काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालक मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले आकस्मिक सहितका सबै सेवा ठप्प पारेका छन्।
छारे रोगको समस्या लिएर अस्पतालमा उपचारका लागि ल्याइएका ११ वर्षीय बालकको मृत्यु भएपछि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै अस्पतालको सेवा अवरुद्ध पारेका हुन्।
११ वर्षीय बालकलाई छारेरोग लक्षणसहित बुधबार आकस्मिक कक्षमा ल्याइएको थियो। अस्पतालका प्रबन्ध निर्देशक डा रमेश कँडेल अनुसार बालकलाई आकस्मिक उपचारपछि पिआइसियुमा राखिएको थियो। बालकमा देखिएको छारेरोगको कारण पत्ता लगाउन बिहीबार एमआरआई गराउन लगिएको थियो।
एमआरआई गर्ने क्रममा बालकमा फेरि छारेरोगको लक्षण देखिएको र अक्सिजन कम भएपछि थप अक्सिजन दिन अक्सिजन सिलिन्डर एमआरआई कक्षमा राखिएको थियो।
बालकलाई एमआरआई कक्षबाट बाहिर लान एमआरआई कक्षको ढोका खोल्ने क्रममा एमआरआई मेसिनको चुम्बकीय शक्तिले अक्सिजन सिलिन्डर तान्दा चर्को आवाज आयो। चर्को आवाज आएलगत्तै बालक अचेत बने। अस्पतालले ती बलकलाई तत्काल भेन्टिलेटरमा राख्यो तर केही समयमा उनको मृत्यु भयो। बालकको मृत्युपछि मृतका आफन्तले अस्पतालको लापरबाहीको कारण बालकको मृत्यु भएको आरोप लगाएको छ।
मृतकका आफन्तले २५ लाख क्षतिपूर्तिको काम राखेर अस्पतालको मुख्यद्धारमै आन्दोलन गरिरहेका छन्।
आफन्तले क्षतिपूर्ति नदिएसम्म बालकको सव लिन समेत मानेका छैनन्। बालकको शव प्रतिष्ठानकै शवदाहगृहमा राखिएको छ।
प्रतिष्ठानका निर्देशक डा कँडेलका अस्पताल प्रशासनले छानबिन कमिटी गठन गरी घटनाको छानबिन गर्ने भने पनि आफन्तले भने मानेका छैनन्।
‘हामीले उहाँहरुलाई घटनाको विषयमा दुईपक्षकै व्यक्ति राखेर छानबिन कमिटी तयार गरी छानबिन गरौं, निष्कर्ष के आउछ त्यही अनुसार निर्णय गरौं भनेर आग्रह गरेका थियौँ,’ डा कँडेलले भने, ‘तर उहाँहरुले छानबिन भएपनि अस्पतालकै पक्षमा निष्कर्ष निकालिन्छ भनेर मान्नुभएको छैन। २५ लाख क्षतिपूर्ति दिनुपर्ने माग राखेर आन्दोलन गरिरहनु भएको छ।’
घटनाको विषयमा कार्यकारी निर्देशक डा रमेश कँडेलको भनाइ उनकै शब्दमा
तीन वर्षदेखि छारेरोग देखिएको बालकलाई बुधबार छारेरोग देखिएर आकस्मिक कक्षमा उपचारका लागि ल्याइएको थियो। आकस्मिक कक्षमा बालकको उपचार भएर छारेरोग कन्ट्रोल भयो। फेरि छारेरोग नदेखियोस् भनेर पिआइसियुमा राखियो। बालकको स्वास्थ्यमा सुधार भइरहेको थियो।
के कारणले छारेरोग देखियो पत्ता लगाउन पर्ने थियो, कारण पत्ता लागेन भने समस्या फेरि देखिन्थ्यो। छारेरोगको कारण पत्ता लगाउन टाउकोको एमआरआई गर्ने योजना बालरोग विशेषज्ञको टिमले बनायो। सोही योजना अनुसार बालकलाई एमआरआई रुममा लगियो। एमआरआई गराउँदा ३० मिनेटसम्म राख्नुपर्छ। बिना औषधि एमआरआई गराउन राख्दा बालकले हलचल गर्यो। त्यसपछि उनलाई सान्त गर्न बच्चाको डोजको हिसाबले औषधि दिइयो।
एकैछिनमा बालकमा फेरि छारेरोगको लक्षणजस्तो देखियो। अक्सिजन लेबल कम भयो। बालकलाई अक्सिजन दिनुपर्ने भयो। एमआरआईभित्र पनि सेन्ट्रल अक्सिजन सप्लाई छ। सुरुमा त्यसले दिइयो। अक्सिजन दिँदा पनि अक्सिजन लेबल ९० भन्दा माथि हुनुपर्ने भएन। बालकमा अक्सिजन लेबल मेन्टेन नभएपछि फेरि पिआइसियुमा लैजाने र अर्को दिन एमआरआई गर्ने कुरा भयो। एमआरआई भित्र नर्स, डाक्टर र एमआरआईको टेक्निसिएन मात्र हुनुहुन्थ्यो। बालकलाई ह्वीलचियरमा राखेर माथिल्लो तलामा लानुपर्ने थियो।
त्यसैले बाहिरबाट कसैलाई बोलाउ भनेर एमआरआई कक्षबाहिर रहेका गार्डले एमआरआई कक्षको ढोका खोल्ने क्रममा एमआरआईको चुम्बकले अक्सिजन सिलिन्डर तानेर एमआरआई मेसिनमा ठोक्कियो। त्यो क्रममा बच्चालाई सिलिन्डरले लागेको पनि छैन। तर अक्सिजन सिलिन्डर फुल स्पीडमा ठोक्किँदा ठूलो आवाज आयो।
त्यसपछि बालकलाई त्यही भएका नर्स र स्टाफले पिआइसियुमा लैजानुभयो।
एमआरआई रुममा अक्सिजन सिलिन्डर र एमआरआई मेसिन ठोक्किँदा आवाज आएसँगै बालकमा फेरि छारेरोगको अट्याक आएको देखिन्छ। बालकको ओठ टोकिएको अवस्था थियो। पिआइसियुमा लगेपछि बालकमा कुनै सुधार भएन। एक्सरे गरेर हेर्दा बालकको फोक्सोमा एस्पिरेसन निमोनिया ( फोक्सोमा र्याल तथा थुक सर्केर हुने निमोनिया) पनि देखियो। बालकको अक्सिजन पनि मेन्टेन भइरहेको थिएन। बालकलाई भेन्टिलेटरमा राखियो । भेन्टिलेटरमा राख्दा राख्दै सबै औषधिहरु चलाउँदा चलाउँदै पनि बालकलाई बचाउन सकिएन।
हामीले हेर्दा घटना यस्तो छ। मृतकका आफन्तले भने अक्सिजन सिलिन्डर एमआरआईमा ठोक्किदा बच्चालाई च्याप्यो भनेर अफवाह फैलिएको छ।
एमआरआईमा अक्सिजन सिलिन्डर अझैपनि टाँसिएकै अवस्थामा छ।
छारेरोग भएका बिरामीलाई ठूलो आवाज भएको ठाउँमा, भिडभाड, आगोको नजिक नजानु भनेर सल्लाह दिन्छौँ। त्यसले पनि छारे रोग बल्झाउन सक्छ भन्छौँ। अक्सिजन सिलिन्डर एमआरआई मेसिनमा ठोक्किँदा आएको आवाजका कारण बालक आत्तिएर फेरि छारे रोगको लक्षण बल्झिएको चाँही हुनसक्छ।