काठमाडौं- औषधि उत्पादन तथा वितरण गर्ने मुख्य लक्ष्यका साथ सरकारी स्तरबाट स्थापना भएको नेपाल औषधि लिमिटेड लामो समयदेखि घाटामा रहेको छ। कुनै समय १ सय भन्दा बढी औषधिहरु उत्पादन गर्दै आइरहेको औषधि लिमिटेडले हाल फोलिक एसिड, जीवनजल, सिटामोल, तथा हेमाडायलाइसिसको औषधि मात्रै उत्पादन गर्दै आइरहेको छ।
सरकारी खरिद ऐन अवलम्बन गरी निजी औषधि कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्दा नेपाल औषधि लिमिटेड घाटामा गएको छ। नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुका अनुसार नेपाल औषधि लिमिटेड सरकारी स्वामित्वमा रहेको संस्था भएकोले घाटाकै अवस्थामा पनि आधारभुत औषधिहरुको उत्पादन गर्न बाध्य छ।
विगत १० वर्षदेखी सिटामोल र जीवनजलको मुल्य समायोजन हुन नसक्दा पनि घाटाको सामना गर्नुपरेको महाप्रबन्धक पनेरु बताउँछन्। कोरोना तथा डेंगुको समयमा औषधि लिमिटेडले घाटाको सामना गरेर सरकारलाई औषधि प्रदान गरेको थियो। त्यतिबेलाको सोधभर्ना समेत सरकारले औषधि लिमिटेडलाई नदिएको उनको गुनासो छ। उक्त फाइल अझै पनि स्वास्थ्य मन्त्रालयमा रहेको अवस्था छ।
हेमोडायलाइसिस् औषधिको माग बढ्दो
नेपाल औषधि लिमिटेडले नयाँ उत्पादनका रुपमा हेमोडायलाइसिसमा प्रयोग हुने औषधिको उत्पादन थालिसकेको छ। वीर अस्पताल तथा भक्तपुर डायलाइसिस् सेन्टरमा हेमाडायलयायसिस्को औषधि प्रयोगका लागि नेपाल औषधि लिमिटेडसँग सम्झौता समेत भइसकेकोे महाप्रबन्धक पनेरु बताउँछन्। यसका साथै नेपालका सातवटै प्रदेशका प्रदेश आपूर्ती कार्यालयमा यस औषधि प्रयोगका लागि सम्झौता हुँदैं गरेको अवस्था छ। खरिद गर्ने निकायको मागअनुसार हेमोडायलाइसिस् औषधिको पूर्ति नेपाल औषधि लिमिटेडले गर्ने पनेरुको दाबी छ।
'नेपाल औषधि लिमिटेडले हाल उत्पादन भएका औषधिहरुको विवरण विभिन्न प्रदेशहरुलाई हामीले पठाइसकेका अवस्था छ। त्यसैअनुरुप गण्डकी प्रदेशले औषधिको मागसहितको पत्र औषधि लिमिटेडलाई पठाइसकेको छ। बाग्मती प्रदेश स्वास्थ्य कार्यालयबाट औषधिको माग गरिएको पत्र आउने जानकारी पाएका छौं' महाप्रबन्धक पनेरुले भने, 'शसस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, गंगाालाल अस्पताल, सिभिल अस्पताल लगाएत अस्पतालहरुले नियमित रुपमा हाम्रा उत्पादनहरु खरिद गरिरहेका छन्।'
लिमिटेडले व्यावसायिक योजना बनाएर उद्योग मन्त्रालयलाई पठाइसकेको तथा उक्त योजना पास भएर स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्ने बितिकै पहिलो चरणमा २० प्रकारका र दोस्रोमा केही बढाएर ३० प्रकारका आधारभुत औषधिहरु बजारमा ल्याउने तयारी गरेको छ।
'विगतमा नेपाल औषधि लिमिटेडका ६–७ सय कर्मचारी रहेको अवस्था थियो,त्यतिबेला करिब १४० थरीका औषधिहरु समेत लिमिटेडले उत्पादन गरेको थियो। विं सं २०६४ देखि २०७४ सम्म औषधि उत्पादन नै बन्द हुन पुगेको अवस्था समेत थियो। विंसं २०७४ देखि नेपाल औषधि लिमिटेडले पुन: औषधिको उत्पादन सुरु गरेको हो' उनले भने।
हाल लिमिटेडले ९ प्रकारका औषधि उत्पादन गरिरहेकोमा थप ३ किसिमका औषधि उत्पादनका लागि सबै प्रक्रिया पुरा गरिसकेको अवस्था छ।गुणस्तरीय औषधि खरिदका लागि सरकार जीटुजी प्रक्रियामा गएर औषधि लिमिटेडलाई सहयोग गर्नुपर्ने महाप्रबन्धक पनेरु बताउँछन्। सरकारी मातहतमा रहेको सम्पूर्ण औषधिको खरिद प्रक्रिया सरकारले नेपाल औषधि लिमिटेडमार्फत् गर्नुपर्ने उनी बताउँछन्।