काठमाडौं- जाजरकोट टालेगाउँका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले जटिल अवस्थाकी सुत्केरीको सफल प्रसुति गराएका छन्।
उद्धारका लागि हेलिकोप्टरको पहल गर्दा आउन नसकेपछि उनीहरुले त्यहीँ प्रयास गरेर आमा र बच्चाको ज्यान जोगाउन सफल भएका हुन्।
स्वास्थ्यचौकी प्रमुख शेरबहादुर बस्नेतका अनुसार बच्चाको एउटा खुट्टाको औँला र थोरै पैताला मात्र देखिएको थियो। जसलाई मेडिकल भाषामा ब्रीच भनिन्छ। सामान्यतया टाउको अगाडि आउने गर्छ। शरीरका अन्य भाग आएमा जटिल मानिन्छ।
सिमित स्रोतसाधन रहेको स्वास्थ्य चौकीले उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यालयमा अनुरोध गरेको थियो। बेलुकी ५ बजेपछि हेलि उडान अनुमति दिन नमिल्ने बताइएको बस्नेतले बताए।
त्यसपछि सडकबाट पठाउन प्रयास गरिएको थियो। एम्बुलेन्स पनि नपाएपछि त्यहीँका स्वास्थ्यकर्मीले प्रयास गरेका थिए। उनीहरुको प्रयास सफल भएको छ।
जटिल अवस्थाको प्रसुति सफल तुल्याउन प्रमुख बस्नेतसँगै एसबीएस अनमी उषाकुमारी खड्का, सिअनमी हृदय कुमारी सिंह, अहेव कमला शाही र कार्यालय सहयोगी हरिकला सिंहको टिम सक्रिय भएको थियो।