका योग्य चिकित्सकहरूको मानमर्दन हुने गरी सार्वजनिक गरिएको यस्तो अपमानजन्य एवं निन्दनीय अभिव्यक्तिप्रति नेपाल चिकित्सक संघ गम्भीर आपत्ति व्यक्त गर्दै यस्तो भ्रमपूर्ण अभिव्यक्तिको घोर भर्त्सना गर्दछ। स्वास्थ्य क्षेत्रको समस्या निराकरण गर्न सबै एकजुट हुनुपर्नेमा अरूलाई दोष लगाउनु र कारबाहीको माग गर्नु हास्यास्पद र दुःखद भएको संघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै बिरामीको आवश्यकता अनुसार लेख्न पाउने चिकित्सकको अधिकारमाथि कसैले हस्तक्षेप नगर्न सरोकारवाला सबैलाई यसै विज्ञप्तिमार्फत अपिल गर्दछौं।'
नेपाल फार्मेसी संघले गैरकानुनी न्युट्रासिटिकल्सहरु चिकित्सकलाई सिफारिस गर्न नदिन माग गर्दै जारी गरेको विज्ञप्तिमा ‘बिरामीलाई भ्रममा पार्ने, अज्ञानताको फाइदा उठाउने र अनुचित मुनाफा कमाउने मुख्य जिम्मेवार आयातकर्ता र डाक्टरहरू नै हुन्’ भन्ने विषय उल्लेख गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्युट्रासिटिकल्स बिक्री वितरणको सम्पूर्ण दोष फार्मेसी तथा खुद्रा औषधि पसलहरुलाई गरिएको भन्दै फार्मेसी संघले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति बिहीबार सार्वजनिक गरेको थियो।
नेपाल फार्मेसी संघका महासचिव युवराज भुसालले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ माघमा विज्ञप्ति डाक्टरहरूले खुलेआम औषधि व्यवस्था विभागमा दर्ता नभएका उत्पादनहरू सिफारिस गरिरहेका दाबी गरिएको छ।
फार्मेसी संघले स्वास्थ्य मन्त्रालयले न्युट्रासिटिकल्सका विषयमा पछिल्लो समय चालिरहेको कदमपछि विज्ञप्ति निकालेको थियो। स्वास्थ्य मन्त्रालयले १५ माघमा विज्ञप्ति जारी गर्दै न्युट्रासिटिकल्सलाई औषधिका रुपमा दर्ता गर्न र दर्ता नभएका न्युट्रासिटिकल्स बिक्री गर्न नदिइने उल्लेख गरेको थियो। उसले यस्ता उत्पादनहरु बिक्री, वितरण गर्ने कार्य रोक्न वार्षिक ३ हजारभन्दा बढी फार्मेसी अनुगमन भइरहेको र जिल्ला अदालतहरुमा १०० भन्दा बढी मुद्धाहरु दर्ता गरिएको जनाएको थियो। यस्ता कार्यहरु रोक्न पनि मन्त्रालयले आग्रह गरेको थियो।
मन्त्रालयको उक्त विज्ञप्तिपछि संघले आफूले गुणस्तरीय स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्य सामग्रीप्रति सचेत र जिम्मेवार रहँदैं आएको जनाएको छ। ‘पछिल्लो समय औषधि व्यवस्था विभागबाट जारी गरिएका विभिन्न सूचना र निर्देशनहरू फार्मेसी तथा खुद्रा औषधि पसलहरूलाई लक्षित गरिएको देखिन्,’संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
संघले न्युट्रास्युटिकल्स औषधीय गुण भएका उत्पादन भएको उल्लेख गर्दै जसलाई आयात गर्दा खाद्य सामग्रीका रूपमा दर्ता गरिने तर बिक्री गर्दा डाक्टरहरूको सिफारिसमा औषधिको रूपमा वितरण गरिने दाबी गरेको छ। ‘बिरामीलाई भ्रममा पार्ने, अज्ञानताको फाइदा उठाउने र अनुचित मुनाफा कमाउने मुख्य जिम्मेवार आयातकर्ता र डाक्टरहरू नै हुन्,’ संघले भनेको छ, ‘तर, अहिले यस समस्याको दोष औषधि व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालय, खुद्रा औषधि विक्रेता र फार्मासिस्टहरूलाई थोपर्न खोजिएको छ जुन अन्यायपूर्ण छ।’ संघ यस्तो एकतर्फी निर्णय अस्वीकार गरेको बताउँदैं डाक्टरहरू खुलेआम औषधि व्यवस्था विभागमा दर्ता नभएका उत्पादनहरू सिफारिस गरिरहेका दाबी गरेको छ ।
‘तर, मन्त्रालय र विभागले यसलाई रोक्न कुनै कदम चाल्न चाहिरहेको देखिँदैन्,’ उसले भनेको छ, ‘यदि औषधि ऐन, २०३५ सबैका लागि लागु हुन्छ भने डाक्टरहरूलाई अपवाद किन बनाइएको छ ? मन्त्रालयले गैरकानुनी वस्तुहरूको प्रयोग रोक्न डाक्टरहरूलाई सचेत गराउनु पर्दैन ?’ संघले यस्ता उत्पादनहरू गैरकानुनी भएमा डाक्टरहरूलाई सिफारिस गर्न नदिन निर्देशनसमेत आग्रह गरेको छ । ‘अन्याथा फार्मेसी व्यवसायीहरूलाई मात्र दण्डित गर्नु अन्याय हुनेछ। आवश्यकता परे हामी यस्ता न्युट्रिस्युटिकल्स वस्तुहरूको र्याक खाली गरेर प्रतिवेदन बुझाउन तयार छौं,’ ‘यस्ता पक्षपाती नीतिहरू स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पार्न सक्छन्,त्यसैले न्यायोचित कदम चाल्न अनुरोध गर्दछौं’ संघले भनेको छ।
हेरौं चिकित्सक संघ र फार्मेसी संघका विज्ञप्ति