काठमाडौं– काठमाडौं केडिकल कलेज (केएमसी)ले स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययनरत आवासीय चिकित्सक डा विशद दाहाललाई निलम्बन गरेको विषयमा काठमाडौं विश्वविद्यालय (केयू)ले जवाफ माग गर्दै समस्या समाधान गर्न निर्देशन दिएको छ।
केएमसीको प्रशासनलाई समस्या समाधान गर्दै उक्त विषयमा के भएको हो भन्ने जानकारी दिन निर्देशन दिएको केयू स्कुल अफ मेडिकल साइन्सेसका डीन डा मनोज हुमागाईँले स्वास्थ्यखबरलाई बताए।
‘कजेल प्रशासनलाई मैले तपाईंहरुले के गर्नुभएको हो जानकारी गराउनुस् र हामीले इन्टरभेन (हस्तक्षेप) गर्नु अगाडि नै सोलुसन (समाधान) निकाल्नुहोस् भनेर समयसीमा दिएको छु,’ उनले भने, ‘अहिले मौखिक रुपमा कलेजलाई निर्देशन दिएको छु। आवश्यक परे लिखित रुपमा पनि निर्देशन दिने र घटनाको विषयमा थप अनुसन्धान तथा छलफल पनि गर्नेछौं।’
डीन हुमागाईंले कलेज प्रशासनले डा दाहाललाई निलम्बन गर्नुअघि केयूको डीनसँग छलफल गर्नुपर्नेमा कुनै जानकारी नगराएको बताए। उनले कुनैपनि विद्यार्थीलाई कलेजले सिधैं निलम्बन गर्न नमिल्ने पनि बताए।
उनले भने, ‘यसरी एक महिनाको लागि निलम्बन गर्नु भनेको सामान्य कुरा होइन, कारबाहीको पनि विभिन्न चरण हुन्छ, पहिला मौखिक स्पष्टीकरण, लिखित स्पष्टीकरणको प्रक्रिया हुन्छ। एकदमै ठूलो अनुशासनमै विचलन भए मात्र निलम्बन गर्ने भन्ने निर्णय छ। तर त्यो पनि कसले निलम्बन गर्ने भन्ने कानुनी रुपमा स्पष्ट रहेनछ।’
कलेजले डा दाहाललाई गरेको कारबाही नियमसंगत छ वा छैन? पाठ्यक्रममा नियमित क्याम्पमा जाने विषय छ वा छैन? एउटै विद्यार्थीलाई कतिपटक क्याम्प पठाउन मिल्छ र कतिपटकसम्म पठाएको छ भन्ने विषयमा आफूले कलेज प्रशानसँग मौखिक रुपमा जानकारी मागेको डा हुमागाईँले बताए।
स्नातकोत्तर तहको कोर्षमा भर्ना भएको विद्यार्थीलाई बारम्बार क्याम्पको नाममा कलेज बाहिर पठाएको गुनासो आएपछि आफूले कलेज प्रशासनलाई सो विषयमा के भइरहेको छ भनेर जानकारी गराउन पनि निर्देशन दिएको उनले बताए।
कलेजले बिहीबार एक सूचना जारी गर्दै डा दाहाललाई कलेजबाट एक महिनाका लागि निलम्बन गरेको जानकारी दिएको थियो। डा दाहालसहितका आवासीय चिकित्सकहरुले स्वास्थ्य शिविरका नाममा विद्यार्थीमाथि अमानवीय व्यवहार भइरहेको भन्दै त्यसको विरोध गर्दै आइरहेका थिए।
उनीहरुले पाठ्यक्रममा समावेश नभएका क्रियाकलापहरुमा पनि अस्पतालको अनुरोधमा पटक पटक क्याम्प र पोस्टिङमा खटाउँदा पठन पाठनमा समस्या भइरहेको साथै क्याम्पमा खटिँदा अमानवीय व्यवहार भएको भन्दै उक्त कार्य रोक्न माग गरेका थिए। उनीहरुले कलेज प्रशासनसहित चिकित्सा शिक्षा आयोगमा समेत उजुरी दिएका थिए।
विद्यार्थीहरुले शिविरका क्रममा कलेज प्रशासनले एक छाक मात्र खान दिने, रातभर यात्रा गराए बिहान सबेरै सयौं बिरामी जाँच गर्न लगाउने, शिविरकै क्रममा एक जना आवासीय चिकित्सकलाई गम्भीर रक्तश्राव तथा छारे आउँदा समेत शिविर नरोकिएको लगायतका समस्या देखिएको भन्दै शिविरका नाममा हुने अमानवीय व्यवहार रोकिनु पर्ने बताउँदै आइरहेका थिए।
कलेज प्रशासनले उक्त कार्यको अगुवाइ डा दाहालले लिएको भन्दै पहिलो चरणमा उनीमाथि कारबाही गरेको आवासीय चिकित्सकहरुले बताएका छन्। उनीहरुले अन्याय विरुद्ध आवाज उठाउँदा कारबाही गरिएको भन्दै उक्त निर्णय तत्कालै फिर्ता लिन माग गरेका छन्।
डा दाहालमाथि गरिएको कारबाही फिर्ता नभए शुक्रबार १ बजेपछि सम्पूर्ण काम छाड्ने चेतावनी विद्यार्थीहरुले दिएका छन्।
कलेज प्रसासनले भने डा दाहालले रेडिडेन्ट डाक्टरले पालना गर्नुपर्ने कर्तव्य र अनुशासनको उल्लंघन गरेको आरोप लगाउँदै एक महिनाका लागि निलम्बन गरेको जनाएको छ। केएमसीले बिहीबार काठमाडौंको गैह्रीगाउँस्थित सुकुम्बासी बस्तीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा खटाइएकोमा त्यहाँ सहभागी नभएको र यसअघि बुधबारको विभागीय प्रमुखसँगको बैठकले गरेको निर्णयलाई पनि उल्लंघन गरेको भन्दै दाहाललाई निलम्बन गरेको जानकारी दिएको छ।
कलेज प्रशासनले डा दाहाल निशुल्क स्वास्थ्य शिविरमा नखटिएको भन्दै निलम्बन गरेपनि केएमसीका आवासीय चिकित्सकहरुले पाठ्यक्रम भन्दा बाहिरका यस्ता शिविरमा संलग्न नहुने भन्दै आइतबार नै सामुहिक पत्र कलेज प्रशासनलाई बुझाएका थिए।
उक्त पत्रमा आवासिय चिकित्सकहरुले रेजिडेन्टको आधा समयमा अस्पताल बाहिर खटाउन थालेको भन्दै आफ्नो सिकाइ र अध्ययनमा गम्भीर असर पर्न थालेको समेत उल्लेख गरेका छन्।