काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा‘डेथ अडिट’ सेवा सुरु गरिएको छ।
उपचारका क्रममा बिरामीको मृत्युको कारणहरु खोज्नका लागि ‘डेथ अडिट’ सेवा सुरु गरिएको अस्पतालले जानकारी दिएको छ। यो सेवा विस्तारका लागि अस्पतालले गतवर्ष देखि बनाएको योजना भर्खर मात्रै कार्यान्वयनमा ल्याएको अस्पतालका निर्देशक डा युवानिधी बसौंलाले बताए। उनका अनुसार डेथ अडिट सेवा नेपालका सम्पुर्ण अस्पतालहरुमा विस्तार हुनु आवश्यक छ।
यस सेवाले बिरामीको मृत्यु अस्पताल आउन ढिलो भएर, उपचार नपाएर वा अस्पतालले दिने सेवामा ढिलाई भएर वा के कारणले भएको होस भनी कारणको खोजि गर्ने डा बसौला बताउँछन्।
सेवा विस्तारका लागि ५ जनाको समिती समेत अस्पतालले बनाइसकेको छ। जसमा सम्बन्धित विषय विज्ञहरुलाई समेत समावेश गरिएको छ।
अस्पतालको जुन फाँटमा बिरामीको मृत्यु भएको हो त्यसै फाँटका जिम्मेवार व्यक्तिलाई बोलाएर डेथ अडिट गरिने उनी बताउँछन्।जसमा बिरामीबारे अस्पतालसँग रहेको फाइलबारे छलफल हुने भएकोले मृत्युको कारण पहिचानमा सहज हुने उनको दाबी छ।
‘अस्पतालमा हुने मृत्युदर कम गराउने लक्ष्यका साथ सेवा विस्तार गरिएको हो’, डा बसौंलाले स्वास्थ्यखबरलाई भने, 'नेपालका अस्पतालहरुमा मातृ तथा बाल मृत्युदरमा डेथ अडिट सेवा प्रचलनमा रहेको छ।'
सुत्केरी आमाको मृत्युको कारण पहिचान नेपालमा चौबीस घन्टाभित्र नै प्रचलन भएपनि अन्य बिरामी मृत्युका हकमा भने यो सेवा लागू हुन सकेको थिएन। नवजात शिशुहरुको मृत्युमा समेत यो सेवा प्रचलित छ। नेपालमा परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथली लगायत डेलिभरी गराउने जुनसुकै अस्पतालमा डेथ अडिट राख्ने गरिन्छ।
तीन महिनामा टेकु अस्पतालमा ८ जनाको मृत्यु
टेकु अस्पतालमा यस आर्थिक वर्षको साउनदेखि असोजसम्म तीन महिनामा उपचारमा आएकामध्ये ८ बिरामीको मृत्यु भएकोको तथ्यांक छ। त्यसमा दुई जना रेविज, एक जना स्क्रप टाइपस, एक जना निमोनिया, दुई जना क्षयरोग, एक जना एचआईभी र एक जना इन्फ्लुएन्जाका बिरामी रहेका थिए। यस्तै मृत्यु हुनेमा एक जनाको उमेर १५ वर्ष बाहेक अरुको उमेर ३५ भन्दा माथि रहेको थियो।
अस्पतालले ती बिरामीहरुको फाइलका आधारमा मृत्युको कारण समेत पत्ता लगाइसकेको निर्देशक बसौलाले स्वास्थ्यखबरलाई जानकारी दिए।
टेकु अस्पतालमा आउने बिरामी मध्ये रेबिज लागिसकेकालाई बचाउनै सकिदैंन। त्यसबाहेक अन्य मृत्युका कारणहरुको पहिचान गरी आगामी दिन बिरामी त्यही समस्याका कारण मृत्यु नहोस भन्ने हाम्रो लक्ष्य हो, उनले भने।
तीमध्ये १५ वर्षिया बालकको रेबिजका कारण मृत्यु भएको थियो उनले रेबिज विरुद्वको खोप नै नलगाएकाले बचाउन सम्भव नभएको उनको दाबी थियो।अस्पतालले प्रत्येक महिनाको पहिलो बुधबार डेथ अडिटको बैठकले राख्ने उनले जानकारी दिए।विशेषगरी सरुवा रोग अस्पतालको रुपमा सेवा दिदैं आएको टेकु अस्पतालले पछिल्लो समय सेवा विस्तार गर्दै जनरल सेवा समेत दिदैं आइरहेको छ।