काठमाडौं- शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा १२ वर्षिय बालकको ट्रिक्सपिड भल्भ पुरै निकाली मुटुको बाहिरी खोलबाट भल्भ बनाई प्रत्यारोपण गरिएको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ ।
केही हप्ता अगाडि खुटामा चोट लागि हड्डी संक्रमण भएर उक्त संक्रमणका कारण ट्रिक्सपिड भल्भ नष्ट भएकोमा डा रविन्द्र भक्त तिमलाको टोलीले उक्त भल्भ पुरै निकाली मुटुको बाहिरतर्फ रहने खोलबाट बेलनाकार भल्भ बनाई सफल रुपमा प्रत्यारोपण गरिएको हो।
हप्तौदेखि उच्च ज्वरो र हार्ट फेलिएरका कारण थलिएका बालकलाई शल्यक्रियाको ४८ घन्टापछि वार्डमा सारिएको डा तिमालले स्वास्थ्यखबरलाई बताए। उक्त भल्भले राम्रो काम गरेको उनको भनाइ छ।
त्यसैगरी ट्रेट्रालोजी अफ फ्यालट भनिने रोगको काम नलाग्ने पल्मोनरी भल्भ निकाली मुटुकै दायाँ भागको माथिल्लो कोष्ठबाट पल्मोनरी भल्भ गरिएको अर्काे प्रत्यारोपण पनि सफल रुपमा सम्पन्न भएको अस्पतालले बताएको छ।
यी दुवै प्रकारका शल्यक्रियामा नेपालमा पहिलो पटक सम्पन्न गरिएको दाबी अस्पताल श्रोतको छ। मुटुको दायाँ भागमा देब्रे भागमा जस्तो कृत्रिम भल्म प्रत्यारोपण गर्दा धेरै प्रकारका समस्याहरु आउन सक्ने तथा बाल्य अवस्थामा कृत्रिम भल्भको साइज पनि नमिल्ने हुनाले मुटुकै खण्डबाट बनाइएको भल्भ बरदान सावित हुने डा तिमला बताउँछन् ।