काठमाडौं- स्वास्थ्य बीमा बोर्डले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० करोड ५० लाख रुपैयाँ भुक्तानी नगर्दा प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको विषय बुधबारको प्रतिनिधी सभा बैठकमा सांसद मेटमणि चौधरीले उठाए।
दाङको घोराही उपमहानगरपालिकामा रहेको प्रतिष्ठानमा अहिले दैनिक ७०० देखि ८०० को उपचार भइरहेको बताउँदै सेवा ठप्प हुने अवस्थामा पुगेको भन्दै समस्या समाधानका लागि सांसद चौधरीले सरकारको ध्यानाकर्षण समेत गरे।
स्वास्थ्य बीमा बोर्डका निर्देशक डा दामोदर बसौलाका अनुसार स्वास्थ्य बीमा बोर्डले एक महिना अगाडि मात्रै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमाको केही रकम भुक्तानी गरेको तथा आगामी चरणको भुक्तानीको तयारी भइरहेको छ।
'तत्कालै भुक्तानी गर्न नसकिएको सत्य हो,यद्यपि भुक्तानी नै नभएको भन्दै बाहिर आएका कुराहरुमा भने सत्यता छैन,' उनले भने, 'गत साउनसम्मको भुक्तानी भइसकेको छ। कार्तिक सम्मको भुक्तानीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ, जुन चैत्र मसान्तसम्म पूरा हुन्छ।'
मुलुकभरका ४६५ अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले भुक्तानी गर्नुपर्ने बताउँदै बै अस्पतालका दाबीलाई रुजु भुक्तानी गर्न नमिल्ने भएकोले केही समय ढिलाइ हुनु स्वभाविक भएको डा बसौला बताउँछन्।
डा बसौलाका अनुसार स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा ऐन, नियम,कार्यविधि तथा सुविधा थैली अनुसार अस्पतालहरुका दाबीलाई रुजु गरेर मात्रै भुक्तानीको प्रक्रिया अगाडि बढ्छ। 'उक्त दाबीलाई रुजु गर्नका लागि स्वास्थ्य बीमा बोर्डमा रहेका डाक्टर, फर्मासिस्ट, नर्स लगायतको समुह हुन्छन्,रुजु ठीक भए नभएको परीक्षण पश्चात् लेखा शाखाले मुलुकभर पठाउने भएकोले भुक्तानीमा ढिलाई भएको छ,' उनले भने।
स्वास्थ्य बीमा बोर्डले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मात्र नभई देशभरमा सम्पूर्ण अस्पतालहरुलाई एकैसाथ भुक्तानी गर्ने प्रक्रिया चैत मसान्तसम्म पूरा हुने डा बसौलाको दाबी छ।
बीमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार गत वर्ष मुलुकभरका सबै अस्पतालहरुले गरेको दाबीको भुक्तानी भइसकेको छ। त्यस्तै चालु आर्थिक वर्षमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बीमा बोर्डलाई गरेको ४ पटक गरेको दाबीमा २ करोड ६२ लाख ५० हजार ९ सय ३० रुपैयाँ भुक्तानी भइसकेको छ।
भदौदेखि रकम भुक्तानीको लागि प्रतिष्ठानले पठाएको दाबी भने बाँकी रहेको कँडेल बताउँछिन्। कुनैपनि अस्पतालले स्वास्थ्य बीमा बोर्डलाई रकम भुक्तानीका लागि गरेको दाबीलाई रिभ्यु गरेर मात्रै रकम पठाइने भएकोले भुक्तानीमा ढिलाइ भएको उनको स्पष्टोक्ति छ। प्रतिष्ठानले गरेको करिब ११ हजार दाबीको रकम भुक्तानीको प्रक्रिया अन्तिम चरणमा पुगेको उनको दाबी छ।