मस्तिष्कघात पछिल्लो समय प्रमुख स्वास्थ्य समस्याका रुपमा देखा परेको छ। विश्वको तथ्यांकलाई केलाएर हेर्ने हो भने प्रत्येक ४ सेकेन्डमा १ जनालाई मस्तिष्कघात हुने गरेको तथ्यांक छ। मस्तिष्कघातपछि उपयुक्त उपचार नपाएका बिरामी शारीरिक अशक्तत्ताको प्रमुख कारणमा परेको छ।मस्तिष्कघात के हो, कति समयसम्म अस्पताल आइपुग्दा बिरामी निको हुने सम्भावना बढी हुन्छ, यसमा प्रयोग हुँदै आइरहेको उपचार विधिहरु लगायतका विषयमा न्युरोलोजिष्ट डा कृष्ण ढुंगानासँग स्वास्थ्यखबरकर्मी लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
मस्तिष्कघात के हो ?
मस्तिष्कघातलाई अंग्रेजीमा स्ट्रोक भन्ने गरिन्छ। टाउकोमा रगतको नशा फुटेर वा रगतको नशा बन्द भएर मस्तिष्कको कुनै पनि भागमा रगत संचालन नभएर त्यसका कारण हुने लक्षणलाई मस्तिष्कघात भनिन्छ।
चिसो समयमा गर्मीको तुलनामा मस्तिष्कघात किन बढी हुन्छ?
जाडोमा मौसममा गर्मीको तुलनामा रक्तचाप बढी हुन्छ, त्यसकारण गर्मीमा भन्दा जाडोमा मस्तिष्कघात बढी हुने गर्छ। जाडोमा रगतका नशाहरु खुम्चिने कारणले पनि रक्तचाप बढ्छ। त्यस्तै जाडोको समयमा शारीरिक व्यायाम पनि कम हुने कारण मस्तिष्कघातको सम्भावना बढी हुन्छ।
मस्तिष्कघातका बिरामी कति समयसम्म अस्पताल आइपुग्नु पर्छ, कति समयसम्म अस्पताल आइपुग्दा बिरामी निको हुने सम्भावना बढी हुन्छ?
मस्तिष्कघात सामान्यतया दुई प्रकारको हुने गर्छ। रगतको नशा बन्द भएर तथा रगतको नशा फुटेर मस्तिष्कघात हुने गर्छ। जुनसुकै अवस्थामा पनि मस्तिष्कघातका बिरामी सकेसम्म छिटो अस्पताल आइपुगेमा राम्रो हुन्छ। त्यसमा पनि टाउकोमा रगतको नशा ब्लक भएर तथा नशा मरेर हुने मस्तिष्कघातमा अस्पताल पुग्नासाथ औषधि चलाउन मिल्छ।
कतिपय उपचारविधिहरु निश्चित समय सीमा भित्र मात्रै प्रयोग गर्न सकिन्छ। त्यसैले मस्तिष्कघात भइसकेपछि सकेसम्म छिटो अस्पताल आइपुग्नु राम्रो हुन्छ।
स्ट्रोकमा हाल थ्रोम्बोलाइसिस भन्ने उपचार विधि विश्वभरि नै प्रचलित उपचार विधिका रुपमा प्रयोग हुँदै आइरहेको छ। उक्त उपचारका क्रममा इन्जेक्सनबाट औषधि दिएर बन्द भएको नशालाई खुुलाउने र रगत पगाल्ने गरिन्छ। यो उपचार मस्तिष्कघात भएको साढे ४ घन्टाभित्र मात्रै गर्न सकिन्छ। सबै प्रकारका स्वास्थ्य परीक्षण गर्नका लागि १ घन्टाको समय लाग्ने भएको स्ट्रोकका बिरामी तीन घन्टाभित्र अस्पताल आइपुग्नु राम्रो हुन्छ।
शरीरको नशा नखुलेको अवस्थामा शरीरको कोषहरु प्रत्येक सेकेन्डमा मरिरहेको हुन्छ। उपचारमा हुने ढिलाइले मरेको नशालाई पुनः बचाउन सक्ने अवस्था हुँदैन। यसरी नशा मर्दै जाँदा समस्या पछिसम्म पनि रहने सम्भावना हुन्छ।
मस्तिष्कघातको उपचारमा के कस्ता उपचार विधिहरुको प्रयोग हुने गर्छ?
बिरामी अस्पताल आइसकेपछि सबैभन्दा पहिला बिरामीलाई मस्तिष्कघात भएको हो, होइन भनी पहिचान गर्नका लागि परीक्षण गरिन्छ। मस्तिष्कघात एकैपटक देखा पर्ने समस्या हो। जसलाई ब्रेन अट्याक पनि भन्ने गरिन्छ। मस्तिष्कघात भएपछि शरीरको एकातर्फको हातगोडा नचल्ने, बोली अस्पष्ट हुने, मुख बांगो हुने तथा यी सबै लक्षण एकैपटक देखिन पनि सक्छ। कतिपयको देख्ने क्षमता नै गुम्ने, हिँडाईंमा सन्तुलन नहुने पनि हुनसक्छ। यस्तो अवस्थामा अस्पताल आइपुगेपछि चिकित्सकले बिरामीलाई मस्तिष्कघात भएको शंका गर्न सकिन्छ। यस्तो अवस्थामा सामान्य सुगर, प्रेसर परीक्षण सँगै सिटीस्क्यान तथा टाउको एमआरआई पनि गरिन्छ। यसैको आधारमा मस्तिष्कघात भए नभएको यकिन गरिन्छ।
यदि रगतको नशा ब्लक भएर मस्तिष्कघात भएको हो भने मिल्ने बिरामीहरुमा थ्रोम्बोलाइसिस उपचार विधिको प्रयोग गरिन्छ। जुन मस्तिष्कघात भएको साढे ४ घन्टाभित्र गर्न मिल्छ। यसका साथै सिटी एन्जियोग्राफी परीक्षण पनि गरिन्छ। जसले ब्रेनसम्म रगत लैजाने रगतका नशाको अवस्था पनि देखाउँछ।
यदि रगतको नशा ठूलै ब्लक भएको अवस्था छ भने थ्रोम्बोलाइसिस वा रगत पगाल्ने विधिबाट सुधार नभएमा थ्रोम्बेक्टोमी विधिबाट उपचार गरिन्छ। यो उपचार विधि ६ घन्टाभित्र गर्न सकिन्छ। बिरामीको अवस्था हेरेर चौबीस घन्टाभित्र पनि उक्त उपचार विधिको प्रयोग गर्न सकिन्छ।
जमेको रगतलाई पगालेको अवस्थामा नशा खुल्छ र मर्न बाँकी नशालाई पुनस् काम गर्न सक्ने बनाएर बिरामीमा भएको असरलाई कम गर्न सकिन्छ। त्यस्तै बिरामीलाई पहिलाको अवस्थामा पनि ल्याउन सकिन्छ।
न्युरो उपचारमा प्रचलित इन्टरभेन्सनल न्युरोलोजी के हो?
इन्टरभेन्सनल न्युरोलोजीलाई मेकानिकल थ्रोम्बेक्टोमी पनि भन्ने गरिन्छ। इन्टरभेन्सनल न्युरोलोजिष्ट, रेडियोलोजिष्ट तथा न्युरोरेडियोलोजीमा अनुभव प्राप्त चिकित्सकले यो उपचार गर्छन। जसरी मुटुको नशा बन्द हुँदा एन्जियोप्लास्टी गरिन्छ, मस्तिष्कघातमा पनि रगतको बन्द भएको नशामा रहेको टुक्रालाई क्याथेटरको सहायताले निकाल्ने गरिन्छ। जसलाई इन्टरभेन्सनल न्युरोलोजी समेत भन्ने गरिन्छ।
परम्परागत उपचार विधिभन्दा इन्टरभेन्सनल न्युरोलोजी कसरी फरक छ? यसबाट बिरामीलाई कस्तो फाइदा पुग्छ?
केही समय अगाडि नेपालमा यस प्रकारको उपचार सम्भव थिएन। यस उपचार विधिको अनुभव भएका चिकित्सक पनि नेपालमा नरहेको अवस्था थियो। हाल यसबारे अनुभव भएका चिकित्सक नेपालमा भएका कारण हामी पनि यस्तो उपचार दिन सफल भएका छौं। बिरामीको अवस्था अनुसार हाल नेपालमा यस उपचार विधिको प्रयोग हुँदै आएको छ।
हाल रगतको जमेको टुक्रालाई निकाल्नका नेपालमा यो विधिको प्रयोग हुने गरेको छ। यस उपचार विधि नहुँदा टाउको चिरेर नै शल्यक्रिया गर्नुपर्ने अवस्था थियो भने हाल त्यस्तो अवस्था छैन। खुट्टाको रगतको नशाबाट क्याथेटर लगेर यस्तो उपचार गरिन्छ।
मस्तिष्कघातपछि बिरामी ूुर्णरुपमा निको हुन सम्भव छ कि छैन?
बिरामी समयमा नै अस्पताल आइपुगे मस्तिष्कघात पुर्णरुपमा निको हुन सक्छ। मस्तिष्कघातका कारण कति नशा मरेको छ वा बिरामीको उमेरमा पनि उपचारले पूर्ण निको हुन सक्छ वा सक्दैन भन्ने कुरा निर्भर रहन्छ।
मस्तिष्कघात हुन नदिन के गर्ने?
यसबाट बँच्नका लागि सबैभन्दा महत्वपुर्ण स्वस्थ जीवनशैली नै हो। खानपानमा विशेष ध्यान दिन सके मस्तिष्कघातको अवस्थाबाट बच्न सकिन्छ। त्यस्तैः रक्तचापलाई नियन्त्रणमा राख्नु, मधुमेहको नियन्त्रण, सक्रिय जीवनशैली, मोटोपना नियन्त्रण, धूम्रपान तथा मद्यपान नगर्नुले मस्तिष्कघात हुनबाट बच्न सकिन्छ।