काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको कानको जटिल प्रकृतिको शल्यक्रिया कक्लिअर इम्प्लान्ट सम्पन्न भएको छ। अस्पतालका डाक्टर रबिन्द्र भक्त प्रधानाङ्गको टिमले साढे ४ घण्टा लगाएर उक्त शल्यक्रिया सम्पन्न गरेको हो।
डा प्रधानाङ्ग प्रत्यारोपण गरिएको कक्लिअर मेसिन र बिरामीको शारीरिक प्रतिक्रिया सकारात्मक रहेको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ।मन्त्री राईको बायाँ तर्फको कानको ‘सबटोटल पेट्रोसेक्टोमी संगै कोक्लियर इम्प्लान्ट गरिएको उनले बताए। यस प्रकारको शल्यक्रियालाई निकै जटिल मान्ने गरिन्छ। 'यो नेपालमै पहिलो शल्यक्रिया हो,' उनले भने।
शिक्षामन्त्री राईलाई भएको के हो?
मन्त्री राईको देब्रे कानको शल्यक्रिया गरिएको हो। उनलाई कान पाकिरहने तथा हड्डी कुहिने समस्या रहेको थियो। उनको कानको यस अगाडि नै एक पटक शल्यक्रिया गरिसकिएको थियो। शल्यक्रिया भएपनि उनको कानको सुनाई भने थिएन भने अर्काेतर्फ इन्फेक्सन पनि भइरहने समस्या उनमा थियो। त्यसैले उनको कानको सुनाई तथा इन्फेक्सन नियन्त्रण गर्नका लागि सबटोटल प्रेट्रोसेक्टोमी वीथ कक्लिअर इम्प्लान्ट नामक शल्यक्रिया गरिएको डा प्रधानाङ्गले बताए।
कक्लियर इम्प्लान्ट के हो ?
कक्लियर इम्प्लान्ट मानव कानले जस्तै सुनाईको काम गर्ने एक आधुनिक यन्त्र हो, जसको प्रयोगबाट कान पटक्कै नसुन्ने व्यक्तिलाई सुन्न सक्ने बनाउन सकिन्छ। कक्लियर इम्प्लाण्टको दुई वटा भाग हुन्छन्। एउटा भाग शल्यक्रिया गरेर कानको पछाडि छालाभित्र हड्डीमै जडान गरी तार युक्त ईलेक्ट्रोडलाई कानको भित्री भाग कक्लियामा राखिन्छ।
अर्को भागलाई स्पीच प्रोसेसर भनिन्छ, जुन छालाबाहिर रहन्छ र चुम्बकद्वारा भित्री भागसँग जोडिन्छ। बाहिर जडान गरिएको भागमा माइक्रोफोन हुन्छ जसवाट वातावरणको आवाज स्पीच प्रोसेसर सम्म पुग्दछ।
स्पीच प्रोसेसरबाट विभिन्न ध्वनि शक्तिलाई विभाजित गरी भित्र जडान गरिएको इम्प्लान्टमा रेडियोफ्रिक्वेन्सी सिग्नलवाट पठाइन्छ। यसरी आएका ध्वनी शक्ति भित्र जडान गरिएको इम्प्लान्टवाट ईलेक्ट्रीकल शक्तिमा परिणत हुन्छ। जुन कक्लियामा राखिएको ईलेक्ट्रोडसम्म पुग्दछ।
त्यहाँबाट यी विद्यूतिय सूचना कक्लियर नर्भ नामक नशा मार्फत दिमागसम्म पुग्दछ र आवाज सुनिन्छ। यसरी कक्लिएर इम्प्लान्टले कानको बिग्रिसकेको भित्री कक्लियालाई बाइपास गरी आवाजलाई दिमागसम्म पुर्याउने काम गर्छ।
के थियो शल्यक्रियाको प्रक्रिया?
यस प्रकारको शल्यक्रियामा कानभित्र इन्फेक्सन भएका सम्पूर्ण अंगहरुलाई निकालेर फ्ँयाक्ने गरिन्छ। यस क्रममा बाहिरको कान र भित्रको कानको वातावरणसँग हुने सम्पर्कलाई बन्द गर्ने गरिन्छ। त्यसपश्चात् इन्फेक्सन निकालेर खाली गरिएको ठाउँमा खुट्टाबाट एउटा बोसो निकालेर बन्द गरी कक्लिअर इम्प्लान्ट डिभाइस जडान गरिन्छ। सबटोटल प्रेट्रोसेक्टोमी वीथ कक्लिअर इम्प्लान्ट गरिएको हुनाले यस प्रकृतिको शल्यक्रिया जटिल हो।
यस प्रकारको शल्यक्रिया सम्पन्न गर्ने क्रममा सबटोटल प्रेट्रोसेक्टोमी लागि धेरै खर्च हुने गर्छ। यस्तो प्रक्रिया इन्फेक्सन विभिन्न अंगहरुमा पुगेर त्यसलाई नियन्त्रणमा लिन नसकेको अवस्थामा गर्ने गरिन्छ। यो सबटोटल प्रेट्रोसेक्टोमी तथा कक्लियर इम्प्लान्ट दुवै एकैपटक शल्यक्रिया सम्पन्न गरिएको अवस्था हो। कक्लिअर इम्प्लान्टको कुरा गर्नुपर्दा भने न्यूनतम १० लाख देखी २७ लाख सम्मको कक्लिअर इम्प्लान्ट मेसिन पाइन्छ। मुल्य अनुसार उक्त मेसिनले गर्ने काममा पनि फरक पाउन सकिन्छ। न्यूनतम १२ देखी १३ लाख सम्म क्लियर इम्प्लान्ट शल्यक्रिया सम्पन्न गर्न सकिन्छ।
भारतका सरकारी अस्पतालमा नि:शुल्क छ कक्लिअर इम्प्लान्ट शल्यक्रिया
भारतका सरकारी अस्पतालमा गरिने कक्लिअर इम्प्लान्ट शल्यक्रिया निशुल्क छन्। निजी अस्पतालको कुरा गर्नुपर्दा शल्यक्रियाको शुल्क मात्रै २ लाख भारतीय रुपैंया पर्ने गर्छ। क्लियर इम्प्लान्टको मुल्य भने अन्र्तराष्ट्रियस्तरमा नै समान हुने गर्छ। नेपाली रुपैंयालाई विदेशी पैसासँग तुलना गर्दाे नेपाललमा यस प्रकारको सेवा महँगो पर्न आएको हो।
नेपालमा कक्लियर इम्प्लान्टका लागि नेपाल सरकारले दिन्छ साढे ६ लाख
हालको व्यवस्था अनुसार कक्लियर इम्प्लान्टको प्रयोग गर्नुपर्नेले प्रतिव्यक्ति छ लाख पचास हजार रुपैया नेपाल सरकारको तर्फबाट आर्थिक सहयोग पाउँछन्।