काठमाडौं- गत साता कोरोनाका बिरामीका कारण भरिभराउ शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकुमा बिरामी संख्या घटेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार गत साता बढेको कोरोना बिरामी संख्या यस साता भने घटेको छ।
गत साता कोरोनाको समस्याका कारण १० बिरामीहरु अस्पतालको आइसियू तथा एचडियूमा भर्ना भएका थिए भने हाल ३ जना मात्रै रहेको निर्देशक डा बसौलाले स्वास्थ्य खबरलाई बताए।
उपचारका लागि त्रिवि शिक्षण अस्पताल,वीर,वयोधा पुगेका बिरामीहरुमा स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ आएपछि ती अस्पतालले शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल रेफर गरेका कारण एक्कासी अस्पतालमा कोरोनाका बिरामीको संख्या बढेको उनी बताउँछन्।
अस्पताल भर्ना भएका अधिकांश बिरामी बुधबार डिस्चार्ज भएका हुन्। यो रुघाखोकीको मौसम भएकोले लामो समयसम्म रुघाखोकी लागेका तथा कोरोनाको खोप नलगाएका बिरामीहरु कोरोना संक्रमणको जोखिममा रहेको डा बसौला बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी आइसियू इन्चार्ज उषा देवकोटाका अनुसार गत साता कोरोना संक्रमणका कारण उपचारका लागि अस्पतालमा १० बिरामी भर्ना भएकामा हाल उक्त संख्या घटेर ३ पुगेको छ।
गत चैत्र ७ गतेदेखि अस्पतालमा कोरोना संक्रमणका कारण आइसियूमा भर्ना हुने बिरामीको संख्या बढेको उनको भनाई छ।
'अधिकांश बिरामीहरुमा दम, उच्च रक्तचाप, मधुमेह लगायतका समस्या रहेको थियो। उपचारका लागि भर्ना हुनेहरुमा युवा अवस्थामा बिरामीहरु नभई उमेर ढल्केका मात्रै रहेको देवकोटा बताउँछिन्। प्राय दीर्घरोग भएका, हिँडडुल कम गर्ने, अक्सिजनको सपोर्टमा बस्नुपर्ने अवस्थाका बिरामीहरु हाल उपचाररत्त हुनुहुन्छ, उनी भन्छिन्।
गत मंगलबार कोरोना कारण उपचारका लागि भर्ना भएका ३ जना बिरामी हाल उपचाररत्त रहेको बुधबार अर्थात् हिजो भने कोरोनाको कुनै पनि नयाँ केश अस्पतालमा आएको छ।
'दीर्घरोगका रुपमा रहेको दमका समस्या, रुघाखोकी, सुगर,प्रेसर भएका बिरामीहरुलाई रुघाखोकी लागेको तथा उपचारका क्रममा जाँदा कोरोना पोजेटिभ भएर अन्य अस्पतालबाट यहाँ रेफर भएर आएका केशहरु हुन्, त्यसमा प्राय निमोनिया भएका बिरामी छन्' उनी भन्छिन्।