काठमाडौं - वीर अस्पतालमा अक्सिजन खरिदका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको अक्सिजनको बजेट समेत घटाएपछि समस्या परेको थियो।
अक्सिजन ढुवानीकर्ता कम्पनीले बक्यौता नतिरेमा ढुवानी नै रोक्ने पत्र पठाएको थियो। मन्त्री बस्नेतका कारण वीरका बिरामीलाई समस्या परेको विषयमा स्वास्थ्य खबरले समाचार प्रकाशित गरेको थियो। अत्यावश्यक सेवामा मन्त्रालयले बजेट कटौती गरेर आर्थिक नाकाबन्दी गरेको भन्दै स्वास्थ्यमन्त्री बस्नेत र सरकारको चौतर्फी आलोचना भएको थियो।
दबाबपछि अर्थ मन्त्रालयले वीर अस्पतालमा बिरामीको खाजा तथा अक्सिजन खरिद शीर्षकमा कटौती भएको साढे ४ करोड निकासा गर्ने बताएको हो।
स्वास्थ्य मन्त्रालयले बजेट कटौती गर्दा वीर अस्पताललाई अक्सिजनको बक्यौता तिर्न मुश्किल परेको थियो। बक्यौता भुक्तानी नगरिए अस्पतालमा सप्लाइ गरिने अक्सिजन रोकिने चेतावनीसहितको पत्र वीर अस्पतालमा अक्सिजनको आपूर्ति गर्दै आएको शंकर ग्यास कम्पनीले अस्पताललाई पठाएको पत्रसहित स्वास्थ्य खबरले समाचार प्रकाशन गरेको थियो।
त्यसैगरी बिरामीलाई वर्षौंदेखि उपलब्ध गराउँदै आएको निशुल्क खाना समेत खुवाउन नसक्ने अवस्थामा अस्पताल पुगेको थियो। स्रोत सुनिश्चित नगरी अस्पतालको बेड नि:शुल्कको स्टन्टमा रमाएका मन्त्री बस्नेतले बजेट कटौती गरेको विषयको सर्वत्र आलोचना भएको थियो।
अत्यावश्यक सेवामा बजेट कटौती गरेर सरकारले वीर अस्पताललाई आर्थिक नाकाबन्दी गरेको भन्दै सर्वोच्च अदालतमा रिट समेत दायर भएको थियो।
यो पनिः
ग्यास कम्पनीले वीरलाई दियो अक्सिजन रोक्ने चेतावनी, स्वास्थ्य मन्त्रालयले बजेट कटौती गर्दा भुक्तानीमा समस्या