स्वास्थ्य बीमा स्वयं अरुलाई स्वस्थ राख्ने कार्यमा दत्तचित्त रहने भएकाले हत्तपत्त उसको 'आफ्नै स्वास्थ्य कस्तो छ?' भनी सोध्दा गाल पर्ला भनेर सोध्ने आँट गरेको थिइनँ। उसै पनि सिकर्मीको घरको भर्याङ कस्तो छ भनेर कसले सोध्ला र?
यदाकदा स्वास्थ्य बीमालाई सन्चो छैन रे, थलै पर्या छ रे! जस्ता गाइँगुइँ सुनिन थालेपछि मलाई पनि कहिले भेटौं र उसको स्वास्थ्य स्थितिबारे खुल्दुली मेटौझैँ भइरहेकै थियो। 'ओहो स्वास्थ्य बीमा कार्यक्रमज्यू, तपाईंलाई कस्तो छ अचेल?' प्रश्न पूरा खस्न पनि पाएको थिएन, फुत्तै उत्तर आयो, 'खै, के सन्चो भन्नु, के बिसन्चो भन्नु! सन्चो छैन भनौं भने रात-दिन जुधेकै छु, जताततै कुदेकै छु। सन्चो छ भनौं भने 'यतै दुखे जस्तो, त्यतै दुखे जस्तो!' खै के, खै के?
सतहत्तरै जिल्लामा पुगिसकेको, लाखौं-लाखलाई आफ्नो प्रभावको कार्पेट बिच्छ्याइसकेको अवस्थामा पनि यस्तो दिक्दारी मान्न मिल्ला र भन्या? म आश्चर्य मिश्रित प्रतिक्रिया जनाउन पुग्छु। 'हो हुन त' उताबाट केही अर्ध स्वीकारोक्ति आउँछ, त्यो पनि मनै अमिलो पारेर बोलेझैं गरी। अनि, स्वास्थ्य बीमाकै कारण थुप्रैले चुनाव जिते रे, अनि स्वास्थ्य बीमा लान नपाएकै कारण कतिलाई बडो तनाव छ रे। तपाईंको ताकत त गज्जबकै छ रे भन्छन त! म आदरका साथ केही फुर्क्याउन खोज्छु, दिक्क मान्नु पर्ने कारण खास्सै नभएझैँ महसुस गराउने गरी। उसो त यही सोधेर मलाई उसको मन चोर्नु पनि थियो।
जुन-जुन अस्पतालमा तपाईं हुनुहुन्छ, त्यो-त्यो अस्पतालमा बिरामीको ओइरो लाग्छ रे, अनि तपाईं नहुँदा अस्पताल सुनसान हुन्छन रे नि! अझ तपाईं त्यहाँबाट भाग्नुभयो भने त जंगल लगत्तैको मरुभूमि जस्तो हुन्छ रे नि! यस्तो हुँदाहुँदै पनि बिसन्चो मान्न मिल्छ र भन्या? तपाईंलाई जन्म मैले दिएको भन्ने नै कति हुन् कति? सात वर्षको उमेरमा यतिका धेरै तहल्का पिटेको स्थितिमा पनि के दिक्क मानेको यस्तो? अरु देशका तपाईंकै साथीहरु त्यति धेरै उमेरका भइसक्दा त कति धेरै अपरिपक्व छन्, तपाईंलाई के को यति धेरै चिन्ता? म शुभेच्छुक भावमा पुन: काउन्सेलिङ गरिनै रहन्छु। उताबाट भने एउटै उत्तर तारन्तार फुत्किन्छ 'हो हुन त'।
खिन्न मनको इपिसेन्टरबाट निरन्तरको खल्लो उत्तरको वर्षा भइरहेपछि भने केही समय म पनि चुपचाप रहें। उता लामो सुस्केरा हाल्दै स्वास्थ्य बीमाले तरक्क दुई थोपा आँसु चुहाउँदै केही भँडास फुकाउने छनक देखायो। मैले पनि अंग्रेजीमा भनिदिएँ, 'टेक योर टाइम, गो अहेड'। लाग्न थाल्यो, अब भने प्रेसर कुकरको सिठ्ठी लाग्नेवाला छ। म डायरी र कलम लिएर तम्तयार भएँ, केही छुट्छ कि भनेर मोबाइलको अडियो रेकर्ड पनि थिच्न ठिक्क पारें, 'तपाईं आफूलाई मनमा लागेको सप्पै भन्नुहोस्।'
पहिलो सिठ्ठी लाग्यो यसरी- 'मुख्य कुरो त आजसम्म मेरो मनको कुरो बुझिदिने पनि खास्सै कोही भेटिनँ। त्यसैले आज भने पूरापुर बक्नेछु।' सिठ्ठी लाग्दै गयो- 'म जन्मिएदेखि नै एक जमात मेरो हुर्काइमा नै ध्यान दिन्थे भने अर्को एकथरी सुरुमै यसलाई निमोठौ भन्थे। कतिलाई लागेछ कि मैले अस्पतालको अपारदर्शिता खोस्छु, कतिलाई लागेछ बिरामी जति मै भएतिर सोस्छु। कतिलाई लागेछ- लौ न अब त सिस्टम सेट हुनेभयो, अझ कतिलाई लागेछ- मेरो जागिर नै चेट हुनेभयो। देश खत्तम भयो भन्ने राग अलाप्ने, नेतालाई सराप्ने अनि आफू चाहिँ मजस्तो राम्रै गरौं भन्नेलाई नानाभाँती फलाक्ने।
हुन त म पनि सबै कुरोले पूर्ण छैन भन्ने थाहा छ। र, पनि, मेरो हुर्मत नै लिनुपर्ने गरी मैले कसैको केही बिगारेको चै थिइनँ है। हो, मेरो सेवा लिन सास्ती भयो, एउटा अस्पतालमा आइसकेपछि फेरि गाउँ फर्किएर पुर्जी र रेफरल लिएर आउनु भन्नु पर्यो। स्वीकार्छु, मैले भनेको जति सेवा र औषधि पुर्याउन सकिनँ, कति पैसा सिध्दियो र कति बाँकी छ भन्ने हेक्का दिन सकिनँ, समयमै आवश्यक सामानको ठेक्का दिन सकिनँ।
आत्मालोचना गर्छु- सेवा भएको हस्पिटलमा म पुग्न सकिनँ, म पुगेको हस्पिटलमा सेवा पुग्न सकेन। सेवा दिनेलाई पैसा तिर्न सकिनँ, पैसा तिरेकालाई तिर्नुपर्ने तिरे कि उरल-धुरल तिरे, कुन आधारमा तिरे भन्न सकिनँ। टाठा-बाठा अस्पतालले कति कुम्ल्याए, थाहै भएन। जनताको पैसा बटुलेर उता बाध्य सरकारी अस्पतालको पैसा रोकी-रोकी भकारी रित्याइदिने, केही निजीले भने कागज मिलाई-मिलाई मेरो ढुकुटी छिनभरमै बुत्याइदिने गलत अभ्यास गर्दा समेत म निरीह बनेर टुलुटुलु हेर्न बाध्य भएकै हुँ। झट्ट हेर्दा लाचारी देखाएजस्तो लागे पनि टर्रो वास्तविकता यही नै हो।
यही बीचमा फेरि 'स्वास्थ्य बीमाजी' सुक्क-सुक्क गर्न थाले। एकछिन रोकिएर मैले भनें, 'दिक्क मानेर मात्र कसको भलो होला र?' अब यस्ता घोच-पेचका कुरा छोडौं। अरु देशले सक्ने हाम्रै देशले तपाईं जस्तोलाई हेरचाह गर्न नसक्ने भन्ने कसरी सम्भव छ र? मैले उसको मनको च्यानल नम्बर नै बदलिदिने र आशावादी माहोल बनाउनेतिर 'यु टर्न' मारें। ल स्वास्थ्य बीमाज्यू, उसो भए तपाईंलाई के पुग्यो, के पुगेन? कस्तो खुराक खुवाउनु पर्यो, ल भन्नूस्। सत्य-सत्य बोल्नूस्।
निभेको बल्ब एक्कासि पच्चीस वाट हुँदै पाँच सय वाटमा पुगेर झलल बलेजस्तो मुहार लगाउँदै स्वास्थ्य बीमा भन्न थाल्यो, 'मलाई गज्जबसँग हुर्काउने हो भने मैले भनेको जस्तो यत्ति काम गर्न सरोकारवाला सबैलाई भन्नूस्। पहिलो कुरो त मैले सबैलाई भलो गर्छु भने मेरो कुभलो गर्ने वातावरण नै बन्नुहुन्न भनेर वकालत गर्नूस्। दोस्रो कुरो, अरु देशमा भएका मेरा सहकर्मीहरुलाई त्यही विषयका विज्ञहरुले ज्ञान र विज्ञानले सिँच्दै, सरोकारवाला र सरकारवालाको ध्यान खिच्दै, रिसर्चको अमृत पिलाउँदै, नमिलेको कुरा मिलाउँदै हुर्काएका हुन्।
नेपाल जस्तो देशमा मात्रै होला बुझ्नेहरुले बोल्दैनन् र बोल्नेहरूले बुझ्दैनन्। बिन्ती छ, बोल्नेलाई बुझेर बोल्न भनिदिनूस्। अर्को कुरा, अस्पतालले के सेवा दिएर त्यति बिल उठेको हो भन्ने थाहा पाउन 'डिजिटल सफ्टवेयर अर्थात् इलेक्ट्रोनिक मेडिकल रेकर्ड' हाल्नैपर्ने बनाउनका लागि मनाउनूस्। र, त्यो सिस्टमलाई मेरो सफ्टवेयरमा सिधा जोड्न अनि फाइलका पहाड बनाउन छोड्न भन्नूस्। जता पनि सफ्टवेयर चल्ने जमानामा मलाई पाएर अलि हेपेकै जस्तो लाग्यो। मलाई राम्रो गर्छु भनी अगाडि बढेको विदेशीले पनि आफ्नो देशको गज्जबको सिस्टम नदिएर मलाई भने पेलेर खोई कुन चाहिँ अफ्रिकन देशको सफ्टवेयर भिडाएको छ, पीडा त धेरै झन् यसमा छ।
मैले जम्मा पारेको डेटा कता पुगेको छ? कसैलाई अत्तोपत्तो छैन। अहिलेको जमानामा डेटा यति धेरै काम लाग्छ कि त्यसैबाट विश्लेषण हुन्छ, त्यसैबाट इभिडेन्स निस्किन्छ र एआई जन्मिन्छ। तर, म निरीह छु। अझ उनैका भनाइ चर्का छन्।
अर्को कुरा, मेरो, अस्पताल र बिमितबीच बोलचाल सीमित नगरेर कुरा मिलाइदिन, ह्याण्डसेक गराइदिन, दाबी भुक्तानी स्वचालित ढंगले सजिलै भराइदिन 'तेस्रो पक्ष सहजकर्ता अर्थात टीपीए' राख्न भन्नूस्। हेर्नूस्, जुन-जुन देशको स्वास्थ्य बीमा बलियो बनेको छ, यसको दरिलो भूमिका देखिएको छ। प्रधानमन्त्री, मन्त्री, सचिव सबैलाई सुनाइदिनूस् कि बीमा बुझेका र बुझ्न सक्ने मान्छे कोरिया पठाएर 'हेल्थ इन्स्योरेन्स रिभ्यु अथरिटी अर्थात् हिरा' भन्ने संस्था हेर्नुहोला। पचास करोडभन्दा धेरै बिमित रहेको इण्डियामै त्यस्ता संस्था दर्जनौं छन् जो चौबीसै घण्टा अस्पताल खोज्न र रोज्न, अस्पताललाई प्यानलमा लिन, इण्टिग्रेटेड सफ्टवेयर दिन, 'कलर जोन' मिलाई मिलाई दाबीलाई दूधको दूध, पानीको पानी पार्न हरदम वाचडगझैँ काम गरिरहन्छन्।
ढुकुटीको चाबी र सत्य दाबीबीच सन्तुलन मिलाउन, फेक दाबीलाई अटोमेटिक सिस्टमले छानेर चक्मा दिलाउन त्यस्ता 'टीपीए' निरन्तर खट्टिरहेका छन्। तब न त्यताको मेरो साथी 'आयुष्मान भारत' लाई हाइसन्चो छ नि। अर्को एउटा कुरा, प्रथम सेवा बिन्दुका नाममा पटके 'गाउँ फर्क' लगाएर दु:ख दिन छोड्न भन्नूस्, दिन्छु भनेको औषधि अस्पतालकै फार्मेसीमा जोड्न भन्नूस्। एक अस्पताल र अर्को अस्पतालबीच एक ब्याङ्क र अर्को ब्याङ्कले अटोमेटिक साउती गरेझैं गर्ने गरी प्रविधि मिलाएर अघि बढ्न भन्नूस्, अनि स्वत: म राम्रोसँग अघि बढ्न सक्छु।
मेरो त रहर छ सांसदहरुले मेरो मनको बह बुझून्, गहकिलो कुरो उक्काएर मलाई सबैमाझ चहकिलो बनाइदिउन्। त्यस्तै, नीति र राजनीतिमा खट्टिनेले मेरो अन्तरंग बुझून्, कुरो मिलाइदिऊन् र ममा निख्खार भाव दिलाइदिऊन्। तालिम चलाउने, थिङ्क-ट्याङ्क बनाउने, संवाद शृंखला चलाउने, विवाद शृंखला रोक्ने, सेवा शुल्क वैज्ञानिक तवरले तोक्ने, जस-अपजस सबैले बराबर बोक्ने गरेमा म यति छिटो हुर्कन्थें-बढ्थे कि मेरो वृद्धि-विकास हेर्न भिसा लिई-लिई, भाषा मिलाई-मिलाई अरु देशबाट समेत नेपाल आउँथे होलान्। मनको बह फुकेर होला, स्वास्थ्य बीमाले उज्यालो अनुहार लगायो। म पनि थप उज्यालो भएँ। यत्तिकैमा उता पनि उज्यालो भएछ। म ब्युँझिएछु, यो सोच्दै कि यो सपना बिपना बनोस् अर्थात् स्वास्थ्य बीमा स्वस्थ होस्।
(स्वास्थ्य बीमा प्रबर्द्धन अभियान्ता समेत रहेका डा प्याकुरेल स्वास्थ्यखबरका मेडिकल एडिटर हुन्।)