काठमाडौं- अस्पतालको सेवालाई राजनीति तथा पहुँचवालाको थलो बनाइँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको त्रिवि शिक्षण अस्पतालमा निर्देशक डा दिनेश काफ्लेले बताएका छन्।
देशभरकै बिरामीको भरोसाको केन्द्र यो अस्पतालमा राजनीति र पहुँचवालाको थलो बनाउन खोज्दा समस्या आइरहेको उनले उल्लेख गरेका हुन्। आफ्नो निर्देशकीय कार्यकालको उत्तरार्द्धमा पुगेका उनले त्यस्तो प्रेसर खेपेको संकेत गरे। 'विकसित मुलुकहरुमा राजनीतिक पहुँचका आधारमा स्वास्थ्य सेवामा विभेद गरिदैन। तर हाम्रोमा राजनीतिक पहुँचका आधारमा स्वास्थ्य सेवा लिन जोड गर्ने र दिनुपर्ने बाध्यता आइलाग्ने अवस्था छ । यसले सामान्य बिरामीले भेदभाव महशुस गर्ने अवस्था आउँछ।'
अस्पतालले सकेसम्म सबै बिरामीको सही र समयमै उपचारमा जोड दिएको उनले उल्लेख गरे। 'शिक्षण अस्पतालमा म फलानोको नातेदार, फलानोको पार्टीको मान्छे, त्यसैले मैले पालो पहिले पाउनुपर्छ भन्नेजस्तो कल्चरले गर्दा पनि यहाँ समस्या निम्तिएको छ। नीतिनियमकम चल्न दिनुको साटो राजनीति गर्ने ठाउँ बनाउँदा टिचिङमा समस्या बढेको हो,' उनले भने।
त्रिवि शिक्षण अस्पतालमा अहिले १९ वटा अप्रेसन थिएटर नियमित चलिरहेको उनले बताएका छन्। २४ सै घण्टा डेलिभरी र अत्यावश्यक सेवा दिइरहेको अस्पतालले लाइन व्यवस्थामा भने सास्ति खेपिरहेको छ। 'यहाँ आकस्मिकमा जटिल अवस्थाका बिरामी उपचारका आउँछन्। एकै व्यक्तिमा धेरै प्रकारका स्वास्थ्य समस्या हुँदा स्वास्थ्य उपचारको गन्तव्य त्रिवि अस्पताल बन्छ,' उनले भने, 'यसले गर्दा स्वभाविक रुपमा बिरामीको यहाँ चाप धेरै छ।'
आँखा, प्रसूति, मुटुदेखि लिएर क्यान्सरसम्मको उपचार हुने यस अस्पतालमा व्याप्त केही 'अव्यवस्था' 'खराब संस्कार'का कारण कतिपयले सामान्य स्वास्थ्य उपचारका लागि समेत महिनौं कुर्नुपर्ने अवस्था रहेको उनको स्वीकारोक्ति छ।
अस्पतालमा दैनिक ओपिडीमा औसत २२–२५ सय जना बिरामीहरु आइपुग्ने गरेको तथ्यांक उनले अघि सारे। 'आकस्मिक बाहेक ओपिडीमा कुनै दिन २८ सयसम्म बिरामी पुगेको तथ्यांकछ, यहाँ ६०–७० शल्यक्रिया हुन्छन्। हामीले दिनको ५८४ वटासम्म अल्ट्रासाउन्ड गरेको तथ्यांक छ, जुन संसारका कुनै अस्पतालमा सायद नहोला। विश्वका धेरै अस्पतालको तथ्यांक हेर्दा कहीँ पनि दिनमै यति धेरै अल्ट्रासाउन्ड भएको मैले पाइन,' डा काफ्ले भने।
कतिपय सामान्य समस्या भएका बिरामीहरुसमेत त्रिवि अस्पताल आइदिँदा समेत बढी भिडभाड हुने गरेको उनी बताउँछन्। स्थानीय स्तरमा पाइने स्वास्थ्य सेवाका लागि समेत केन्द्रीय अस्पताल आउने परिपाटीका कारण पनि अस्पताल परिसरमा बढी भिडभाड हुने गरेको छ।
त्रिवि शिक्षण अस्पताललाई सरकारको सहयोग एकदमै न्यून रहेको उनले गुनासो गरे। 'स्वास्थ्य मन्त्रालयले यस वर्षको लागि १० करोड त्रिवि शिक्षण अस्पताललाई छुट्याएको छ,जुन ज्यादै न्युन छ,' उनले भने।
स्वास्थ्य आपतकालीन अवस्थालाई सामना गर्न सक्ने क्षमता त्रिवि शिक्षण अस्पतालसँग छ। हाल त्रिवि अस्पताल ५५ बेड आइसियू सेवामा सञ्चालित छ। अस्पतालमा ३ ग्रेडको आइसियू रहेको छ। अस्पताल ८ सय भन्दा बढी बेडमा सञ्चालित छ। त्यस्तै ९३ बेड एचडियूमा हाल अस्पताल सञ्चालित छ।
जसमा विशिष्टिकृत सेवाको रुपमा विस्तार गरिएको अस्पतालका बेड संख्या समावेश नगरिएको उनले बताए। 'आकस्मिक उपचारका लागि आएका विपन्न नागरिकका लागि अस्पतालले ४३ बेड छुट्याएको छ। विभिन्न प्रकारका गरी अस्पतालमा १५–१७ सय ल्याब टेष्ट हुन्छन्। त्यस्तै अस्पतालले दैनिक ८० –८५ सम्म सिटीस्क्यान गर्दै आइरहेको छ,' उनले भने।
त्रिवि शिक्षण अस्पतालमा मात्रै विभिन्न प्रकारका गरी २६ सय जनशक्ति कार्यरत रहेको उनले बताएका छन्। सरकारी अस्पतालका फार्मेसीहरुमा औषधि किन्ने प्रक्रिया ज्यादै नै झन्झटिलो हुन्छ,लामो प्रक्रिया पुरा गरेपछि मात्रै औषधि खरिद गर्न पाइन्छ त्यसकारण कतिपय समयमा भन्नेबितिकै औषधि पाइँदैंन भनेर बाहिर आउने गरेका केही कुरा सत्य हुन्।
सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीहरुलाई सकेसम्म सस्तो औषधि प्रयोगका लागि सिफारिस गर्न सरकारले निर्देशन दिएको उनी बताउँछन्त्य । यसकारण भनेको बेला औषधि नपाउने समस्या रहेको उनको भनाइ छ।