धनगढी– कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दूरबीन प्रविधिबाट मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ।
यहि फागुन ९ गते अस्पतालमा भर्ना भएका डडेल्धुराको अमरगढीका उमेश ताम्राकारको मेरुदण्डको दूरबीन प्रविधिबाट सफल शल्यक्रिया गरिएको हो।
दूरबीन प्रविधिबाट मेरुदण्डमा कुरकुरे हड्डीले नसा च्यापिएको खुट्टा र कम्मर दुख्ने र खुट्टा कमजोर हुने समस्याको सफल उपचार सेति प्रादेशिक अस्पतालमा पहिलो पटक सम्पन्न गरिएको जनाइएको छ।
‘एकदम न्यून शूल्कमा यो प्रविधिबाट सरकार अस्पतालमा सुबिधा पाइने भएको छ। यसको फाइदा सानो घाउ हुने, बिरामी चाँडो घर फर्कनुका साथै चाँडो काममा फर्कन र उपचारपछिको दुखाई कम हुन्छ’ उपचारमा संलग्न हाडजोर्नी चिकित्सक डाक्टर ज्ञानेन्द्र जोशीले भने ‘सो सेवामा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेय र विभागीय प्रमुख डाक्टर शिवराज पनेरुको सहयोगमा आफनो नेतृत्वमा शल्यक्रिया सफल भएको हो।’
सेतीमा हाडजोर्नी तथा मेरुदण्ड सम्बन्धी सेवा बढ्दै गएको र अर्थोपेडिक विभागमा उनको नेतृत्वमा सात जना चिकित्सबाट सेवा प्रवाह भइरहेको छ।