काठमाडौं- नेपाली बायोटेक्नोलोजी कम्पनी नोभाला बायोटेक र सिआरएस हेल्थ केयर कम्पनीबीच सम्झौता भएको छ। नोभाला बायोटेकले उत्पादन गरेका दुई वटा ब्रान्डको प्रयोग, बजारीकरण र वितरणका विषयमा दुई संस्थाबीच सम्झौता भएको हो।
नोभाला बायोटेकले उत्पादन गरेको गर्भ जाँच किट (प्रेग्नेन्सी टेस्ट) र गर्भधारण तयारी जाँच (ओभुलेसन टेस्ट) किटको सिआरएसले बजारीकरण गर्ने सम्झौता भएको हो। सिआरएस हेल्थ केयर नेपालको स्वास्थ्य बजारीकरण र वितरणका क्षेत्रमा राम्रो संस्थाका रुपमा परिचित छ।
नोभाला बायोटेककी अध्यक्ष सुनिता गौतम तथा सिआरएस कम्पनीको सिइओ सम्राट बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
नोभाला बायोटेक अपरेशन निर्देशक कबिन मलेकु सिआरएससँग भएको यो सम्झौताले नोभालाका दुई उत्पादन देशका धेरै स्थानहरुमा पुग्ने बताउँछन्। उनका अनुसार नोभालाको यी दुई उत्पादन गत वर्षदेखि नै काठमाडौं लगायतका मुख्य शहरमा बिक्रि वितरण भइरहेको छ।
नोभालाले उत्पादन गरेको प्रेग्नेन्सी टेस्ट किटको ब्रान्ड नाम ‘नोभासियोर’ र ओभुलेसन किटको नाम ‘ओभासियोर’ हो।
महिला स्वास्थ्य तथा प्रजनन् स्वास्थ्य सम्बन्धी काम गर्दै आइरहेको सीआरएससँग गर्भाधारण भएको छ कि छैन भनी परीक्षण गर्ने प्रेग्नेन्सी टेष्ट किट तथा महिलाहरुको ओभुलेसन परीक्षण गर्ने टेष्ट किट सम्बन्धी बजारीकरणमा दुई संस्थाबीच सम्झौता हुनुले कम्पनीलाई हौसाएको मलेकु बताउँछन्।
हालका लागि पाँच वर्षलाई गरिएको यो सम्झौता आवश्यकता अनुसार बढ्नेमा नोभाला बायोटेक आशावादी रहेको उनले बताए।
कस्तो छ प्रेग्नेन्सी टेष्ट र ओभुलेसन टेष्ट किटको नेपाली बजार?
नेपालमा प्रेग्नेन्सी टेस्ट किट र ओभुलेसन टेस्ट किटको बजार कति छ भन्ने यकिन तथ्यांक भने छैन। तर वार्षिक १५ देखि २० लाखको संख्यामा यस्ता टेष्ट किटको खपत हुने अनुमान रहेको मलेकुले जानकारी दिए।
‘गर्भ रहे वा नरहेको जाँच गर्ने किटको प्रयोग त धेरै मात्रामा भइरहेको छ। तर ओभुलेसन जाँच भने त्यति धेरै चलनमा छैन,’ उनले भने, ‘अहिले आइभीएफ सेन्टरहरुले भने यसको प्रयोग गर्न थालेको अवस्था छ। क्रमश यसको पनि प्रयोग बढ्दै जानेछ।’
ओभुलेसन किटले महिलाको डिम्ब निस्कने समयको बारेमा जानकारी दिन्छ। महिलाहरुको महिनावारी चक्रमा १२ देखी १५ दिनलाई ओभुलेसन हुने समयका रुपमा लिइन्छ। आधुनिकतासँगै महिनावारी चक्र नियमित नभएका महिलाहरुको ओभुलेसन हुने समय यकिन गर्न सकिदैंन। जसकारण गर्भाधारणमा ठूलो समस्या रहेको पाइन्छ।
ओभुलेसनको समय तथा शारीरिक सम्पर्कको समय नमिल्दा पनि चाहेको समयमा गर्भाधारण नभएको हुनसक्छ। यस्तो समस्या भएकाहरुका लागि ओभुलेसनको उचित समयका बारेमा जानकारी दिने यस्तो किट प्रभावकारी हुने मलेकु बताउँछन्।
‘ओभुलेसन किटले दिएको जानकारी अनुसार गर्भाधारण हुन सक्ने दिनमा शारीरिक सम्पर्क राखी गर्भाधारण गर्न सकिन्छ,’ उनले भने।
नोभालाले हालसम्म आफ्ना दुई दर्जन बढी उत्पादन बजारमा ल्याइसकेको उनले जानकारी दिए। ‘कोरोना महामारीको समयमा कोभिड टेस्ट किट उत्पादन गरी बजारमा आएका थियौं,’ उनले भने, ‘हाल १४/१५ वटा उत्पादन ल्याउन सफल भएका छौं।’
उनका अनुसार कोभिडको टेस्ट किट अभाव भएसँगै कम्पनीले टिममा रहेका दुई वैज्ञानिकहरुको सहयोगमा उक्त किटको आविष्कार र उत्पादन गरेका थियो।
हाल कोभिड, प्रेग्नेन्सी, इन्फुलुन्जा, डेंगु, एच.आई.भी, हेपाटाइटिस बी,सी लगायतका जाँचका लागि किटहरु उत्पादन भइरहेको र ती उत्पादनले बजार लिइरहेको उनले बताए।