काठमाडौं- नियमित तलब भत्ता तथा अतिरिक्त समय काम गरेको पैसा नपाएको भन्दै वीर अस्पतालका कर्मचारी अन्दोलनमा छन्। विभिन्न माग राख्दै लगाइएको ताला ४ दिन बित्दा पनि खुल्न सकेको छैन।
अस्पतालका नौ कर्मचारी संगठनले पटक-पटक जानकारी गराउँदा पनि व्यवस्थापन पक्षले महत्व नदिएको भन्दै तालाबन्दी गरेका हुन्। कर्मचारीहरुले अस्पताल प्रशासनले भुक्तानी नगर्दासम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।
वीर अस्पतालका प्रशासन प्रमुख बाबुराम घिमिरेका अनुसार अस्पतालले प्रदान गर्दै आइरहेको ५० प्रतिशत प्रोत्साहन भत्ता लामो समय नपाएपछि वीर अस्पतालका कर्मचारी आन्दोलित भएका हुन्।
कोरोना महामारीको समयमा अस्पतालले प्रदान गर्ने भनेको ८ महिना तथा गत साउनदेखि यताको प्रोत्साहन भत्ता कर्मचारीले पाउन सकेका छैनन्।
घिमिरेका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई प्रदान गर्दै आइरहेको बजेट गत वर्षहरुको तुलनामा न्युन भएको तथा आन्तरिक आम्दानी अत्यावश्यक सामग्रीहरुको खरिदमा खर्च हुँदा धान्न नसकेकोले कर्मचारीहरुलाई प्रोत्साहन भत्ता प्रदान गर्न नसकिएको हो।
यद्यपि अस्पताल व्यवस्थापनले ताला खुलाउनका लागि आन्दोलनरत कर्मचारीसँग छलफल गरेपनि हालसम्म सहमति हुन सकेको छैन।
'हामीले उहाँहरुलाई प्रोत्साहन भत्ता प्रदान गर्ने प्रतिबद्वता गर्दा समेत उहाँहरु ताला खोल्न तयार हुनुभएको छैन', प्रशासन प्रमुख घिमिरेले स्वास्थ्य खबरसँग भने, 'कर्मचारी प्रशासन तथा आर्थिक प्रशासन शाखाको ताला लगाइएको अवस्थामा सामान्य खरिदको काम समेत नहुँदा अस्पतालको सेवा समेत प्रवाहित बन्न पुगेको छ।'
अस्पतालका एक कर्मचारीका अनुसार विगत १४ महिनादेखि अस्पतालले प्रदान गर्दै आइरहेको सेवा विस्तार भत्ता अस्पतालमा कार्यरत कर्मचारीले पाएका छैनन्।
१४ महिनादेखि सेवा विस्तार भत्ता नपाउँदा न्यून तलबमा काम गर्ने कर्मचारीहरुलाई दैनिक गुजारा गर्न समेत धौ-धौको स्थिती भएको ती कर्मचारी बताउँछन्।
कमिसनको चक्करमा अस्पताल प्रशासनले अनावश्यक सामान खरिद गर्दासमेत कर्मचारीहरुले खाईपाई आएको तलब-भत्ता नदिइएको भन्दै अस्पताल प्रशासनमा ताला लगाइएको ती कर्मचारी बताउँछन्।
'स्वास्थ्यमन्त्रीकै कारण पनि यस्तो समस्या आएकोे हो' वीरका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने, 'मन्त्री जिम्मेवार बन्दा यो समस्या समाधान हुन सक्छ।'
के भन्छन् उपकुलपति बस्नेत?
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकूलपति डा भुपेन्द्र कुमार बस्नेत आन्दोलनरत कर्मचारी तथा प्रशासनबीच वार्ताको प्रयास भइरहेको बताउँछन्।
'तलब नदिएको भन्दै मिडियामा आएका कुराहरु गलत हो। यद्यपि ६ महिनाको भत्ता भने बाँकी रहेको अवस्था हो ,त्यसलाई चाँडै नै निराकरण गर्नेतर्फ प्रशासन लागिरहेको छ' उनले भने। आजै बसिने वार्तामा सम्पूर्ण पदाधिकारीसहितको ट्रेड युनियनका प्रतिनिधि रहने डा बस्नेत बताउँछन्।
अनावश्यक सामग्रीहरुको खरिद गरी कर्मचारीको तलब भत्तालाई प्राथमिकतामा नराखीएको भन्ने आरोपलाई खण्डन गर्दै डा बस्नेत भन्छन्- 'अत्यावश्यक बाहेकका सामग्री खरिद भएको छैन।'