काठमाडौं – रुकुमपूर्व सिस्ने गाउँपालिका–१, भट्टेचौरकी २५ वर्षीया सपना बुढालाई सुत्केरी ब्यथाले च्यापेपछि आफन्तले स्थानीय स्वास्थ्य संस्थामा पु¥याए। गत साउन १९ गते शुक्रबार सुत्केरी ब्यथाले च्यापेकी बुढालाई स्वास्थ्य चौकीका प्रमुख अहेव काशिराम ओलीले थप उपचारका लागि अस्पताल लैजान सुझाए। आफन्तले साउन २० गते शनिबार बिहान हेलिकोप्टरमार्फत बुढालाई सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल लगे।
तर, अस्पतालमा पुगेको केही समयपछि नै उनको मृत्यु भयो। सुत्केरीका क्रममा धेरै नै रक्तश्राव हुँदा बुढाको मृत्यु भएको प्रादेशिक अस्पतालले जानकारी दिएको छ। बुढासँगै नवजात शिशुको पनि उपचारका क्रममा मृत्यु भएको थियो। सुत्केरीका क्रममा अत्यधिक रक्तश्राव भएकी बुढालाई अस्पताल ल्याउन ढिलो हुँदा मृत्यु भएको थियो भने शिशुको पनि समयमा नै अस्पताल नल्याउँदा संक्रमण लगायतका कारणले मृत्यु भएको थियो।
डोटीको केआई सिंह गाउँपालिका– ४ वायलकी २९ वर्षीया नारु कार्कीको पनि सुत्केरी भएको दुई दिनपछि मृत्यु भएको थियो। उनको सिलगढी नगरपालिकामा रहेको सुजङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
सरकारी तथ्यांकमा नै उल्लेख भएका यी दुई सुत्केरी जस्तै नेपालमा एक लाख जीवित शिशुको जन्म हुँदा १५१ आमाको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ। नेपालमा विगतका वर्षको तुलनामा हेर्दा मातृ मृत्युमा सुधार हुँदै गइरहेको देखिन्छ। तर सुधारको गति भने सुस्त देखिएको विज्ञहरुको भनाइ छ। अहिलेकै गति र काम अनुसार जाने हो भने नेपालले सन् २०३० भित्रमा लिएको लक्ष्य पूरा गर्न निकै चुनौती रहेको विज्ञहरु बताउँछन्।
दिगो विकास लक्ष्यले कुनै पनि देशमा मातृ मृत्यु अनुपात विश्वव्यापी औसतको दोब्बरभन्दा बढी नहुने गरी प्रतिलाख जीवित जन्ममा ७० भन्दा कममा घटाउने लक्ष्य राखेको छ। विश्वव्यापी लक्ष्य अनुरूप नेपालले पनि २०३० सम्ममा प्रति एक लाख जीवित जन्ममा मातृ मृत्यु ७० पु¥याउने प्रतिबद्धता जनाएको छ।
स्वास्थ्य क्षेत्रका विज्ञहरु जस्तै मन्त्रालय मातहतको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकलाल कर्ण पनि उक्त लक्ष्य हासिल गर्न चुनौती रहेको स्वीकार्छन्। ‘समयको हिसाबले हेर्दा हामीसँग कम समय छ। अबको ७ वर्षमा अहिले १५१ रहेको आमाको मृत्युदरलाई ७० मा झार्नु भनेको ठूलो चुनौती हो,’ उनले भने, ‘हामीले यसका लागि धेरै मिहिनेत गर्नुपर्ने र नयाँ सोचका साथ काम अगाडि बढाउनु पर्ने देखिएको छ। यसका लागि हामीले विज्ञहरुसँग छलफल गरेर योजनाहरु बनाइरहेका छौं।’
सन् २०१६ मा सार्वजनिक भएको जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण अनुसार नेपालमा प्रति एक लाख जीवित जन्ममा २३९ जना आमाको मृत्यु हुने गरेको थियो। राष्ट्रिय जनगणना २०७८ सँगै नेपालमा पहिलो पटक मातृ मृत्युसम्बन्धी अध्ययन भएको थियो। उक्त अध्ययनले नेपालमा एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु देखाएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरूको संयुक्त प्रयासमा नेपालमै पहिलो पटक राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन गरिएको हो।
गर्भास्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर भनिन्छ। नेपालमा सन् १९९६ मा प्रति एक लाख जीवित जन्ममा मातृ मृत्यु ५३९ थियो। सन् २००६ मातृ मृत्युमा सुधार हुँदै २८१ मा आएको थियो। सन् २०१६ मा २३९ र जनगणनासँगै सार्वजनिक तथ्यांकले उक्त अवस्थामा सुधार हुँदै १५१ देखाएको छ।
जनगणनाका क्रममा गणकहरुले कुनै घर–परिवारमा एक वर्ष भित्रमा कुनै महिलाको प्रसूतिको समयमा मृत्यु भएको छ वा छैन भनी अध्ययन गरेका थिए। यदि कुनै घरमा महिलाको मृत्यु भएको छ भन्ने यकिन भएमा गणकहरुले स्थानीय स्वास्थ्यकर्मीलाई जानकारी गराउनेछन्। त्यसपछि स्वास्थ्यकर्मीले मातृ मृत्यु भएको घरमा पुगेर ‘भर्वल अटप्सी’ प्रश्नावली भरेका थिए। मातृ मृत्युको अध्ययनका क्रममा प्रजनन उमेर समूह (१५–४९ वर्ष) मा मृत्यु भएका कुल १२ हजार ९७६ महिलामध्ये ६५३ अर्थात् पाँच प्रतिशत महिलाको मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको देखाएको छ। प्रजनन उमेरका महिलाहरुको मृत्युमध्ये करिब १२ प्रतिशत महिलाको मृत्युको कारण मातृ मृत्यु रहेको पाइन्छ।
कुन प्रदेशमा कति आमाको मृत्यु ?
जनगणनाको प्रतिवेदन अनुसार देशभरमा प्रति एक लाख जीवित जन्ममा १५१ मातृ मृत्यु रहे पनि सबैभन्दा बढी लुम्बिनी प्रदेशमा अझै पनि २०७ आमाको मृत्यु भएको छ। त्यसपछि कर्णाली प्रदेशमा १७२, गण्डकीमा १६१, कोशी प्रदेशमा १५७, मधेश प्रदेशमा १४०, सुदूरपश्चिम प्रदेशमा १३० र बागमती प्रदेशमा ९८ आमाहरुको मृत्यु भएको छ।
प्रतिवेदन अनुसार अध्ययनका क्रममा गर्भावस्थासँग सम्बन्धित ६५३ मृत्युमध्ये ९५ प्रतिशत ६२२ मातृ मृत्यु रहेको छ। प्रजनन उमेरका महिलाको मृत्युमध्ये मातृ मृत्युको समग्र अनुपात ४.८ प्रतिशत रहेको छ। मातृ मृत्यु भएका महिलाहरूमध्ये ३३ प्रतिशत महिलाको मृत्यु गर्भावस्थामा, ६ प्रतिशतको प्रसव अवस्थामा र ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा भएको पाइएको छ।
गर्भावस्थासँग सम्बन्धित ६५३ मृत्युमध्ये ९५ प्रतिशत (६२२) मातृ मृत्यु रहेको छ। प्रजनन उमेरका महिलाको मृत्युमध्ये मातृ मृत्युको समग्र अनुपात ४.८ प्रतिशत रहेको छ। मातृ मृत्यु भएका महिलामध्ये १० प्रतिशतको मृत्यु किशोरावस्था (१५–१९ वर्ष) मा भएको छ।
अधिकांश (५७ प्रतिशत) महिलाको मृत्यु स्वास्थ्य संस्थामा र २६ प्रतिशत महिलाको मृत्यु घरमा भएको पाइएको छ। सुत्केरी अवस्थामा मृत्यु भएका महिलामध्ये २७ प्रतिशतामा अत्यधिक रक्तस्राव, २३ प्रतिशतमा रिँगटा लाग्ने÷बेहोस वा अचेत हुने तथा १२ प्रतिशत महिलामा काम्ने समस्या भएको पाइयो। मृत्यु भएकामध्ये अधिकांश (८३ प्रतिशत) महिला÷परिवारले मृत्यु हुनुपूर्व स्वास्थ्य सेवा लिनका लागि कुनै न कुनै स्वास्थ्य संस्थामा उपचार लिन खोजेको अध्ययनका क्रममा फेला परेको छ।
मातृ मृत्युका कारण
प्रतिवेदन अनुसार मातृ मृत्युका प्रमुख कारणहरूमा गैरप्रसूतिजन्य जटिलता (अप्रत्यक्ष कारण) (३२ प्रतिशत), प्रसूतिको बेलामा हुने उच्च रक्तस्राव (२६ प्रतिशत) र उच्च रक्तचापजन्य समस्या (१२ प्रतिशत) रहेको पाइएको छ। पाँच प्रतिशत मृत्यु गर्भपतनका कारणले भएको पाइयो। गर्भावस्थामा मृत्यु भएका महिलाहरूको मृत्युको प्रमुख कारणहरूमा गैरप्रसूतिजन्य जटिलता (४० प्रतिशत), प्रसूतिसँग असम्बन्धित कारण (१७ प्रतिशत) र रक्तचापको समस्या (१४ प्रतिशत) रहेको पाइयो।
प्रसवको समयमा मृत्यु भएका महिलाहरूमध्ये तीन चौथाइभन्दा बढी (७८ प्रतिशत) को मृत्यु प्रसूति रक्तस्रावका कारण भएको पाइयो। सुत्केरी अवस्थामा मृत्यु भएका महिलामध्ये ३१ प्रतिशतको मृत्युको कारण प्रसूति अवस्थाको रक्तस्राव र यति नै (३१ प्रतिशत) महिलाको मृत्युको कारण गैरप्रसूति जटिलता रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
नेपालमा पहिलो पटक भएको मातृ मृत्युसम्बन्धी अध्ययनले नेपालमा अझै पनि धेरै मातृ मृत्यु गर्भावस्थाको समयमा रक्तस्राव र उच्च रक्तचापजस्ता रोकथाम गर्न सकिने कारणले हुने देखाएको छ भने उल्लेख्य मृत्यु आत्महत्या जस्ता गैरप्रसूतिजन्य जटिलताले पनि भएको देखिन्छ। स्वास्थ्य संस्थामा मातृ स्वास्थ्य सेवाको गुणस्तर र रेफरल संयन्त्रमा सुधार, आपतकालीन यातायात व्यवस्थापन र खतराका संकेतहरूको समयमै जाँच गर्ने व्यवस्थालाई बलियो बनाउनु पर्ने सुझाव प्रतिवेदनमा दिइएको छ।
सात वर्ष भित्र ७० मा झार्न कति सम्भव?
मातृ मृत्युलाई अबको सात वर्ष भित्र ७० मा झार्न धेरै नै मिहिनेत गर्नुपर्ने अवस्था रहेको विज्ञहरु बताउँछन्। स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा पदमबहादुर चन्द विगतको तुलनामा अब लक्ष्य भेट्न धेरै विषयमा नयाँ ढंगले सोच्दै प्रणालीगत सुधार गर्न आवश्यक रहेको बताउँछन्।
‘विगतमा स्वास्थ्य संस्थाको पहुँचमा नागरिक थिएनन्। स्वास्थ्य संस्थाको संख्या बढाउँदै पहुँच विस्तार गर्दा धेरै मात्रामा उपलब्धि हासिल भएका थिए,’ उनले भने, ‘तर पहुँच बढाउँदैमा मात्र लक्ष्य हासिल गर्न सम्भव छैन। अब भौगोलिक क्षेत्र र जनसंख्याका आधारमा समस्याहरु केलाउँदै परम्परागत कार्यक्रमहरुका साथै नयाँ कार्यक्रमहरु ल्याउन आवश्यक छ।’
पूर्व स्वास्थ्य सचिव डा किरण रेग्मी पनि परम्परागत काम गर्ने शैली र प्रणालीमा सुधार ल्याउन सकेमा मात्र मातृ स्वास्थ्यका क्षेत्रमा लक्ष्य भेट्टाउन सहज हुने बताउँछिन्। ‘बजेट, जनशक्तिको पर्याप्त व्यवस्थादेखि काम गर्ने शैली र तौर तरिका नै फरक हुनुपर्छ,’ उनले भनिन्, ‘संघीय संरचना अनुसार स्थानीय तह र प्रदेशसँगको समन्वय बलियो बनाउँदै गयो भने धेरै काम हुन्छ जस्तो लाग्छ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावल मातृ मृत्युको अवस्था सुधार गर्न कर्णालीमा बढी प्राथमिकता दिनुपर्नेमा जोड दिन्छन्। ‘कर्णालीमा अहिले पनि मातृ मृत्युको अवस्था राष्ट्रियस्तरमा भन्दा निकै बढी छ। एक लाख जीवित जन्ममा कर्णालीका एक सय ७० आमाको मृत्यु हुन्छ,’ उनले भने, ‘त्यस कारण कर्णालीको अवस्था सुधार नगरी समग्र राष्ट्रको अवस्थामा सुधार आउँदैन। अब कार्यक्रम बनाउँदा सबैतिर एकै खालको भन्दा पनि भौगोलिक क्षेत्रको आवश्यकता र मृत्युको कारण पहिचान गरेर कार्यक्रम बनाउनु पर्ने हुन्छ।’
उनका अनुसार धेरै स्थानमा अझै पनि स्वास्थ्य संस्थामा नपुग्दै बाटोमै आमाहरुको मृत्यु भइरहेको अवस्था छ। ‘कतै स्वास्थ्य संस्थामा नै नपुगी आमाहरुको मृत्यु भइरहेको छ भने कतै स्वास्थ्य संस्था भित्रै पुगेर पनि मृत्यु भइरहेको अवस्था छ,’ उनले भने, ‘अब यी कारणहरु पहिल्याउँदै समस्या समाधान गर्दै जान आवश्यक छ। पुरानै ढर्राबाट गएर लक्ष्य हासिल सम्भव हुँदैन।’
खोटाङको रावावेशी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ अहिलेकै बजेट, जनशक्ति र संरचनाले लक्ष्य हासिल गर्न सम्भव नहुने बताउँछन्।