काठमाडौं– बाल उपचारका लागि केन्द्रीय स्तरमा रेफरल केन्द्रका रुपमा रहेको कान्ति बाल अस्पतालमा सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया सेवा पाउनका लागि १ सातादेखी २ वर्षसम्म कुर्नुपर्ने बाध्यता छ।
महालेखापरीक्षकको ६१ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक प्रतिवेदनमा समेत उक्त समस्या उल्लेख गरिएको थियो। अस्पतालमा पर्याप्त मात्रामा शल्यक्रिया कक्ष तथा भौतिक संरचना नहुँदा कतिपय बिरामीको अस्पताल पुग्दा पनि उपचार अभावमा मृत्यु भइरहेको घटना बाहिरिएका छन्।
सरकारी अस्पतालमा शल्यक्रियाका लामो समयसम्म कुर्नुपर्ने समस्याको निराकरणका लागि सरकारले तीन सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका सचिव डा दिपेन्द्ररमण सिंहको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो। समितिले शल्यक्रियाका लागि लामो समयसम्म कुर्नुपर्ने बाध्यतामा समस्या पहिचानका लागि अस्पतालका वरिष्ठ सर्जनहरुसँग छलफल समेत गरिसकेको बताइएको छ।
शल्यक्रिया कक्ष बढाउनुपर्छ : डा थापा
कान्ति बाल अस्पताल शल्यचिकित्सा विभागका प्रमुख डा विजय थापाका अनुसार करिब दुई दशकको समयमा समेत कान्ति बाल अस्पतालको अप्रेसन थियटर, बेड संख्या तथा जनशक्तिको अवस्था उस्तै छ।
अस्पतालमा सर्जिकल विभागका लागि भन्दै २०५२ सालमा छुट्याइएको ३० बेड हालसम्म पनि बढाइएको छैन। उपचारका लागि आएकामध्ये १५ देखि ३० बिरामीको शल्यक्रिया हुने गरेको डा थापा बताउँछन्।
जापान सरकारले बनाएको दुइ वटा अप्रेशन थिएटरको अवस्था नाजुक छ। त्यसलाई पुर्ननिर्माण गर्नुपर्ने समय आएको डा थापा बताउँछन्।
‘हाल रहेको शल्यक्रिया कक्षलाई बढाएर ५ बनाउन सकेमा शल्यक्रिया लागि लामो समयसम्म कुर्नुपर्ने बाध्यतालाई हटाउन सकिन्थ्यो,’ उनले भने।
अस्पतालमा सेवा विस्तार भएपनि भौतिक संरचना तथा स्रोत साधन बढाउन नसक्दा उपचारका लागि अस्पताल आइपुगेका बालबालिकालाई फर्काउन पर्ने बाध्यता रहेको उनको भनाइ छ।
तत्कालै शल्यक्रिया कक्ष बढाएर सेवा सुरु गर्दा समेत अस्पतालमा अहिले रहेका जनशक्तिले धान्न सक्ने अवस्था रहेको डा.थापा बताउँछन्।
तत्कालका लागि शल्यक्रिया कक्ष बढाउने, बेड संस्था विस्तार गर्ने तथा भइरहेको शल्यक्रिया कक्षलाई पुनर्निर्माण गरेमा समस्या हल हुने देखिएको छ।
कान्ति बाल अस्पतालमा रेडियोलोजी, ल्याब तथा सर्जरी विभाग प्रमुख आम्दानीको स्रोत हुन्। गतवर्ष कान्ति अस्पतालको सर्जरी विभागले सबैभन्दा बढी आम्दानी गर्न सफल भएको डा थापा बताउँछन्।
एक्सटेन्डेट हेल्थ सर्भिस लागु गर्न सकेमा हाल अस्पतालमा शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने समस्या ८० प्रतिशतसम्म हल हुने डा थापाको दाबी छ।
एक्सटेन्डेट हेल्थ सर्भिस विकल्प : डा जोशी
कान्ति बाल अस्पतालमा शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने अवस्था घटाउनका लागि एक्सटेन्डेट हेल्थ सर्भिस पनि एक विकल्प हुनसक्ने अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश जोशीको धारणा छ।
शल्यक्रियाको समय कुरिरहेका बिरामीलाई निजी अस्पताल भन्दा सस्तो विकल्प एक्सटेन्डेट हेल्थ सर्भिस बन्न सक्ने डा जोशीको भनाइ छ।
‘एक्सटेन्डेट हेल्थ सर्भिस सुरु गर्नका लागि अस्पतालमा बेड संख्या र अप्रेसन थिएटरको संख्या बढाइ हालकै जनशक्तिबाट सेवा दिन सकिन्छ,’ डा जोशीले भने।