काठमाडौं- सरकारले संघीय अस्पतालहरुलाई कार्यबोझको आधारमा पुर्नसंरचना गर्दै पर्याप्त जनशक्ति भएका अस्पतालमा दुई सिफ्टमा बहिरंग (ओपिडि) सञ्चालन गर्ने नीति लिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
आगामी आर्थिक वर्षदेखि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायतका पर्याप्त जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा बहिरंग (ओपिडि) सेवा दुई सिफ्टमा सञ्चालन हुने नीति तथा कार्यक्रममा उल्लेख छ।
सरकारले नीति तथा कार्यक्रममा समेटेको उक्त विषय कार्यान्वयनका लागि पूर्वाधार र जनशक्ति हुन जरुरी हुन्छ। अहिलेको पूर्वाधार र जनशक्तिले सरकारको नीति कार्यान्वयन गर्ने सकिने अवस्था छ कि छैन? कसरी कार्यान्वयन गर्न सकिन्छ? नीति तथा कार्यक्रममा नाम लिइएका तीनवटै अस्पतालको नेतृत्व गरिरहेका चिकित्सकहरुले यस्तो बिचार प्रस्तुत गरेका छन्:
विभागीय प्रमुखसँगको छलफलपछि निर्णय हुन्छ
डा पंकज राय
निर्देशक, कान्ति बाल अस्पताल
सरकारको नीति तथा कार्यक्रम अन्तर्गत बिरामीको बढी चाप हुने कान्ति बाल अस्पतालमा दुई सिफ्टमा ओपिडी सञ्चालन गरिने सरकारको नीति तथा कार्यक्रम ज्यादै प्रशंसनीय छ।
हाल कार्यरत जनशक्ति तथा पूर्वाधारबाटै कसरी दुई सिफ्टमा ओपिडी सेवा प्रदान गर्न सकिन्छ भन्ने विषयमा अस्पतालका विभिन्न विभागका प्रमुखसँग छलफल पश्चात् मात्रै निर्णय गर्न सकिन्छ।
विभागीय प्रमुखसँगको छलफल पश्चात् सरकारले ल्याएको उक्त नीति तथा कार्यक्रम कार्यान्वयनमा रहेका असहजताको पहिचान तथा कार्यान्वयन योजना बन्नेछन्।
नेपाल सरकारको नीति तथा कार्यक्रममा परेको उक्त विषयलाई सकेसम्म छिटो कार्यान्वयन गर्नेतर्फ हाम्रो जोड हुनेछ। तत्कालका लागि भएकै जनशक्ति तथा पूर्वाधारको अधिकतम प्रयोग गरी सेवा सुरु गर्न सकिन्छ होला। तर, दीर्घकालीन रुपमा भने यही जनशक्ति तथा पूर्वाधारबाट चलाउन सकिदैन। त्यसैले सुरु गर्दा नै सँगसँगै पूर्वाधारको विकास, जनशक्ति बढाउने र बजेट तर्जुमा गर्नेतर्फ पनि सोच्नुपर्ने हुन्छ।
दुई सिफ्टमा ओपिडी सञ्चालन हुँदा बिरामीहरुले आफ्नो अनूकुलमा स्वास्थ्य जाँच गराउन पाउने स्थिती हुन्छ। यो राम्रो पक्ष हो। एक सिफ्टमा मात्रै ओपिडी सञ्चालन भइरहँदा अस्पतालमा अत्याधिक भिडभाड हुने गरेको छ। दुई सिफ्टमा ओपिडी सञ्चालन हुँदा बिरामी संख्या बढेपनि भीडभाड भने कम हुने हुन्छ। यसले यहाँ काम गर्ने कर्मचारी वर्कलोड पनि स्वभाविक रुपमा घट्छ।
अस्पतालले पहिले त हालकै जनशक्तिबाट कसरी दुई सिफ्टमा सेवा विस्तार गर्न सकिन्छ भने खाका तयार पारेर मन्त्रालयलाई उक्त जानकारी दिनेछ। त्यसपश्चात् मात्रै सेवाको सुरुवात गर्नेछ।
कान्ति बाल अस्पतालको सेवालाई विस्तार गरी १ हजार बेडमा लैजाने तथा त्यसैअनुसार जनशक्ति तथा पूर्वाधारको विकास गर्नतर्फ सरकार सकारात्मक नै रहेको छ। कान्ति बाल अस्पतालको संरचना निर्माणका लागि करिब १ अर्ब बजेट नै छुट्याइएको तथा जनशक्ति थप गर्नका लागि ओएनएम सर्भे भएर अर्थ मन्त्रालयमा समेत पेश भइसकेको छ।
हाल कान्ति बाल अस्पतालमा दैनिक १२ सय भन्दा बढी बिरामीहरु ओपिडीमा आउने गरेका छन्। दुई सिफ्टमा सञ्चालन हुँदा बिरामी संख्या ६० प्रतिशतले बढ्ने आंकलन हामीले गरेका छौं ।
जनशक्ति व्यवस्थापन एकदमै महत्वपूर्ण छ
डा प्रमोद कुमार यादव
निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, ट्रमा सेन्टर
राष्ट्रिय ट्रमा सेन्टरमा पनि दुई सिफ्टमा ओपिडी सञ्चालन गरिने सरकारले नीति तथा कार्यक्रमको हामीले स्वागत गरेका छौं। सरकारको उक्त नीति तथा कार्यक्रम बिरामीका लागि निकै नै राम्रो कुरा हो। यद्यपि जनशक्ति तथा पूर्वाधारको व्यवस्थापन भने यसका लागि अत्यावश्यक छ। पूर्वाधार भन्दा पनि यसका लागि जनशक्ति व्यवस्थापन एकदमै महत्वपूर्ण छ।
केही जनशक्ति थप गरी उनीहरुको तलब तथा भत्तामा समेत केही फेरबदल गर्न सकेमा सरकारको उक्त कार्यक्रम कार्यान्वयन गर्न सहज हुन्छ। राष्ट्रिय ट्रमा सेन्टरमा कार्यतालिका बनाएर दुई सिफ्टमा सेवा दिन सकिन्छ।
यसरी दुई सिफ्टमा सेवा दिनकालागि हाल रहेको जनशक्तिमा ५० प्रतिशत थप गर्नुपर्छ। ओपिडी सेवामा आउने बिरामीहरुको संख्या ६० प्रतिशतले बढ्ने सम्भावना रहन्छ।
हाल राष्ट्रिय ट्रमा सेन्टरमा दैनिक ५ सय भन्दा बढी बिरामीहरु ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आउने गर्छन्।
थप सेवा सुविधा प्रदान नगरी उक्त सेवा सुरु गर्न सकिँदैन
डा समाज गौतम
उपनिर्देशक, वीर अस्पताल
वीर अस्पतालको ओपिडी सेवालाई दुई सिफ्टमा विस्तार गर्ने महत्वपूर्ण योजना सरकारले अघि सारेको छ। जुन निकै नै राम्रो योजना हो। यसले दिउसोको समयमा व्यस्त तथा कामकाजी बिरामीहरु समेत लाभान्वित हुनेछन्।
हालकै अवस्थामा कार्यरत जनशक्तिलाई थप सेवा सुविधा प्रदान नगरिकन नै उक्त सेवा सुरु गर्न सकिदैन। नियमित सेवा गर्दा जनशक्ति थप गर्नुपर्ने हुन्छ। पूर्वाधारको विस्तार पनि सँगैसँगै गर्दै जानुपर्छ । यद्यपि कार्यक्रमको नतिजा आए नआएको तथा लक्षित वर्गसमक्ष कार्यक्रम पुगे नपुगेको समेत नियमित अनुगमन हुन जरुरी छ।
पछिल्लो समय केन्द्रीय स्तरको अस्पताल वीरमा बिरामीको चाप एकदमै बढ्दो अवस्थामा छ। यहाँ दैनिक ३ हजारभन्दा बढी बिरामीहरु ओपिडी आउने गरेको उनी बताउँछन्। दुई सिफ्टमा हुँदा भीड केही घट्ने र बिरामीको संख्या बढ्ने सम्भावना रहन्छ । त्यसैले सरकारले नीति अनुसार बजेट छुट्या्उने र कार्यान्वयनमा लैजाने काम गर्ने अपेक्षा हामीले गरेका छौं।