जाडोको समयमा धेरै अभिभावकको चिन्ता एउटै हुन्छ, आफ्ना बालबालिकालाई कसरी चिसोबाट जोगाउने? चिसोको समयमा बच्चा बिरामी भइहाल्छन् कि वा निमोनिया हुन्छ कि भन्ने डर सबै अभिभावकमा हुन्छ। गर्मीको समयमा भन्दा जाडोको समयमा अस्पतालमा बिरामीको चाप कम हुने भनिए पनि जाडोमा बालबालिकामा चिसोका कारण हुने समस्या भने बढी नै हुने गर्छ। चिसोको समयमा नवजात शिशु तथा बालबालिकामा हुने स्वास्थ्य समस्या, चिसोको कारण हुने समस्या, रोग तथा संक्रमण र यसबाट बालबालिकालाई कसरी जोगाउने? कान्ति बाल अस्पतालका बाल छाती रोग विशेषज्ञ डा जगत जीवन घिमिरेसँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानी:
बालबालिकामा रोग तथा संक्रमण जाडो वा गर्मी कुन समयमा बढी हुन्छ?
समग्रमा भन्नुपर्दा अस्पतालहरुमा बिरामीको चाप गर्मीको तुलनामा जाडो समयमा कम नै हुने गर्छ। अस्पतालहरुको तथ्यांकले पनि जाडोमा बिरामीको संख्या कम भएको देखाउँछ। तर केही रोग तथा समस्या भने जाडोमा धेरै हुने गर्छ। यस्ता समस्या विशेषगरी बालबालिकाहरुमा बढी हुने गर्छ। बालबालिकाहरुमा चिसोसँग सम्बन्धित समस्याहरु रुघा लाग्ने, खोकी लाग्ने, घ्यार घ्यार हुने समस्या जाडोमा बढी देखिन्छ। जाडोको समयमा श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरु जस्तो रुघा लागेपछि रुघामा मात्र सिमित नभएर स्वाँ–स्वाँ र घ्यार घ्यार हुने, दम भएका बालबालिकाहरुमा रुघा लागेपछि दम बढ्ने, चिसो आफैं पनि दमको ट्रिगरको रुपमा काम गर्ने भएकाले बालबालिकामा दमको समस्या हुने गर्छ। जाडोको समयमा बालबालिकामा धेरै हुने अर्को समस्या झाडापखाला पनि हो। रोटा भाइरसले हुने पखाला, चिसोले गर्दा साना बालबालिकामा हाइपोथर्मिया हुने गर्छ। अर्को चिसोबाट बच्न प्रयोग गरिने आगो तथा हिटरले हुने समस्याहरुमा पोल्ने, बन्द कोठामा हिटर बाल्दा कार्बोनमनोअक्साइड ग्यास बढी भएर हुने समस्याहरु जाडोमा बढी देखिने गर्छ।
जाडोमा लाग्ने रोग तथा संक्रमणको कारणहरु के–के हुन्?
चिसो आफैंले पनि रोगहरुको ट्रिगरको रुपमा काम गर्छ। जस्तो चिसोको कारण बालबालिकाहरुमा एलर्जी हुनसक्छ। छालामा एलर्जी, श्वासनलीहरु खुम्चिएर दम हुने समस्या चिसोकै कारण हुनसक्छ। चिसो मौसममा रेस्पेरेट्री भाइरस अलि धेरै एक्टिभ हुने भएकाले त्यसबाट हुने संक्रमण पनि बढ्छ।
नवजात शिशु तथा बालबालिकाहरुमा जाडोयाममा छातीमा के–कस्ता रोग तथा संक्रमण हुनसक्छ?
जाडोको मौसममा बालबालिकामा हुने मुख्य समस्या भनेको रुघाकै हो। नवजात शिशु, छ महिनाभन्दा कम उमेरका बालबालिकाहरुमा रेस्पेरेट्री सिन्सियल भाइरस (आरएसिभी) भन्ने भाइरस हुन्छ। त्यो भाइरसले गर्दा साना बालबालिकाहरुलाई रुघा लाग्ने, स्वाँ स्वाँ हुने, घ्यार घ्यार हुने समस्या देखिन्छ। त्यसलाई हामीले ब्रोङकोलाइटिस भन्छौं। जुन रोग रुघाबाट सुरु भएर नाक बन्द हुने र कोखा हान्ने समस्या हुन्छ। साना बालबालिकाहरुमा रुघाकै कारण दुध चुस्न नसक्ने, नाक बन्द भएर मुख खोलेर सुत्ने, छट्पटी हुने समस्या देखिन्छ।
रुघाकै कारण ज्वरो आउने, नाक बन्द हुने समस्या देखिन्छ। तर रुघा लाग्दैमा आत्तिन भने हुँदैन। रुघा लागेपछि जसलाई स्वाँ, स्वाँ हुने छाती घ्यार घ्यार गर्ने, वा दमको समस्या भएका बालबालिका छन् भने उनीहरुका लागि उपचारको आवश्यकता पर्छ। कोही कोही बालबालिकाहरुमा रुघा पश्चात बाक्टेरियल निमोनियाको समस्या हुनसक्छ।
साना बालबालिकाले आफूलाई स्वास्थ्य समस्या भएको भन्न सक्दैनन्। अभिभावकले साना बालबालिकामा हुने स्वासप्रस्वासको समस्याको पहिचान कसरी गर्ने?
यो महत्वपूर्ण कुरा हो। अलिअलि रुघा लाग्दैनमा आत्तिएर, दौडिएर अस्पताल नै कुदिहाल्नुपर्ने अवस्था हुँदैन। तर फेरि ढुक्क भएर बस्नुपनि हुँदैन। आमाबुबाले याद गर्नुपर्छ–बालबालिकालाई अलिअलि रुघा लागेको छ, नाक बन्द भएको छ, खोकी लागेको छ भने घरेलु उपाय नै अपनाउन पनि सकिन्छ। यदी यी समस्यासँगै छिटो छिटोे सास फेर्ने, कोखा हान्ने, स्वाँ स्वाँ गर्ने, सक्रिय नहुने वा नखाने समस्या छ र बच्चा रोइरहने वा झिँजो मान्ने, लोसो हुने अवस्था देखिएको छ भने तुरुन्त अस्पताल जानुपर्छ। आजभोलि बालबालिकाहरुमा सामान्य रुघाखोकी लाग्दा अभिभावकहरुले खोकीको औषधि खुवाइहाल्ने चलन बढेको छ। भारतमा पनि अहिले चार वर्षभन्दा कम उमेरका बालबालिकाहरुमा खोकीको औषधिको प्रयोग बन्द गरिएको छ। अन्य देशमा त सरकारले ६ वर्षभन्दा कम उमेरका बालबालिकामा खोकीको ओषधि प्रयोग गर्ने कुरा कानुनले नै बन्देज गरेको छ। हाम्रो देशमा बन्द नै गरिएको त छैन। तर अभिभावकले बुझ्नुपर्छ। सामान्य रुघाखोकी लाग्दैमा औषधि वा एन्टिबायोटिक्स प्रयोग गरिहाल्नु हुँदैन। बालबालिकामा सामान्य रुघाखोकी लागेमा नाक सफा गरिदिने, दुधमात्र खाने बच्चालाई दुध खुवाइरहने, अघि ठूलो बालबालिकालाई झोलिलो पोसिलो खानेकुरा खुवाउने, ज्वरो आएमा पारासिटामोल दिने गर्नुपर्छ।
बालबालिकालाई रुघा लागेर नाक बन्द भएमा सफा गर्ने भन्नुभयो। कसरी सफा गरिदिने?
बालबालिकाहरुको नाक बन्द भएको अवस्थामा नुन पानीको प्रयोग गर्न सकिन्छ। नुन पानीको थोपा हाल्न सकिन्छ। यस्तै कपासले पनि नाक सफा गर्न सकिन्छ। अहिले बजारमा नाक सफा गर्ने सामग्रीहरु पनि आएका छन् त्यसले पनि सफा गरिदिन सकिन्छ।
नवजात शिशु वा ६ महिनाभन्दा कम उमेरका बालबालिकाहरुमा नाक बन्द हुनु पनि ठूलो समस्या हो। नाक बन्द हुँदा नाकको पछाडिको भित्री भागबाट सिगान चुहिएर पनि उनीहरुले खोक्ने हुन्। त्यसैले नाक सफा गरिदिँदा रुघालाग्दा हुने खोकी पनि कम हुनसक्छ।
साना बालबालिकाहरुमा छाती घ्यार घ्यार हुने समस्या किन हुन्छ?
बालबालिकाको श्वासनली साँघुरो हुन्छ। भाइरल संक्रमण भएपछि सिगान पनि जम्मा हुन्छ र घ्यारघ्यार हुन्छ। घ्यारघ्यारको समस्या सबै बालबालिकालाई हुनसक्छ। तर साना बालबालिकाहरुमा रुघा लागेको बेलामा छातीको घ्यारघ्यार हुने समस्या सामान्य समस्यामा पर्छ। यो समस्या पनि सामान्य रुपमा कहिलेकाँही हुनु स्वाभाविक मानिन्छ। तर पटक–पटक छाती घ्यारघ्यार भइरहन्छ भने दम हुनसक्ने भएकाले रोग पहिचान र उपचार गर्नुपर्छ। नाकको पनि घ्यार घ्यार हुन्छ। रुघा लाग्दा नाक बन्द हुने, घुर्ने, घ्यार घ्यार हुने, सास फेर्न नसकेर मुख खोलेर सास फेर्ने समस्या पनि हुन्छ।
बालबालिकाको घाँटीमा कफ जम्ने समस्या किन हुन्छ? नवजात शिशु तथा ६ महिनाभन्दा कम उमेरका बालबालिकामा जमेको कफ कसरी हटाउने? यसमा अभिभावकले के गर्ने?
यो कुरा पनि महत्वपूर्ण छ। बालबालिकाहरुलाई रुघा लागेपछि अलिअलि घ्यार घ्यार गर्ने बित्तिकै अभिभावकहरु कफको औषधि खोज्नुहुन्छ। एन्टिबायोटिक खोज्नुहुन्छ। यो राम्रो होइन। बालबालिकामा रुघा लाग्दा नाकबाट जसरी सिगान चुहिन्छ, त्यसैगरी पछाडि पनि दुईवटा प्वाल हुन्छ त्यहाँबाट पनि सिगान चुहिन्छ र कफ जस्तो खोकी आउने हो। बालबालिकामा हुने रुघापछिको दुई हप्तासम्मको खोकी मात्रै छ भने उपचार गर्न पर्दैन। यस्तोमा खोकीको औषधिले पनि काम गर्दैन। एन्टिबायोटिक दिएर पनि फाइदा छैन। यो समस्याको उपचार भनेको नाक सफा गर्ने नै हो। नाक सफा गरेपछि सिगान पातलो भएर कफ जम्ने समस्या पनि कम हुन्छ। कहिलेकाँही छाती घ्यारघ्यार भएर पनि कफ जमेजस्तो हुन्छ। यस्तो समस्यामा सास छिटो फेर्ने, सिठ्ठी बजेजस्तो सुँई सुँई आवज निस्किने समस्या देखिन्छ। यस्तो अवस्थामा भने उपचार गर्नुपर्छ।
बालबालिकाहरु सुतेको समयमा घुर्ने समस्या किन हुन्छ? यो सामान्य हो कि उपचार गर्नुपर्छ?
साना बालबालिकाको नाकको प्वालहरु पनि सानै हुन्छ। नाकको पछाडि हुने टन्सिल बढेको कारण अलिअलि घुर्नु सामान्य मान्न सकिन्छ। तर अलि ठूलो बालबालिकामा दिनमा भन्दा हप्तामा तीन रातभन्दा बढी घुर्ने, घोप्टो परेर सुत्न रुचाउने, सुत्दा मुख खोलेर सुत्ने, सुत्दा छटपटाउने, बेडमा एकदम चल्ने सास रोकेजस्तो गर्ने लक्षण छ भने असाधारण हो। यस्तो अवस्थामा भने उपचार गराउनुपर्छ। अलिअलि घुर्नु भने सामान्य हो।
बालबालिकाले मुख खोलेर सुत्नु नराम्रो हो?
बालबालिकाहरुको मुख खोलेर सुत्ने बानी भन्दापनि उनीहरुको नाक बन्द भएर सास फेर्न मुख खोलेको हुन्छन्। मुख खोलेर सुत्नु राम्रो कुरा होइन। मुख आँ गरेर सास फेर्दा बाहिरको हावा प्रत्यक्ष रुपमा फोक्सोमा पुग्छ। नाकबाट जाँदा नाकमा हुने रौंले हावा र धूलोलाई फिल्टर गर्छ। नाकमा मोइस्चर हुने भएकाले चिसो हावा छ भने तातो बनाउछ, मोइस्चर पनि दिन्छ। मुखबाट सास फेर्दा हावा फिल्टर नभइ सिधैं फोक्सोमा जान्छ। जसले बालबालिकामा खोकीको समस्या बढाउँछ। त्यसैले बालबालिकाले सधैं मुखबाट सास फेर्ने कुरा राम्रो होइन।
बच्चाले बारम्बार मुख आँ गरेर सुत्छ भने अभिभावकले के गर्ने?
बच्चाले कसरी सुतेको छ भनेर अभिभावकले ख्याल गर्नुपर्छ। कहिलेकाँही थोरै मुख खोल्नु सामान्य हो। तर पुरै मुख आँ गरेर, घुरेर सास फर्ने, सास रोकेजस्तो गर्ने, सुत्दा छट्पट गर्ने भयो भने त्यस्तो अवस्थामा जाँच गर्नुपर्छ।
बालबालिकाले हाँच्छियु गर्नु स्वाभाविक हो वा स्वास्थ्य समस्या हो?
बालबालिकाले हाँच्छियु गर्नु वा खोक्नु भनेको यो प्राकृतिक प्रक्रिया हो। केही कुरा नाकभित्र केही कुरा गयो भने बाहिर निस्किन हाँच्छियु गर्दा मद्दत पुग्छ। रुघा लाग्दा पनि हाँच्छियु आउँछ। तर सधैं हाँच्छियु भइरहने, नाक चिलाइराख्ने, नाक बन्द हुने, सास फर्ने गाह्रो हुने, राती सुत्दा मुख खुला राखेर सास फर्ने, छटपटी गर्ने पनि गर्छ भने यस्तो हाँच्छियुलाई भने सामान्य मान्न सकिँदैन। कोही बच्चाको नाक चिलाएर उसले चलाउँदा चलाउँदा नाक रातो भएको हुन्छ। यी लक्षणहरु सहितको हाँच्छियु भने सामान्य होइन। तर कहिलेकाँही हाँच्छियु हुन्छ तर अन्य समस्या छैन भने सामान्य कुरा हो।
बालबालिकालाई स्वस्थ राख्न अभिभावकहरुले कस्ता कुरामा बढी ध्यान दिन आवश्यक छ?
बच्चा हुर्काउँदा गर्न हुने र गर्न नहुने कुरा के हो भन्ने विषयमा अभिभावकहरुले ध्यान दिनुपर्छ। बच्चालाई न्यानो पारेर राख्नुपर्छ। न्यानो पार्दा पनि ध्यान दिन जरुरी छ। न्यानो पार्ने नाममा धेरै कपडा लगाएर गुम्साउन पनि हुँदैन। त्यसले बच्चालाई झनै पसिना आएर चिसो भइरहेको हुन्छ। एक दुई लेयर कपडा लगाएर बाहिर ज्याकेट लगाइदिने, मोजा पञ्जा लगाइदिने, कान छोपिने टोपी लगाइदिने। बालबालिकालाई न्यानो बनाउन बाबुनानी बस्ने कोठालाई पनि न्यानो बनाउने हो। कोठा न्यानो बनाउँदा गाउँघरमा धेरै दाउरा बालेर सबै झ्याल ढोका बन्द गर्ने चलन छ। यस्तो गर्नु भने हुँदैन। बन्द कोठामा दाउरा बालेर कोठा तताउन सबै झ्यालढोका बन्द गर्दा कार्वनमनोअक्साइड ग्यास बन्छ। त्यसले पनि बालबालिकालाई असर गर्छ। धँुवामा बालबालिकालाई राख्दा नाक सुुख्खा भएर असर गर्छ। आगोको धुँवा, व्रिकेटको धुँवा राम्रो हुँदैन। हिटर बाल्दा पनि ध्यान दिनुपर्छ। हिटरमा न्यानोपन त हुन्छ तर मोइस्चर हुँदैन। दम भएका बालबालिकाको दम झनै बढ्छ। झ्याल ढोका बन्द गरेर रातभर हिटर बाल्नु हुँदैन। एकछिन बालेर कोठा तताएर हिटर बन्द गर्नुपर्छ। एसी छ भने त्यसको तापक्रम पनि ठिक्क तातो बनाउनुपर्छ।
अर्कोकुरा जाडोको समयमा बालबालिकाहरुलाई झोल कुरा प्रशस्त खुवाउनुपर्छ। खानेकुरा खुवाइरहनुपर्छ। खानेकुरा खाइरहँदा शरीरको तापक्रम बढ्न सहयोग पुग्छ। बालबालिकाहरुलाई चिसोबाट बचाउन मद्दत पुग्छ। चिसो खानेकुरा खान नदिएको राम्रो हुन्छ। स्वास्थ्यमा अलि समस्या देखियो भने चिकित्सकसँग सम्पर्क गर्ने।
साना बालबालिकालाई रुघाखोकी लाग्दा औषधि खुवाइहाल्न हुँदैन भन्नुभयो। औषधि खुवाउन किन हुँदैन। कस्तो असर पर्छ?
रुघाखोकीको औषधिमा विभिन्न औषधिको समिश्रण हुन्छ। त्यसले मुटुलाई असर गर्ने, सुगर कम गर्ने, धेरै निद्रा लाग्ने, अल्कोहल पनि हुन्छ र त्यसैले साना बालबालिाहरुलाई खोकीको औषधिले असर गर्छ। त्यसकारण अलिअलि खोकी लाग्दैमा औषधि खाइहाल्नु हुँदैन। खोकीको उपचारमा घरेलु उपचार पनि अपनाउन सकिन्छ।
आमाको दुध मात्र खाने बालबालिकालाई आमाले खाएको खानेकुराले चिसो लाग्ने भन्ने हुन्छ वा हुँदैन?
आमाले आफ्नै स्वास्थ्य समस्याको विषयमा सचेत हुनुपर्छ। आमालाई पनि दमको समस्या होला, श्वासप्रश्वासमा समस्या हुनसक्छ, रुघाखोकी लाग्नसक्छ। त्यसैले चिसोबाट बच्न खानेकुरामा ध्यान दिनुपर्छ। तर आमाले चिसो खानेकुरा खाँदैमा उसको दुध बच्चाले खाँदा चिसो लाग्दैन।
अन्त्यमा, चिसोको समयमा कस्तो समस्या देखिए बालबालिकालाई आकस्मिक रुपमा अस्पताल लैजानु पर्छ?
जाडोको समयमा श्वास फेर्न गाह्रो हुने, कोखा हान्ने, खोकी निरन्तर लाग्यो, एकदमै छिटो छिटो सास फर्ने, बच्चा सुत्नै नसक्ने अवस्थामा भयो भने अस्पताल जानुपर्छ।