काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाई (एचइओसी)का प्रमुख डा प्रकाश बुढाथोकी दक्षिण पूर्वी एसियाली देश (सेरो) को आकस्मिक स्वास्थ्य वर्किङ कमिटीको अध्यक्षमा चयन भएका छन्।
अबुधाबीमा गत साता भएको ग्लोबल सम्मेलनले नेपालका डा बुढाथोकी र भारतका नविन बर्मालाई अध्यक्षमा चयन गरेको हो। सम्मेलन नोभेम्बरको ५, ६ र ७ तारिखमा भएको थियो। सम्मेलनमा विश्वभरका १३३ देशबाट १३ हजारभन्दा बढी स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।
विश्व स्वास्थ्य संगठनको क्षेत्रिय कमिटी अनुसार आकस्मिक स्वास्थ्य वर्किङ कमिटीमा पदाधिकारीहरु चयन भएका थिए। जसमा सेरो क्षेत्रमा डा बुढाथोकी र भारतका बर्मा चयन भएका हुन्। यसअघि भारत र थाइल्यान्डबाट अध्यक्ष थिए।
डा बुढाथोकीले सम्मेलनमा सर्वसम्मत रुपमा नेपालका तर्फबाट एचइओसीका प्रमुखका रुपमा आफूलाई अध्यक्षमा चयन गरिएको जानकारी दिए। उनका अनुसार अध्यक्षको कार्यकाल दुई वर्षको हुने छ।
उक्त कमिटीले आकस्मिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने छ। कमिटीले नीतिगत काम सहित जनशक्तिहरुको क्षमता बढाउनेदेखि आकस्मिक र विपद्जन्य स्वास्थ्य क्षेत्रमा सक्रिय रुपमा काम गर्ने छ। यसका साथै जलवायु परिवर्तानका कारण आउन सक्ने आकस्मिक स्वास्थ्यका क्षेत्रमा पनि कमिटीले काम गर्ने डा बुढाथोकीले जानकारी दिए।
डब्ल्यूएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन्।