काठमाडौं- बिना जानकारी सेवाबाट हटाइएको भन्दै वीर अस्पतालमा कार्यरत करारका कर्मचारी आन्दोलनमा उत्रिएका छन्।
कोरोना महामारीको समयमा अस्पतालले विभिन्न विभागमा करारमा कर्मचारी नियुक्त गरेको थियो। त्यतिबेला ६ महिनाको करारका लागि भन्दै डाक्टर, नर्स, पारामेडिक्ससहित जम्मा २७५ जनालाई करार नियुक्ति दिइए पनि उनीहरुको नियुक्ति थप गरिदैं लगिएको थियो।
कोरोना महामारीका समयमा नयाँ सर्जिकल भवनबाट करारकै कर्मचारीको भरमा सेवा सुरु गरिएको वीर अस्पतालको यूरोलोजी विभागमा कार्यरत नर्स एलिसा फुयाँल बताउँछिन्। गत साउनसम्म सम्झौता रिन्यू भइरहेकोमा हाल बिना जानकारी रिन्यू नभएको उनको गुनासो छ।
सम्झौता रिन्यूका बारेमा प्रशासनसँग जिज्ञासा राख्दा रिन्यू हुने आश्वासन पाए पनि बिना जानकारी आकस्मिक रुपमा आफुहरुलाई सेवाबाट हटाउने जानकारी दिइएको र यसबारेमा प्रशासनसँग सोधपुछ गर्दाे अर्थ मन्त्रालयले बजेट विनियोजन गर्न नसक्ने बताएपछि निकालेको प्रतिक्रिया पाएको फुयाँल बताउँछिन्।
उनका अनुसार करारका कर्मचारी निकाल्ने निर्णयसँगै कर्मचारीहरु आन्दोलित्त हुने अवस्था आएपछि वीर अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको छ। करार कर्मचारीले धानेको आइसियू तथा आकस्मिक सेवा समेत बन्द हुने स्थितीमा पुगिसकेको छ। आकस्मिक कक्षका मात्रै १९ जना करार चिकित्सकहरु कामबाट निकालिँदा सेवा प्रभावित भएको उनको दाबी छ।
कोरोना महामारीको समयको भत्ता, साउनदेखिको तलब समेत नदिई दशैंको मुखमा बिना जानकारी हटाउने वीर प्रशासनविरुद्ध संघर्ष गर्दै स्वास्थ्य तथा अर्थमन्त्रालयसम्म जाने तयारी रहेको अस्पतालमा मेन्टिनेन्स विभागको करारमा कार्यरत राजेश कुमार ठाकुर बताउँछन्। मेन्टिनेन्सका कर्मचारीको दरबन्दी हुँदाहुँदै पनि सोर्स फोर्सका आधारमा कर्मचारी राख्नका लागि आफुलाई निकालिएको ठाकुरले बताए।
स्वास्थ्य मन्त्रालयले करारका कर्मचारीहरुलाई तलब खुवाउन नसक्ने बताएपछि स्वास्थ्यमन्त्रीकै निर्देशन बमोजिम कोरोना महामारीको समयमा नियुक्ति गरिएका २७५ कर्मचारीहरुलाई हटाउने निर्णय गरेको वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बताउँछन्।
स्वास्थ्य मन्त्रालयको निर्देशन पश्चात् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषद्ले उक्त निर्णय गरेको हो।
'सर्जिकल भवन चलाउनका लागि भर्ना गरिएका सबै प्रकारका जनशक्तिलाई बिना भेदभाव हटाइएको हो', उनले भने 'यद्यपि उक्त जनशक्तिका लागि आवश्यक बजेट व्यवस्थापन गर्नका लागि हामीले अर्थ तथा स्वास्थ्य मन्त्रालयसँग पहल भने गरिरहेका छौं, त्यसो भएमा पुर्ननियुक्ति हुन सक्छ।'
'करारका कर्मचारीहरुलाई निकाल्नुपर्दाे त्यसको असर वीरले दिने स्वास्थ्य सेवामा अवश्य नै परेको छ, आकस्मिक कक्ष, आइसियू तथा रेडियोलोजी विभागमा दक्ष जनशक्तिको अभाव रहेको अवस्थामा समेत बजेट व्यवस्थापन हुन नसक्दा कर्मचारी निकाल्नुपरेको हो' निर्देशक पौडेलले भने।