काठमाडौं- पछिल्लो समय लागुऔषधको प्रयोग एक मानसिक स्वास्थ्य समस्याको रुपमा देखा परेको छ।
स्वास्थ्य समस्या भएका कारण यसको उपचार सम्भव भएको सरोकारवालाहरु बताउँछन्। यसले मस्तिष्क र व्यवहारलाई असर गर्दछ।
लागुऔषध प्रयोगकर्ताहरुलाई फौजदारी दण्ड दिनुको दिनुको विकल्पमा लागुऔषध प्रयोगकर्ताहरुका लागि दुई प्रकारको उपचार विधिहरु विश्व स्वास्थ्य संगठनले सिफारिस समेत गरिसकेको छ।
लागुऔषध प्रयोगकर्ताहरुलाई उपचारमा प्राथमिकता दिनाले उनीहरुको स्वास्थ्य र सामाजिक सुधार हुने बताइन्छ।
लागुऔषध प्रयोगकर्ताहरुको उपचारका लागि लागुऔषध मौखिक प्रतिस्थापन उपचार विधि र लागुऔषध उपचार तथा पुर्नस्थापना केन्द्र गरी दुई प्रकारका उपचार विधिहरु प्रचलनमा रहेका छन्।
सन् २०२२ सम्म विश्वका ८७ देशहरुले मौखिक प्रतिस्थापन उपचार विधि सञ्चालन गरेका छन्। नेपालमा यस उपचार कार्यक्रमको पहिलोपटक सुरुवात सन् १९९४ मा गरिएको थियो। हाल नेपालका सरकारी तथा निजी गरी १४ अस्पतालहरु र गैरसरकारी संस्थाहरुबाट यो कार्यक्रम सञ्चालन गरिएको छ।
त्यस्तै नेपालमा लागुऔषध उपचार तथा पुनस्र्थापना केन्द्र सन् १९७६ मा सुरु भएको थियो। हाल २५० भन्दा बढी उपचार केन्द्रहरु सञ्चालनमा रहेका छन्।
नेपालको लागुऔषध नियन्त्रण ऐन २०३३ र लागु औषध नियन्त्रण राष्ट्रिय नीति, २०६३ ले लागुऔषध प्रयोगलाई स्वास्थ्य समस्याको रुपमा मान्यता दिएको छ र फौजदारी दण्डको विकल्पको रुपमा उपचार सिफारिस गर्छ।
लागुऔषधको प्रयोगलाई स्वास्थ्य समस्याका रुपमा नलिई अपराधीकरण गर्ने राज्यको नीति रहेको छ। नेपालका जेलहरुमा हरेक पाँचमध्ये एक जना लागुऔषधको मुद्दामा छन्। नेपालका अधिकांश ७५ प्रतिशत भन्दा बढी लागुऔषध प्रयोगकर्ताहरु १५ देखि २९ वर्ष उमेर समूहका किशोरकिशोरी र युवाहरु छन्।
गृह मन्त्रालयको एक सर्वेक्षण अनुसार कुल लागुऔषधको प्रयोगकर्ताहरु मध्ये ९७ प्रतिशतलाई कम्तीमा एक पटक प्रहरीले पक्राउ गरेको र पक्राउ परेकाहरुमध्ये ३२ प्रतिशतलाई फौजदारी मुद्दा लगाइएको थियो। त्यसै लागुऔषध नियन्त्रण ब्युरोले मात्रै विं सं २०८० असार देखि चैत्तसम्म लागुऔषध सम्बन्धी कसुरमा ३,१५७ फौजदारी मुद्दाहरु अदालतमा दायर गरेको छर।
गृह मन्त्रालयले विं सं २०७६ मा प्रकाशन गरेको एक प्रतिवेदन अनुसार देशभर करिब १ लाख ३० हजार ४ सय २४ जना लागूऔषध प्रयोगकर्ताहरू रहेका थिए। कुल लागूऔषध प्रयोगकर्ता मध्ये ७ प्रतिशत महिला प्रयोगकर्ताहरू पाइएको थियो।
६९ प्रतिशत अर्थात ९० हजार भन्दा बढी प्रयोगकर्ताहरूले सुईद्वारा लागूऔषध प्रयोग गर्ने गरेको उक्त प्रतिवेदनले सार्जजनिक गरेको थियो।
उक्त सर्वेक्षणमा नेपालमा लागूऔषध प्रयोगकर्ताहरूको संख्या २०६३ सालको पहिलो सर्वेक्षणको तुलनामा तीन गुणाले बढेको र प्रत्येक वर्ष ५ .०६ प्रतिशतको दरले बढ्दै देखाएको हो।
लागुऔषध सम्बन्धी काम गरिरहेको संस्था रिकभरिङ नेपालका कार्यक्रम व्यवस्थापक विकास गुरुङ नेपालमा लागुऔषधको प्रयोग एक मानसिक स्वास्थ्य समस्याको रुपमा देखा परेको तथा यसको उपचार सम्भव भएको बताउँछन्। यसलाई फौजदारी अपराध अन्तर्गत राख्न नहुने उनको भनाई छ।