काठमाडौं– नरदेवी अस्पतालले खरिद गरेको सामग्रीको लामो समयदेखी भुक्तानी हुन नसकेको भन्दै सप्लायर्सहरु प्रहरीसहित शुक्रबार अस्पताल पुगेका छन्। अस्पतालले सामान लिएर पनि लामो समयसम्म पनि भुक्तानी गर्न आनाकानी गरेपछि उक्त अवस्था आएको सप्लार्यसले बताएका छन्।
डा प्रदीप केसी नरदेवी अस्पतालको निर्देशक हुँदा ती ठेकेदार तथा सप्लायर्सहरुसँग कारोबार गरेका थिए। उनीहरुको भुक्तानी पूरा नहुँदै उनको ठाउँमा निर्देशक भएर डा श्यामबाबु यादव आए। डा श्यामबाबुले समेत उक्त कारोबार पूरा गरेनन्। त्यसपछि डा रामदेव यादव निर्देशक भएर आएका छन्। अघिल्ला निर्देशकहरुले आर्थिक कारोबार सकाएर जानुपर्नेमा त्यसो नगर्दा समस्या आएको उनको प्रष्टोक्ति छ।
निर्देशक फेरिएपछि भुक्तानी रोकिएको भन्दै सप्लायर्सले अस्पतालका साथै स्वास्थ्य मन्त्रालय समेत धाएका थिए। मन्त्रालयले सामान लिएपछि त्यसको यथोचित भुक्तानी गर्नुपर्ने पनि बताइसकेको छ।
अस्पतालकै कर्मचारीका अनुसार हालका निर्देशक डा रामदेव यादवले व्यापारीहरुलाई दुख दिने नियतकै कारण भुक्तानी रोकेको बताउँछन्। 'सबै नियम प्रक्रिया पूरा भएर अस्पतालमा आवश्यक पर्ने सामान उपलब्ध गराएका व्यपारीहरुलाई निर्देशक रामदेव यादवले नियतबस दु:ख दिएका हुन्,' अस्पतालकै एक कर्मचारीले भने, 'पूर्व निर्देशकको पालामा सामान उपलब्ध गराएका व्यापारीलाई दुख दिएर आफ्ना नजिकका व्यापारीलाई भोलिका दिनमा व्यापार दिने निर्देशकको नियत हो।'
पूर्वनिर्देशक श्यामबाबु यादव गत वैशाखमा मात्रै आफूले अस्पताल प्रमुखको रुपमा जिम्मेवारी सम्हालेको धेरै समयपछि मात्रै उक्त कारोबारका बारेमा थाहा भएको बताउँछन्। त्यसैले भुक्तानी नभएको उनको भनाइ छ।
वर्तमान निर्देशक डा रामदेव भने दुई दिनअघि मात्रै भुक्तानी बाँकी रहेको भन्दै एक सप्लायर्सले आफूलाई जानकारी दिएको उल्लेख गर्दै लेखाका कर्मचारी हाल बिदामा रहेकोले तत्कालै भुक्तानी गर्न नसकिने बताएको स्वास्थ्यखबरलाई जानकारी दिए।
आफ्नो पालामा नभएको कारोबारका लागि छानबिन कमिटी बनाएर त्यसले दिएको प्रतिवेदनका आधारमा मात्रै भुक्तानी हुने समेत उनले बताए।
‘हालसम्म कुन सामान कति रकममा कुन सप्लायर्ससँग खरिद भएको भन्ने स्पष्ट कागजातसमेत मैले पाएको छैन, ३० लाख कसरी भुक्तानी गर्नु’,उनले भने।
उक्त सामान खरिद भएर ल्याएपछि अस्पताल प्रमुखको जिम्मेवारी पाएको तेस्रो व्यक्तिले यथेष्ट प्रमाणबिना भुक्तानी गर्न नमिल्ने उनको तर्क थियो। यद्यपि छानबिन कमिटीले निर्क्योल गरेमा भुक्तानी हुने उनी बताउँछन्।
कर्मचारीहरु भने यी सबै उनले बहाना बनाएको बताउँछन्। 'सबै प्रमाणहरु हुँदा हुँदै पनि निर्देशकले बहाना बनाएर दु:ख दिएका हुन्। उहाँको भित्रि नियत भने अर्कै छ,' कर्मचारीहरुले भने।
सिटी स्क्यानको चाबी सप्लायर्ससँग
अस्पतालले सिटी स्क्यान खरिद गरेर जडान गरिसकेको छ। तर, चलाउन सकेको छैन। डा रामदेव जनशक्ति अभाव बताउँछन्। अस्पतालले सिटीस्क्यान सञ्चालनका लागि जनशक्ति परिचालन गरेपनि सप्लायर्स कम्पनीले चाबी नदिएकाले चलाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ। उक्त सिटी स्क्यान खरिदका विषयमा अख्तियारमा उजुरी समेत परेको बुझिएको छ।
डा प्रदीप केसीको कार्यकालमा खरिद भएको उक्त सिटीस्क्यानको भुक्तानी ३० दिनभित्रै हुनुपर्ने सम्झौता थियो, तर उनले ७० प्रतिशत मात्रै भुक्तानी गरी ३० प्रतिशत बाँकी राखेका थिए।
आफ्नो कार्यकालमा गर्नुपर्ने भुक्तानीको काम पुरा नगरी सप्लायर्सहरुलाई उक्साउने तथा प्रहरी पठाउने काम पूर्वनिर्देशक डा केसीले गरेको वर्तमान निर्देशक डा रामदेवको आरोप छ। आफ्नो निकटस्थलाई त्यहाँको निर्देशक बनाउन राजनीति गरेको आरोप पनि उनले लगाए।
अस्पतालले भुक्तानी गर्नुपर्ने धेरै आधारहरु हुँदा समेत भुक्तानी नगरेको अस्पतालमा कार्यरत चिकित्सक डा जया सत्याल बताउँछिन्। अस्पतालमा सिटीस्क्यान मेसिनको उद्घाटन पूर्व स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले गरेका थिए। त्यसपछि हालसम्म सञ्चालनमा ल्याउन नसक्नुमा अस्पतालकै नेतृत्वको कमजोरी रहेको उनको दाबी छ।