काठमाडौं- कान्ति बाल अस्पतालले आकस्मिक उपचारमा लागि आएका बिरामीहरुलाई वर्गीकरण गरी सेवा दिने भएको छ। अस्पतालका निर्देशक डा पंकज रायका अनुसार आकस्मिक उपचारका लागि आएका बिरामीको उपचार नपाएर मृत्यु हुनसक्ने भन्दै अस्पतालले यस प्रणाली अनुसार सेवा दिन सुरु गरेको जानकारी दिए।
नेपाल सरकारको स्वामित्वमा रहेको एक मात्रै केन्द्रीय स्तरको बाल अस्पालका रुपमा रहेको यस अस्पतालले रेफरल सेन्टरको रुपमा सेवा दिँदै आइरहेको छ। त्यसकारण यहाँ बिरामीको अत्याधिक चाप हुने गर्छ। जाडो महिनाको तुलनामा गर्मीमा यहाँ बिरामीको अत्याधिक चाप हुने गर्छ। ओपिडी तथा इमर्जेन्सी गरी देशभरबाट करिब दैनिक हजार भन्दा बढी बालबालिकाको उपचारका कान्ति अस्पताल आउने गरेको निर्देशक डा राय बताउँछन्।
केही महिना अगाडि मात्रै कान्ति बाल अस्पतालमा इमर्जेन्सी सेवा लिन आएकी बालिकाको उपचारका लागि पालो कुर्दाकुर्दै मृत्यु भएको थियो। उक्त घटनापछि कान्ति बाल अस्पतालले इमर्जेन्सी उपचारका लागि आएका बिरामीहरुको वर्गीकरण गरि उपचार दिने व्यवस्था लागू गरेको छ। जसमा सिकिस्त अवस्थामा रहेका बिरामीलाई रेड जोन, कम सिकिस्तलाई रेड यलो तथा ओपिडीमा समेत उपचार गर्ने बिरामीलाई ग्रीन जोनमा राखी उपचार गर्न प्रारम्भ गरिसकिएको डा राय बताउँछन्।
रेड जोनमा भएका बिरामीलाई तत्कालै उपचार गर्नुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार यलोमा वर्गिकृत बिरामीलाई ४ घण्टापश्चात् उपचार दिँदा पनि फरक नपर्न सक्ने उनी बताउँछन्। ओपिडी तथा ग्रीन जोनमा वर्गीकृत बिरामीलाई ६ देखी ८ घन्टाभित्र हेर्ने गरिएको छ।