काठमाडौं– साउन २३ गते महिनावारी बार्न गोठमा सुतेकी बैतडीकी १६ वर्षीया एक किशोरीलाई सर्पले टोक्यो। सर्पले टोकेपछि उनका परिवार गाउँमै रहेका वैद्य बोलाउन गए। समयमै अस्पताल नपुर्याउँदा उनको घरमै मृत्यु भयो।
साउन २२ गते सर्लाहीका १२ वर्षीय एक बालकको पनि सर्पकै टोकाइबाट मृत्यु भयो। राति सुतेको अवस्थामा सर्पले टोकेपछि परिवारले नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा लगे।
बालकलाई कृत्रिम श्वासप्रश्वास गराउनुपर्ने अवस्था थियो। तर उपचार केन्द्रमा आईसीयू नहुँदा ती बालकलाई जनकपुर रेफर गरियो। बालकको उपचारकै क्रममा मृत्यु भयो।
साउन पहिला साता नै दाङमा पनि सर्पको टोकाइबाट दुई जनाको मृत्यु भयो। सर्पको टोकाइबाट १६ वर्षीया एक किशोरको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो। ती किशोरलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठान लगिएको थियो।
दाङकै ५० वर्षीया अर्का पुरुषलाई पनि घरभित्रै सर्पले टोकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो। ती पुरुषको पनि उपचारकै क्रममा मृत्यु भयो।
पछिल्लो समयमा सर्पको टोकाइबाट मानिसको मृत्यु भएको खबर नियमित जस्तै आउने गरेको छ। मनसुनको समयमा सर्पको टोकाइ बढेसँगै मानिसको मृत्यु भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८० मा सर्पदंशको समस्यालाई मनसुनको अवधिमा देखिने रोगहरुको प्रकोपको रुपमा पनि समावेश गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता एवं स्वस्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईका प्रमुख डा समिरकुमार अधिकारी मनसुनको समयमा देखिने रोग तथा समस्यामध्ये सर्पदंश पनि एक प्रमुख समस्या भएको बताउँछन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार वर्षेनी सर्पदंशको घटना बढेको देखिन्छ। महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ मा सर्पदंशका ५ हजार १४३ केस थिए। तीमध्ये ४ हजार १४५ ननपोइजनस र ९९८ वटा पोइजनस केसहरु थिए।
आर्थिक वर्ष २०७८/७९ मा ९ हजार ३४६ वटा सर्पदंशका घटना भएको छ। तीमध्ये ८ हजार ४२० वटा ननपोइजनस केस छन् भने ९२६ वटा पोइजनस केसहरु रहेका छन्।
यो विवरण सर्पको टोकाइपछि उपचारका लागि अस्पतालमा पुगेका बिरामीको मात्र तथ्यांक भएको डा अधिकारीले जानकारी दिए।
सर्पको टोकाइबाट उपचारका लागि पुग्ने घाइते मध्ये पोइजनस केसमा १० प्रतिशतको उपचारकै क्रममा मृत्यु हुने गरेको डा अधिकारीको भनाइ छ।
उनले भने, ‘पोइजनस मध्ये १० प्रतिशतको मृत्यु हुने विभिन्न सर्भेक्षणबाट देखिएको छ।’
स्वास्थ्य मन्त्रालयको ९ वर्षको तथ्यांक यस्तो छ
सर्पदंशको विषयमा भएका विभिन्न अध्ययनहरुमा नेपालमा वर्षेनी २० हजार मानिसलाई सर्पले टोक्ने गरेको र तीमध्ये एक हजार जनाको मृत्यु हुने उल्लेख छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सन् २०१९ मा नेसनल गाइडलाइन फर स्नेकबाइट म्यानेजमेन्ट इन नेपाल भनेर राष्ट्रिय स्तरको मापदण्ड समेत बनाएको छ। उक्त मापदण्डमा नेपालको ग्रामीण क्षेत्रमा सर्पदंश जनस्वास्थ्यको समस्याको रुपमा रहेको उल्लेख छ। उक्त मापदण्डमा उल्लेख भएअनुसार सरकारले सन् २०३० सम्ममा सर्पदंशबाट हुने मृत्यु तथा अपांगतालाई ५० प्रतिशत कम गर्ने लक्ष्य लिइएको छ। तर स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामै सर्पदंशका घटनाको यकिन तथ्यांक तथा मृत्युको विवरण उपलब्ध छैन।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीका अनुसार सम्बन्धित सर्पदंश केन्द्र तथा अस्पतालहरुले विवरण उपलब्ध नगराउँदा सर्पदंशबाट मृत्यु भएकाको विवरण नभएको बताए।
सर्पदंश र त्यसबाट हुने मृत्युको केही घटना नेपाल प्रहरीमा पनि दर्ता छन्। नेपाल प्रहरीले आकस्मिक मृत्युको घटना अन्तर्गत सर्पदंश र त्यसबाट हुने मृत्युका घटनालाई दर्ता गर्दै आएको छ।
न्यून मात्रामा दर्ता भएको प्रहरीको विगत ५ वर्षको तथ्यांकमा पनि मनसुनको समयमा सर्पदंशको घटना बढी भएको देखिन्छ। नेपाल प्रहरीले विगत पाँच वर्षमा अर्थात सन् २०१८ देखि सन् २०२३ जुलाइ सम्ममा दर्ता गरेको सर्पदंशका घटनाको विवरण हेर्दा हरेक वर्ष जुनदेखि सेप्टेम्बरसम्म सर्पदंशका घटना बढी भएको देखिन्छ।
नेपाल प्रहरीमा दर्ता भएको सर्पदंशको घटना यस्तो छ
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी भने स्वास्थ्य मन्त्रालय वा नेपाल प्रहरीकै तथ्यांकमा पनि सर्पदंशका घटना तथा यसबाट हुने मृत्युबारे एकिन तथ्यांक समावेश नभएको बताउँछन्।
उनी भन्छन्, ‘स्वास्थ्य मन्त्रालयसँग हुने घटना अस्पतालमा उपचारका लागि पुगेकाहरुको अस्पतालले संकलन गरेको विवरण अनुसार हुने हो, प्रहरीसँग पनि सर्पदंशका घटना तथा मृत्युको तथ्यांक छ तर त्यो निकै कम घटना मात्र दर्ता भएको अवस्था छ।’
सर्पदंशको विषयमा २५ वर्षदेखि अध्ययन गर्दै आइरहेका डा सञ्जीव शर्मा पनि सर्पदंशका घटना इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रहरीको रेकर्डमा रहेकोभन्दा बढी भएको बताउँछन्।
‘सरकारी तथ्यांकमा सर्पदंशको घटना कम हुनुको कारण कतिको घरमै मृत्यु हुन्छ, कतिको बाटोमै मृत्यु हुन्छ,’ उनी भन्छन्, ‘त्यो तथ्यांक राष्ट्रिय तथ्यांकसम्म नपुगेको हुनसक्छ।’
२५ वर्ष अगाडि नेपाल सरकारको तथ्यांकमा वार्षिक ३९० जना सर्पदंशका बिरामी हुन्छन् र तीमध्ये ९० जनाको मृत्यु हुन्छ भन्ने उल्लेख गरिएको डा शर्माले बताए। तर आफूले काम गर्ने अस्पतालमै एक हजार बिरामी सर्पले टोकेर आउने गरेको भेटिएको र त्यसपछि आफूले सर्पदंशको विषयमा अध्ययन गर्न थालेको उनले बताए।
नेपालमा वर्षेनी ४० हजार सर्पदंशका घटना हुने गरेको र ३ हजारको मृत्यु हुने गरेको डा शर्माको दाबी छ।
आफूले विभिन्न समयमा गरेको अध्ययनबाट सर्पदंशबाट मृत्यु हुनेमध्ये ८० प्रतिशतको घर वा बाटोमै मृत्यु हुने गरेको पुष्टि गरेको डा शर्माको भनाइ छ।
करेत भन्ने सर्पले रातको समयमा डस्ने र मानिसको मृत्यु हुने गरेको पाइएको उनले बताए।
डा शर्माका अनुसार नेपालमा मुख्य दुई प्रकारका सर्पको प्रजातिले नै मानिसको मृत्यु हुने गरेको छ। जसमा गोमन र करेत सर्प रहेका छन्। गोमन सर्प बिहान र बेलुका बढी सक्रिय हुने भएकाले त्यतिबेला टोक्छ र करेतले राति डस्ने जोखिम बढी हुन्छ।
डा शर्माका अनुसार नाग सर्प, राजगोमन, किङ कोब्रा र करेतका विभिन्न ६ प्रजातिका सर्पले डस्छन्।
सबै सर्पले डस्दा उपचार छैन
नेपालमा पाइने सबै प्रजातिका सर्पको विष मार्ने औषधि भने नभएको डा शर्माले बताए। नेपालमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिभेनम अर्थात् सर्पको विष प्रतिरोधात्मक औषधि भारतबाट सरकारले ल्याउँछ। तर त्यसमा ४ प्रकारका सर्पको विष झार्ने तत्व मात्र हुने डा शर्माको भनाइ छ।
नेपालमा पाइने गोमन, करेत र बाघे सर्पले टोकेको मात्र औषधि रहेको र अन्य सर्पले टोकेमा त्यसको विष झार्ने औषधि नै नभएको उनले सुनाए।
‘नेपालमा प्रयोग हुने औषधिले गोमन र करेत सर्पले डसेको अवस्थामा उपचारका लागि उपयोगी छ। करेत सर्पमा पनि ६ प्रजातिमध्ये एउटा प्रजातिले टोकेको अवस्थामा मात्र उपयोगी हुने औषधि नेपालमा प्रयोगमा छ,’ डा शर्माले भने, ‘पहाडी भेगमा पाइने हरेउ सर्प लगायतका सर्पले टोकेमा त्यसको विष प्रतिरोधात्मक औषधि नै छैन।’
डा शर्माका अनुसार करेत सर्पले टोकेका मान्छेमध्ये ५० प्रतिशतलाई तत्काल कृत्रिम श्वासप्रश्वास दिनुपर्ने अवस्था हुन्छ। तर सर्पदंश उपचार केन्द्रमा कृत्रिम श्वासप्रश्वास गराउने सुविधा नहुँदा पनि मानिसको ज्यान जोखिममा हुने गरेको छ।
‘सर्पदंश उपचार केन्द्रहरुमा कृत्रिम श्वासप्रश्वासका लागि भेन्टिलेटर, आईसीयूको व्यवस्थापन हुनुपर्ने देखिन्छ,’ डा शर्मा भन्छन्।
पहाडी क्षेत्रमा पाइने हरेउ सर्पले टोक्दा धेरै रगत बगेर रगत पातलो हुन्छ।
डा शर्माका अनुसार नेपालमा ८० प्रतिशत सर्पदंशका बिरामी अस्पताल नै पुग्दैनन्। नेपालमा सर्पदंश भएकामध्ये ७५ प्रतिशत महिला र बालबालिका छन्। सर्पदंशबाट अंगभंग हुने, हात वा खुट्टा नै काट्नुपर्ने, घाउ भएर लामो समय काममा जान नसक्ने, वर्षौं घाउ भएर बस्ने समस्या ५ मध्ये एक जनालाई हुन्छ। यस्तै सर्पले टोकेका ५ मध्ये एक जनालाई साइकोलोजिकल समस्या हुने गरेको छ।
सर्पले टोकेपछि मान्छेको शरीरमा के हुन्छ?
डा शर्माका अनुसार विशेषगरी सर्पदंशका बिरामी दुई खालको लक्षण लिएर अस्पताल आउँछन्। एउटा सर्पले डसेको ठाउँमा पानी फोका आउने र सुन्निने तथा रगत पातलो हुने र रगत बग्ने समस्या हुन्छ।
बाघे सर्प प्रजातिको सर्पले डसेपछि यस्तो समस्या हुन्छ। नेपालमा यस्तो सर्पको संख्या कम छ। यो तराई क्षेत्रमा पाइन्छ। अर्को पहाडी क्षेत्रमा पाइने भाइपर प्रजातिका सर्पले टोकेमा पनि टोकेको ठाउँमा सुन्निने, घाउ हुने, फोकाहरु हुने, रगत बग्ने, रगत पातलो हुने समस्या हुने र मानिसको मृत्यु नै हुने जोखिम रहन्छ।
अर्को गोमन र करेत सर्पले टोकेमा स्नायु तन्तुलाई असर गर्छ र प्यारालाइसिस गराउँछ। टाउकोदेखि विस्तारै मासुलाई प्यारालाइसिस गर्दै आँखाको भाग, मुखको भाग, जिब्रो प्यारालाइसिस हुँदै बिरामीले श्वास फेर्न, थुक निल्न नसकेर मृत्यु हुन्छ। ती बिरामीलाई कृत्रिम श्वासप्रश्वास आवश्यक हुन्छ। करेत सर्पले टोकेको ठाउँमा घाउ पनि हुन्छ।
नेपालमा सबै प्रजातिको विष झर्ने औषधि नहुँदा, समयमा आवश्यकता अनुसारको उपचार नहुँदा पनि मानिसको मृत्यु बढी भइरहेको डा शर्माले बाताए।
सर्पदंश भएको अवस्थामा जनसमुदायमा के गर्ने भन्ने कुरा थाहा नभएको हुँदा विभिन्न किसिमका आफ्नै तरिकाले धामी–झाँक्रकहाँ जाने, झारमौरो लागाउने, चल्लाको मल लगाउने, सर्पले टोकेको ठाउँमा बाँध्ने गरेको डा शर्माले बताए।
‘यी कुराहरुले सर्पको विष झर्दैन। सर्पको विष झार्ने औषधि प्रभावित ठाउँसम्म नपुग्दा र सर्पले टोकेपछि समयमै उपचार नपाउँदा बिरामीको मृत्यु हुन्छ,’ उनले सुनाए।
सर्पदंश भएका सय जनामध्ये ९० जनालाई असर नगर्ने हुन्छ। तर सर्पले टोकेपछि धामी–झाँक्रीकहाँ जाने र त्यही ९० जनाभित्र पर्नेहरुले धामी–झाँक्रीको उपचारले ठिक भएको मान्ने गर्दा पनि समस्या भएको छ।
जलवायु परिवर्तनको प्रभावले पनि सर्पदंशका घटना बढ्छ
सर्पदंशका घटना गर्मी मौसम र मनसुनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले जलवायुमा हुने परिवर्तनले पनि सर्पदंशको घटना बढ्न सक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारी बताउँछन्।
‘सर्पदंशका घटना तापक्रमसँग जोडिएको हुन्छ, चिसो मौसममा सर्पको सक्रियता कम हुने, गर्मीको समयमा सर्पको सक्रियता बढी हुने, वर्षातको समयमा सर्पको बासस्थान पनि डुवानमा हुने भएकाले ओभानो खोज्दै मान्छेको बासस्थानसम्म जाने हुन्छ,’ उनले भने, ‘त्यसैले सर्पदंशको घटना वर्षात र तापक्रमको परिवर्तसँग पनि जोडिएको छ।’
पृथ्वीको तापक्रम बढ्दा सर्पदंशका घटना हिमाली क्षेत्रमा पनि बढ्दै जानसक्ने डा अधिकारीले बताए।
उनले भने, ‘विकास निमार्णका सामग्री ढुवानीको क्रममा सर्प पनि एकठाउँबाट अर्को ठाउँमा पुग्ने र हिमाली क्षेत्रमा पनि जलवायु परिवर्तनले अनुकुल तापक्रम भेट्दा सर्पको वृद्धिविकास र सक्रियता हिमाली क्षेत्रमा पनि बढ्ने सर्पदंशका घटना बढ्ने जोखिम देखिएको छ।’