काठमाडौं- मनसुनको सुरुवातसँगै स्वास्थ्य क्षेत्रमा समस्या देखापर्ने गर्छ। यतिबेला काठमाडौंलगायत विभिन्न स्थानहरुमा बाढी पहिरोको विपद् बढ्दै गएको छ।
मनसुनका समयमा स्वास्थ्यमा समेत विभिन्न समस्या देखापर्छ। विशेषगरी यस मौसममा झाडापखाला, हैजा ,टाइफाइड, भाइरल हेपाटाइटिस् ,डेंगु तथा छालाका समस्याका समस्या बढी देखिने गर्छन्।
पर्याप्त मात्रामा पूर्व तयारी नहुँदा विगतदेखि नै महामारीको समयमा सरकारले सही व्यवस्थापन गर्न सकेको छैन।
स्वास्थ्य विपद्का समय सरकार सधै चुक्ने गरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्की बताउँछन्।
महामारीको तयारी स्वरुप विश्वका विकसित मुलुकहरुले जोखिमपूर्ण क्षेत्रलाई नै स्थानान्तरण गर्ने गरेको पाइन्छ।
विगतका वर्षहरुका तयारीका आधारमा भन्ने हो भने यस वर्ष पनि मनसुनजन्य महामारीमा सरकारको तयारी खासै देखिएको छैन।
औषधि तथा स्वास्थ्यकर्मीको टोली तयार छ: डा प्रकाश बुढाथोकी
आकस्मिक स्वास्थ्य विपद्का लागि स्वास्थ्यकर्मीको टोली तथा औषधि तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
जोखिमपूर्ण क्षेत्रहरुमा बढी केन्द्रित भएर तयारी गरिएको मन्त्रालयको दाबी छ। कतिपय स्थानहरुमा औषधिको भण्डारणको कार्य समेत सम्पन्न भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी बताउँछन्।
‘मनसुनको समयमा स्वच्छ खानेपानीको सेवन गरेमा मात्रै पनि धेरै प्रकारका स्वास्थ्य समस्याबाट बँच्न सकिन्छ,’ उनले भने।
नेपालमा स्वास्थ्य महामारीका समयमा सामान्य औषधिहरुको समेत अभाव हुने गरेको छ।
सरकारको तयारी फितलो हुँदा सामान्य स्वास्थ्य समस्या भएकाहरुले पनि महामारीको समयमा ज्यान गुमाउने गरेका छन्।
डेंगुले महामारीको रुप लिन सक्ने आंकलन
नेपालमा प्रत्येक वर्ष डेंगुले महामारीको रुपमा लिदैं आएको छ। यद्यपी डेंगु नियन्त्रणमा सरकारको तयारी प्रभावकारी हुने गरेको छैन।
जसकारण डेंगु संक्रमणका कारण धेरैले ज्यान गुमाउने गरेका छन्। यस वर्ष काठमाडौंमा डेंगुले महामारीको रुप लिन सक्ने आंकलन चिकित्सकहरुले गरेका छन्। विगतलाई हेर्दा केही वर्षको अन्तरालमा काठमाडौंमा डेंगुले महामारीको रुप लिदैं आएको छ।
पानीका भाँडाहरु नियमित रुपमा सफा गर्ने तथा ५ मिलिटिर भन्दा बढी पानी जम्मा हुन नदिएमा डेंगुको जोखिम कम गर्न सकिने चिकित्सकहरु बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मुलुकभर डेंगु संक्रमण बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाको किटजन्य रोग नियन्त्रण शाखाका अनुसार मनसुन सक्रिय भएको समयमा डेंगु संक्रमण बढ्नेछ।
हाल काठमाडौंका विभिन्न अस्पतालमा डेंगुका बिरामीहरुको संख्या बढ्दै गएको छ। डेंगु लाग्नबाट बँच्न लामखुट्टेको टोकाइबाट बच्नु प्रमुख उपाय भएको जानकारहरु बताउँछन्।
डेंगुको पहिचान गर्न डेंगु परीक्षण किट वा प्रयोगशालामा रगतको परीक्षण गर्न आवश्यक हुन्छ।
डेंगुले प्रत्येक वर्ष महामारीको रुप लिएपनि सरकारको तयारी भने फित्तलो देखिएको छ। जसकारण यसको रोकथाम र नियन्त्रण चुनौतीपूर्ण बनेको सरोकारवालाहरु बताउँछन्।
पूर्व तयारी नहुँदा संक्रमणका कारण मानिसहरुको मृत्यु बढी हुने गरेको सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुन बताउँछन्। प्रारम्भिक चरणमा नियन्त्रण गर्न सके यसले महामारीको रुप नलिने उनको भनाई छ।
डेंगु संक्रमितमा देखिएको लक्षणका आधारमा यसको उपचार गर्ने गरिन्छ। यो वर्ष पनि डेंगुका जटिल बिरामी बढ्न सक्ने भएकोले सरकारी अस्पतालहरु तथा सरोकारवाला निकायहरु आवश्यक तयारीमा जुट्न आवश्यक छ।
आत्तिहाल्नुपर्ने अवस्थामा छैन : डा यदुचन्द्र घिमिरे
डेंगु नियन्त्रणका लागि स्थानीय तहमा ७ करोड ९८ लाख र जिल्ला तहमा १ करोड ५४ लाख गरी कूल ९ करोड ५२ लाख बजेट विनियोजन गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
मनसुनको सुरुवात भएसँगै स्वास्थ्यमा समस्या थप हुने तथा कतिपयले महामारीको रुप समेत लिने इडिसिडीका महानिर्देशक डा यदुचन्द्र घिमिरे बताउँछन्।
‘मनसुन सुरुवात भएसँगै डेंगु संक्रमण केही बढेको यद्यपि आत्तिहाल्नुपर्ने अवस्था भने छैन’ डा घिमिरेले भने, ‘मनसुन सुरु भएसँगै सातै प्रदेशमा रहेका आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने टिमलाई तयारी अवस्थामा राखिएको उनको दाबी छ।’
त्यस्तै इडिसिडीले दिदैं आएको ‘फिल्ड इपिडिमियोलोजी’नामक ३ महिनाको तालिम अफिसरले तहका १ सय ४० जना कर्मचारीहरुलाई दिइएको उनले जानकारी दिए।
‘निरन्तर वर्षापछि खानेपानीको स्रोत प्रदुषित हुने सम्भावनालाई मध्यनजर गर्दै खानेपानी आपूर्तिं गर्दै आइरहेको संघ संस्थासँग संघ तथा प्रदेश तहसम्म नै छलफल व्यापक बनाइएको छ।’उनले भने।
झाडापखाला,हैजा लगायतका संक्रामक रोगहरुको जोखिमलाई कम गर्नका पानीको स्वच्छतामा विशेष ध्यान दिइएको प्रतिक्रिया पाएको उनले बताए।