काठमाडौं- स्वास्थ्य मन्त्रालयले केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको जिम्मेवारी हेरफेर गरिएको हो।
स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशकबाट केही समयअघि मात्रै टेकु अस्पताल पठाइएका डा अनुप बास्तोला मन्त्रालय ल्याइएका छन्। उनलाई मन्त्रालयमै विशेष जिम्मेवारी दिनेगरी सरुवा गरिएको बताइएको छ।
गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी पनि हेरफेर भएको छ। त्यहाँ कार्यरत डा विप्लव सापकोटाको स्थानमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा अशोक श्रीपाइलीलाई पठाइएको छ। डा सापकोटालाई त्यही राखिएको छ।
त्यसैगरी स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रमा कार्यरत डा भक्त केसी मन्त्रालयको समन्वय महाशाखामा सरुवा भएका छन्। डा केसीको ठाउँमा उपेन्द्र ढुंगानालाई सरुवा गरिएको छ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समेत नेतृत्व समेत सम्हालिरहेका सिंहदरबार वैद्यखानाका निर्देशक डा प्रदीप केसीलाई वैद्यखानामै केन्द्रीत गर्ने निर्णय गरिएको छ। विभागको नेतृत्व अहिलेलाई खाली राखिएको छ।