काठमाडौं- गर्मी बढेसँगै विभिन्न अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि हुँदा नेपालका धेरै अस्पतालहरुमा रगत अभाव भएको समाचार बाहिरिएका छन्।
रक्तसञ्चार विशेषज्ञ डा विपिन नेपालका अनुसार हाल रगत अभाव भन्दा पनि व्यवस्थापनको समस्या रहेको छ। धेरै अस्पतालहरुले एकै प्रकारका रगत मात्रै प्रयोग गर्ने भएकोले पनि रगत अभावको समस्या देखिएको हो।
उनका अनुसार एक पिन्ट रगतबाट तीनदेखि पाँच भिन्न खालका रगत बनाउन तथा प्रयोग गर्न सकिन्छ।
'एकै प्रकारको रगतबाट रातो रगत, सेतो रगत, प्लेटेलेट तथा प्लाज्मा बनाउन सकिन्छ। जुन बिरामीलाई जस्तो रगत चाहियो त्यस्तै रक्त तत्त्व बनाएर दिन सकिन्छ,' उनले भने।
नेपालका धेरै अस्पतालहरुमा रगतलाई विभिन्न स्वरुपमा परिणत नगरेरै रगत दिने प्रचलन रहेको उनी बताउँछन्। नेपालमा रक्तदानमा कमी नआएको उनकाे भनाइ छ। त्यस्तै कुनै बिरामीका लागि लागि दुई पिन्ट रगत आवश्यक भएको भनेर लिएर जानु र रगतको प्रयोग गर्दा एक पिन्ट रगतले मात्र पुग्दा बाँकी अर्को एक पिन्ट रगत रक्तसञ्चार केन्द्रमा फिर्ता नगर्दा पनि खेर गइरहेको हुन्छ।
नेपालका धेरै जस्तो अस्पतालहरुमा ब्लड बैंक नहुनु तथा भएकाहरुमा पनि राम्रो व्यवस्थापनको अभावका कारण कतिपय अस्पतालका बिरामीहरुमा रगत अभाव हुने गरेको छ। 'जुन रगत बिरामीलाई आवश्यक छ, त्यही रगत दिएमा रगतको उचित प्रयोग हुने डा नेपाल बताउँछन्। जस्तै रातो रगतको आवश्यक भएका बिरामीलाई रातो रगत नै दिने, डेगु, क्यान्सर लगायतका बिरामीहरुलाई प्लेटलेटमा आवश्यकता पर्छ।
प्लेटलेटमा रहेको प्लाजा समेत अर्काे बिरामीलाई काम लाग्न सक्छ त्यसकारण एक प्रकारको रगत तीन जना व्यक्तिको उपयोगमा भनाइ छ। नेपालका चिकित्सकहरुले एक प्रिन्ट रगत एकै प्रयोजनका लागि मात्रै प्रयोग गरिने भएकोले बाहिर रगतको अभाव भएका हल्ला छ तर त्यो यथार्थ होइन।
मुलुकभर कति रगत संकलन र खपत हुन्छ?
हाल नेपालमा वार्षिक साढे २ देखि ३ लाख पिन्ट रगत संकलन हुने गर्छ। त्यस्तै वार्षिक रुपमा नेपालमा ४ लाख पिन्ट रगतको माग रहेको तथ्यांक छ। यही तथ्यांकअनुसार नेपालमा अझै वार्षिक १ लाख पिन्ट रगत अपुग भएको देखिन्छ।
तर नेपालमा संकलन भएको साढे २ देखि ३ लाख पिन्ट रगतको उचित प्रयोग गर्न सके ९ लाख रक्ततत्व बनाउन सकिने रक्तसञ्चार विज्ञहरुको तर्क छ। रगतको सही उपयोग गरेमा रगतको माग पूरा हुने देखिएको छ। कतिपय अस्पतालहरुको ब्लड बैंक नहुँदा समेत रगतको उचित प्रयोग हुन सकेको छैन।
नेपालमा केन्द्रीय रेडक्रस, भक्तपुर रेडक्रस तथा पाटन रेडक्रस सबैभन्दा बढी रगत संकलन गर्ने केन्द्रमा पर्छन्।
कुन केन्द्रले कति रगत संकलन गरे?
नेपाल हाल १२० रक्त संकलन केन्द्रबाट साढे २ देखि ३ लाख प्रिन्ट रगत संकलन हुने गरेको छ। तथ्यांक अनुसार यस वर्ष केन्द्रीय रेडक्रसले ३० हजार पिन्ट रगत संकलन गरेको छ। त्यस्तै भक्तपुर रेडक्रसबाट ३० हजार, कान्तिपुर अस्पतालबाट १५ हजार , ग्रान्डी रक्त सेवा केन्द्रबाट ५ हजार पिन्ट, हिमाल अस्पतालबाट ५ हजार पिन्ट रगत संकलन भएको थियो।