काठमाडौं- कानुनी तथा खरिद प्रक्रिया पुरा नहुँदा एक महिनाभित्र सर्जिकल भवनमा सर्ने भनिएको वीर अस्पतालको आकस्मिक कक्ष सर्न सकेको छैन।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले गत जेठ १४ अस्पतालको अनुगमन पश्चात् पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई नयाँ भवनमा सार्न निर्देशन दिएका थिए।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकूलपति डा भुपेन्द्र कुमार बस्नेतका अनुसार भवन विभागले फाइनल नक्सा बनाइरहेको तथा टेन्डरको डकुमेन्ट तयार गरिरहेको छ।
विभागले फाइनल डकुमेन्ट नदिएका कारण एक महिना भित्र अस्पतालको पुरानो भवनबाट नयाँमा सार्ने भनिएको आकस्मिक कक्ष सार्न केही ढिलाई हुने उनले बताए। 'आकस्मिक कक्ष नयाँ भवनमा सार्ने कार्य प्रक्रियामा नै छ, सकभर चाँडै सार्ने तयारी गरिरहेका छौं, उनले भने।
आकस्मिक कक्ष सञ्चालनका लागि अस्पतालले १ सयको संख्यामा स्टाफ नर्स समेत लिइसकेको तथा १ बेडमा सञ्चालन गर्ने लक्ष्यअनुसार नै तयारी भइरहेको उनको दाबी छ। वीर अस्पतालको आकस्मिक सेवालाई प्रभावकारी बनाउनका १ महिना भित्र पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई नयाँ भवनमा सार्न निर्देशन दिएपनि कानुनी तथा खरिद प्रक्रिया पुरा हुन नसक्दा त्यसका लागि केही समय लागेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले बताए।
केही दिन भित्र उक्त सेवालाई नयाँ सर्जिकल भवनमा सारिने जानकारी आफूलाई प्राप्त भएको उनले बताए।
दुर्गम देखी सुगमसम्मका गरीब असहाय,तथा विपन्न बिरामीको आशा तथा भरोसाको केन्द्रको रुपमा वीर अस्पताललाई लिइन्छ। सामान्यदेखी अतिविशिष्टीकृत सेवा पाइने भएको यहाँ बिरामीको चाप बढी नै छ। वीर अस्पतालमा दैनिक ओपिडीमा मात्रै ३ हजार भन्दा बढी बिरामी आउने गर्छन्।
तर आवश्यक उपकरण, दक्ष, जनशक्ति तथा बेड अभावका कारण अस्पतालले अपेक्षाकृत सेवा दिन सकेको छैन।
निजी अस्पतालमा उपचारका लागि जान सक्ने क्षमता नभएकाहरुलाई खचाखच गरेर भएपनि वीर अस्पतालमा उपचार दिनुपर्ने बाध्यता छ।
आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीलाई ६ घन्टाभित्र स्वास्थ्य सेवा दिइनुपर्ने मान्यता छ। भर्ना गर्न नसकेका बिरामीलाई जति सक्दो चाँडो अन्य अस्पताल रेफर गर्नुपर्ने नियम छ। यद्यपि बेड अभावका कारण कतिपय बिरामीहरु ४,५ दिनसम्म पनि आकस्मिक अभावका कारण कुर्ने गरेका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार वीर अस्पतालमा बिरामीको चाप बढ्दै गर्दाे पुरानो भवनबाट नै सेवा दिदाँ साधुँरो भएकोले नयाँ भवनबाट सेवा दिनका लागि अस्पताललाई निर्देशन दिएको हो। नयाँ भवनमा सारेपछि बेड संख्या बढ्ने तथा बिरामीहरुलाई पनि सहज हुने उनी बताउँछन्।
पुरानो भवनमा रहेको आकस्मिक कक्ष ज्यादै नै साधुँरो भएको कारण बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि कठिनाई भएको अस्पतालका निर्देशक डा सन्तोष पौडेल बताउँछन्। स्वास्थ्यमन्त्री यादवको निर्देशनपश्चात् पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई नयाँ सर्जिकल भवनमा सार्ने तयारी भएको डा पौडेल बताउँछन्।
आकस्मिक कक्षमा उपचारका लागि आएका एक बिरामीलाई एक बेड प्रदान गर्ने लक्ष्यका साथ अस्पतालले काम गरिरहेको उनी बताउँछन्।नयाँ भवनमा स्थानन्तरण गरेसँगै आकस्मिक कक्षमा १ सय बेड रहने जसकारण बेड अभावको समस्या हल हुने उनको दाबी छ। हाल आकस्मिक कक्षमा ४२ बेड रहेको उनी बताउँछन्। यद्यपि आकस्मिक उपचारका लागि १ सय ५० भन्दा बढी संख्यामा बिरामी आउने गरेका छन्।
अब नयाँ र पुरानो भवनमा गरी १ सय बेडको आकस्मिक कक्ष सञ्चालन हुँदा नागरिकलाई सहज हुने अस्पताल प्रशासनको दाबी छ। आकस्मिक कक्षमा दैनिक १० जना एमडीजीपी चिकित्सक,२८ मेडिकल अफिसर र ४२ नर्स कार्यरत्त रहेका छन्।
अन्र्तराष्ट्रिय मापदण्डअनुसार सेवा प्रदान गर्नुपर्दाे उक्त जनशक्ति अपुग रहेको छ।
वीरमा हाल ७५ वटा आइसियू सञ्चालनमा रहेपनि बेड अभावमा दैनिक ३,४ बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको छ।
उनका अनुसार यही जनशक्तिमा आइसियू बेड बढाएर उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था छैन।