काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले टोकन प्रणाली तथा दुई सिफ्टमा ओपिडी सेवा सुरु गरेको छ।
अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौका संघीय अस्पतालहरुलाई दिएको निर्देशन अनुसार दुवै सेवा अस्पतालले सुरु गरेको हो।
अस्पतालका ४ वटै काउन्टरमा टोकन प्रणाली लागू भएको उनले जानकारी दिए। टोकन प्रणाली लागू भएसँगै बिरामीलाई लाइन उभिनुपर्ने बाध्यता तथा भीडभाडको समस्यामा कमी आउने उनी बताउँछन्।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गत साउन ४ गते स्वास्थ्य मन्त्रालयमा एक बैठक राख्दै काठमाडौंका सरकारी अस्पतालका प्रमुखहरुलाई ९ बुँदे निर्देशन दिएका थिए।
के निर्देशन दिएका थिए मन्त्री पौडेलले?
मन्त्री पौडेलले दिएको निर्देशनको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्नुपर्ने उल्लेख थियो।
यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न भनिएको थियो।
चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको तारतम्य मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गर्ने, अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपिडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमवाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बिमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्नका लागि निर्देशन दिइएको थियो।
यस्तै, अस्पतालमा सेवाग्राहीको भिड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने), विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने, सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन पनि भनिएको थियो।
मन्त्री पौडेलले दिएको निर्देशन बमोजिम भीडभाडलाई व्यवस्थित गर्न सेवा काउन्टर थप गर्ने,अनलाइन टिकट काट्ने, टोकनको व्यवस्था गर्ने बिद्युतीय भुक्त्तानी प्रविधि लागु गर्ने कार्य अस्पतालले गरिसकेको डा बसौंला बताउँछन्। अस्पतालल विगतमा रहेको २ सेवा काउन्टरलाई बढाएर ४ बनाएको छ। ४ वटै काउन्टरमा टिकट तथा बिलिङ सेवा सेवाग्राही पाउँदै आएका छन्।
अस्पतालले आजैबाट लागू हुनेगरी ९ देखि ४ बजेसम्म दुई सिफ्टमा ओपिडी सञ्चालन गर्न लागेको निर्देशक डा बसौलाले जानकारी दिए। जसमा एन्टिरेबिज भ्याक्सिन र जनरल ओपिडी गरी दुई प्रकारका ओपिडी सञ्चालनमा रहनेछन्।
‘अस्पतालले स्वास्थ्यमन्त्री पौडेलको निर्देशन अनुरुप सुरु गर्ने भनेको एक्सटेन्ट हेल्थ सर्भिसका लागि छलफल अगाडि बढाइसकेको छ, चाँडै नै यो सेवा सुरु हुन्छ,’ उनले भने।
जनरल शुल्कको तुलनामा एक्सटेन्ट हेल्थ सर्भिसका लागि बढी शुल्क लाग्ने भएकोले छलफलपछि सबै कुराको निर्धारण गरेर मात्रै उक्त सेवा सुरु गरिने उनले बताए।
अस्पतालको फार्मेसीमा स्वास्थ्य बीमाको औषधि उपलब्ध गराउनका लागि समेत निर्देशन दिइएकोमा फार्मेसीमा सरुवा रोगका ९० प्रतिशत भन्दा बढी सरुवा रोगको औषधि स्वास्थ्य बिमा सेवामार्फत् पाइने डा बसौलाको दाबी छ। सरुवा रोग अस्पताल भएकोले मिर्गौला, मुटु तथा क्यान्सर जस्ता रोगहरुको औषधि भने अस्पतालमा उपलब्ध नभएको उनी बताउँछन्।
अस्पतालमा दैनिक करिब ५ सयले ओपिडीमा सेवा लिने गरेका छन्। मनसुन सुरु भएसँगै धेरै जस्तो झाडापखाला,ज्वरो तथा सर्पले तोकेको बिरामी अस्पताल आउने गरेका छन्। हाल अस्पतालमा सबै भन्दा बढी सर्पले टोकेका बिरामी आउने गरेका छन्।
दैनिक १५–२० जना सर्पले टोकेका आउने गरेको डा बसौलाले जानकारी दिए। अस्पतालमा सबैभन्दा बढी कुकुरले टोकेका बिरामीहरु सेवा लिन आउने गरेका छन्। अस्पतालको ५० प्रतिशत भन्दा बढी ओपिडी केशमा कुकुरले टोकेका बिरामी आउने गरेका छन्।
अस्पतालले गत वर्ष १ लाख ५८ हजार बिरामीलाई ओपिडी सेवा दिएकोमा ६३ हजार ८ सय १५ बिरामी कुकुरको टोकाइका कारण अस्पताल आइपुगेका थिए।