काठमाडौंं- नेपालमा हुने गरेका कूल मृत्युमध्ये ११.११ प्रतिशत मृत्यु क्यान्सरका कारण हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । सन् २ं०२० मा भएको क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्यु ४० प्रतिशत भन्दा बढी रहेको हो ।
नेपालमा वर्षेनी २० हजारभन्दा बढीको संख्यामा क्यान्सरका बिरामीहरु फेला पर्ने गरेको तथ्यांक छ । प्रत्येक वर्ष नेपालमा १६ हजार भन्दा बिरामीको मृत्यु क्यान्सरका कारण हुने गरेको छ । नेपालमा बढी मात्रामा देखिएको क्यान्सरमध्ये फोक्सो पाठेघरको मुखको क्यान्सर,स्तन क्यान्सर, पेटको क्यान्सर तथा आन्द्राको क्यान्सर रहेका छन् ।
विकसित मुलुकहरुले लामो प्रयासपश्चात् क्यान्सर संक्रमणको दर घटाएका छन् । विकसित मुलुकहरुमा जस्तै क्यान्सरको उपचार तथा निदान गरेको अवस्थामा मात्रै नेपाल जस्ता अल्पविकसित मुलुकहरुले पनि क्यान्सर संक्रमणको दरलाई घटाउन सक्ने वीर अस्पतालका क्यान्सर विभाग प्रमुख डा विवेक आचार्य बताउँछन् ।
क्यान्सर प्राणघातक रोग भएकै कारण यसलाई न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी संस्थाहरु परेको उनी बताउँछन् । क्यान्सर लाग्नुभन्दा अगाडि अर्थात् प्रि क्यान्सर अवस्थामा बिरामीको रोग पत्ता लागेको अवस्थामा उपचारमा शतप्रतिशत सफलता मिल्ने उनको दाबी छ ।
रोग पत्ता लगाएको दोस्रो चरणमा समेत बिरामीमा निको हुने दर ९० प्रतिशत रहेको छ । तेस्रो चरणमा आइपुग्दा भने उपचार सफल हुने दर ४० प्रतिशत मात्रै हुने डा आचार्यको तर्क छ ।
अझै नेपाल जस्तो अल्पविकसित तथा स्रोत साधनको अभाव भएका मुलुकहरुमा तेस्रो चरणमा उपचारका लागि आइपुगेका बिरामीहरु निको हुने दर ४० प्रतिशत भन्दा पनि कम रहेको छ । चौथो चरणमा उपचारका लागि आइपुग्दा निको हुने दर न्यून अर्थात् ५ प्रतिशत मात्रै हुन्छ ।
तेस्रो वा चौथों चरणमा मात्रै वीर अस्पताल आइपुग्छन् बिरामी
यद्यपि वीर अस्पतालमा भने अधिकांश बिरामीहरु तेस्रो वा चौथो चरणमा मात्रै उपचारका लागि आइपुग्ने गरेको डा आचार्य बताउँछन् । तसर्थ वीर अस्पतालमा क्यान्सरको उपचारका लागि आएका करिब ५५ प्रतिशत बिरामीहरुको मात्रै निको भएर घर फर्केने गर्छन्।
अन्तिम चरणमा मात्रै अस्पताल आइपुग्ने बिरामीहरुलाई सुरुवाती अवस्थामा नै अस्पताल आउन सक्ने वातावरण बनाउन आवश्यक रहेको छ । त्यस्तै महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर,फोक्सो क्यान्सर जस्ता क्यान्सरहरु बारे सचेतना फैलाउन सकेको अवस्थामा यसलाई लाग्नै नदिनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
जनशक्तिको अभावमा प्रयोगविहीन अवस्थामा उपकरण
नेपालभर करिब ४८ देख ५० को हाराहारीमा मात्रै रेडियसन अंकोलोजिष्ट रहेको छन् ।
त्यस्तै मेडिकल अंकोलोजिष्टको संख्या २०,सर्जिकल अंकोलोजिष्ट ५०,मेडिकल फिजिसिष्ट १८ जना तथा २५ जना रेडियोथेरापी टेक्नोलोजिष्ट मात्रै रहेको अवस्था छ ।
रेडियोथेरापी टेक्नोलोजिष्टको अभावमा भएका उपकरणहरुको समेत प्रयोग हुन सकेको छैन ।
काठमाडौं केन्द्रित क्यान्सर उपचार केन्द्र
नेपालका अधिकांश क्यान्सर उपचार केन्द्रमध्ये अधिकांश काठमाडौं केन्द्रित रहेका छन् ।
क्यान्सर उपचारका लागि काठमाडौंमा ७ केन्द्र रहेका छन् । त्यस्तै भरतपुरमा २, विराटनगरमा २,झापामा १ क्यान्सर उपचार केन्द्र रहेको तथ्यांक छ ।
१० लाख जनसंख्या बराबर १ मेसिन आवश्यक
नेपालमा १० लाख जनसंख्या बराबर एक मेसिनको आवश्यक रहेको डा आचार्य बताउँछन् । यसरी नेपालको जनसंख्यालाई आधारमा मानेर भन्नुपर्दाे क्यान्सर उपचारका लागि ३५ मेसिन आवश्यक रहेको ११ वटा मात्रै रहेको अवस्था छ ।