२० वर्षअघि नेपालको चिकित्सा क्षेत्रमा नयाँ प्रविधिको विकास र विशिष्टकृत सेवा विस्तार राम्रोसँग भइसकेको थिएन। अहिले जस्तो शहरी क्षेत्रहरुमा निजी अस्पताल तथा क्लिनिकहरु कम नै थिए। काठमाडौं उपत्यकामै पनि अहिले जस्तो धेरै क्लिनिकहरु सञ्चालनमा थिएनन्। चिकित्सा क्षेत्रमा प्रविधिको विकास र चिकित्सा सेवाहरु काठमाडौं बाहिर विस्तारकै क्रममा रहदा डा फरवार्ड सिलवालले विराटनगरमा दन्त चिकित्सा सेवा प्रदान गर्न क्लिनिक सञ्चालन गरे।
निजी क्षेत्रमा दन्त चिकित्सा सेवा सुरु गर्नु उनको लागि पनि त्यतिबेला चूनौतिपूर्ण नै थियो। तर नामजस्तै फरवार्ड शैलीका उनले विराटनगरमा आफ्नो नाम र क्लिनिकको पहिचान बनाए। २० वर्षदेखि उनको क्लिनिकले निरन्तर दन्तरोगको उपचार तथा दाँतको कस्मेटिक उपचार सेवा दिइरहेको छ। उनले अहिले थप चिकित्सकहरु समेत राखेर दन्त रोगको उपचार सेवा दिइरहेका छन्।
डाक्टर बनाउने हजुरबुबाको सपना
विराटनगरका जन्मिएका उनले कक्षा १० सम्म विराटनगरमा पढे। उनले सन् १०९१ मा एसएसली उत्तिर्ण गरेका हुन्। एसएलसी पछि उनले प्लसटू भने भारतमा गरेका थिए। सन् १९९३ मा प्लसटू सकिएपछि उनी नेपाल नै फर्किए।
फरवार्डलाई डाक्टर बनाउने सपना भने उनको हजुरबुबाको थियो। हजुरबुबाले सानैदेखि डाक्टर बन्नु भन्दै दिने आर्सिबाद्ले फरवार्डको मनमा डाक्टर बन्ने सपना मौलाएको थियो। त्यतिबेला मणिपाल मेडिकल कलेज र नेपालगञ्ज मेडिकलमा मात्र मेडिकल पढ्न पाइन्थ्यो। सिलवालले नेपालगञ्ज मेडिकल कलेजमा बिडिएस अध्ययन सुरु गरे।
सिलवालले पढ्न थालेकै वर्ष सरकारले नेपालगञ्ज मेडिकल कलेज खारेज गरिदियो। कलेज नै खारेजीमा परेपछि अरु साथीहरु अन्य विषय पढ्न पनि गए। तर उनलाई बिडिएस बाहेक अरु विषय पढ्ने मन थिएन। उनले मणिपाल मेडिकल कलेजमा सन् २०९६ देखि बिडिएस नै अध्ययन गर्न थाले। उनले २००१ मा अध्ययन सकेर पहिलो पटक वीर अस्पतालमा ६ महिना इन्टर्नसीप गरे।
जब वीर अस्पतालमा एउटै ग्लब्स लगाएर दिनभर बिरामी हेर्नुपर्थ्यो
सम्पूर्ण शरीरको स्वस्थताका लागि मुख स्वास्थ्यको महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले हाल सरकारले मुख स्वास्थ्यका क्षेत्रमा विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ। तर आजभन्दा करिब २० वर्ष अघि अस्पतालमै समेत मुख स्वास्थ्यका लागि हाइजिन मेन्टेन भएको हुँदैन थियो। दाँच तथा गिजाको उपचार गर्ने चिकित्सकले एउटै ग्लब्स लगाएर दिनभरी बिरामी हेर्थे।
डा फरवार्डले बिडिएस अध्ययनपछि पहिलो पटक चिकित्सा सेवा गर्दा वीर अस्पतालमा एउटै ग्लब्स लगाएर धेरै बिरामी परीक्षण गरेको सम्झिए।
‘दन्तरोगको उपचारमा हाइजिन कति धेरै महत्वपूर्ण छ तर २० वर्षअघि अस्पतालमा एउटै ग्लब्सले दिनभरको ड्युटी सकिन्थ्यो,’ उनले सम्झिए, ‘एउटा ग्लब्स लगाएर मुखभित्र हात हालेर काम गर्ने, पानीमा पखाल्ने, टावलले पुछ्ने अनि फेरि त्यही हातले अर्को बिरामीको मुखभित्र हात हालेर उपचार गर्ने गरिन्थ्यो।’
यसरी बिरामीको उपचार गर्दा बिरामीहरुमा एकअर्काको रोग सर्ने र आफूलाई पनि रोग सर्ने जोखिम रहेको उनले सुनाए। अस्पताल प्रशासनबाट पर्याप्त मात्रमा ग्लब्स उपलब्ध नभएपछि बिरामीलाई नै किनेर ल्याउने व्यवस्था गर्न लगाएर समेत उपचार गरिएको उनले सुनाए।
उनले भने, ‘बिरामीहरुमा पनि रोग सर्ने र हामी चकित्सक नै पनि जोखिममा भएपछि हामीले बिरामीले नै ग्लब्स किनेर ल्याउनु भनेर पनि नयाँ प्रयोग गर्ने कोसिस गर्यौं।’
केहीवर्ष अघिसम्म पनि कतिपय अस्पतालहरुमा सरसफाइ तथा हाइजिन व्यवस्थापन राम्रोसँग नभएको अवस्थामा कोभिड पछि भने यसमा सुधार भएको उनले सुनाए।
श्रीमतीको सपोर्टले डेन्टल क्लिनिकमा करिअर सफल
वीर अस्पतालमा ६ महिना काम गरेपछि उनी सन् २००३ मा काठमाडौं छाडेर विराटनगर गए। विराटनगरमा उनले आफ्नै क्लिनक सञ्चालन गरे। बिडिएसपछि उनले डेन्टल इम्प्लान्टमा आफ्नो भविष्य देखे र डेन्टल इम्प्लान्टको डिप्लोमा कोर्ष पनि गरे। उनले कस्मेटिक डेन्टस्ट्रीमा पनि तालिम लिए।
डा फरवार्ड आफू दन्त चिकित्सक बन्नु र दन्त चिकित्सा क्षेत्रमा आफूले हात परेको सफलतामा श्रीमतीको पनि सपोर्ट रहेको बताउँछन्। डा फरवार्ड र उनकी श्रीमतीले नेपालगञ्जमासँगै बिडिएस अध्ययन सुरु गरेका थिए। नेपालगञ्ज मेडिकल कलेज बन्द भएपछि उनकी श्रीमतीले तत्कालै मणिपाल मेडिकल कलेजमा पढ्न थालिन्। तर फरवार्डले भने दुईवर्ष ढिलो गरी पढ्न पाए। जसकारण उनकी श्रीमती डा फरवार्ड भन्दा अगाडि दन्त चिकित्सक बनिन्। श्रीमती दन्त चिकित्सक बनिसकेकाले पनि आफ्नो पढाइ र करिअरमा साथ र सपोर्ट पाएको उनले सुनाए।
उनले भने, ‘मेरो श्रीमती मभन्दा २ ब्याच सिनियर भएकोले मलाई मेरो अध्ययन र क्लिनिक खोल्नमा पनि धेरै सपोर्ट भयो।’
श्रीमतीको जागिरको सिलसिलामा काठमाडौं बाहिर जानुपर्ने भएपछि डा फरर्वार्डले विराटनगरमा क्लिनिक सञ्चालन गरेको बताए।
‘सन् २००३ मा विराटनगरमा निजी क्लिनिक सञ्चालन गरेर मैले त्यही काम गरे,’उनले भने,‘त्यहाँ दन्त क्लिनिक सञ्चालन गरेको २० वर्ष भयो।’
१४ वर्ष अघि डेन्टल इम्प्लान्टको कोर्ष पूरा गरेपनि स्रोत साधन नहुँदा विराटनगरमा त्यतिबेला आफूले अध्ययन गरेजस्तो सहज थिएन। तर विस्तारै उनलाई बानी पर्दै गयो। दन्त रोगको पहिचान र उपचारमा नयाँ नयाँ उपचार विधि र प्रविधि भित्रिदै गएपछि भने दन्त रोग तथा दन्तरोगको कस्मेटिक उपचारमा सहजता भएको उनले बताए।
‘डेन्टिष्टहरु मिलेर एउटा डाइग्नोष्टिक सेन्टर खोल्यौं, त्यसपछि डेन्टल इम्प्लान्टको क्षेत्रमा काम गर्न सजिलो भयो,’ उनले भने, ‘प्रविधिका कारण अहिले उपचारमा सहज भएको छ।’
इम्प्लान्टमा नयाँ विधि
उनले दाँतको उपचारमा नयाँ खालको इम्प्लान्ट बनाएर पनि बिरामीको उपचार गरेको दाबी गरे। उनले गरेको नयाँ खालको उपचार विधिबारे नेपाल चिकित्सक संघको जर्नलमा पनि लेख प्रकाशित गरिएको उनले सुनाए।
'मैले इम्प्लान्टको क्षेत्रमा नयाँ र नौलौ अभ्यास गरेको छु,' उनले भने, 'बिरामीको दाँत जोगाउने गरी गरिएको उक्त अभ्यास इम्प्लान्ट क्षेत्रमै नयाँ हो। उक्त विधिमा विषयमा चिकित्सक संघकझ जर्नलमा समेत प्रकाशित भइसकेको छ।'
सम्झनामा उपचार गरेका ती १२ वर्षे बालक
विराटनगरमा दन्त क्लिनिक सञ्चालन गरेको तीन वर्ष मात्र भएको थियो। एकदिन १२ वर्षका एक बालकलाई लिएर उनका आफन्त उपचारका लागि आए। बालकको ओठ सुन्निएको अवस्थामा उपचारका लागि आएका थिए। उनको ओठ सुन्निनुको कारण थियो– दाँतले ओठ टोकिरहने बानी।
वर्षौ देखि ओठ टोक्ने बानी लागेका ती बालकलाई दाँतले ओठ टोकिरहने बानी नै परिसकेको थियो। त्यसको उपचारका लागि डा फरवार्डले दाँतले ओठमा टोक्ने नमिल्ने अप्लाइन्स बनाउन लगाए। त्यसपछि अप्लाइन्स लगाउन प्राक्टिस गराइयो।
धेरै समयसम्म अप्लाइन्स लगाएपछि बालकको बानी पर्यो। डा फरवार्डले फुलेको ओठको उपचार पनि गरे। ती बालक अहिले ठूलो भइसकेका छन्।
डा फरवार्डको उपचारले उनको दाँतले ओठ टोक्ने समस्या समाधान भएको छ। आफूले उपचार गरेको ती व्यक्तिलाई देख्दा डा फरवार्डलाई आफ्नो पेसाप्रति गर्व महसुस हुन्छ। उनले भने, ‘१२ वर्षको उमेरमा उपचार गरेको उनी अहिले सामान्य छन्, उनलाई देखेर मलाई आफ्नो पेसाप्रति खुसी लाग्छ।’
डा फरवार्डले २० वर्षको अवधिमा आफ्नो क्लिनिकमा २५ हजार भन्दा बढी बिरामीलाई दन्त चिकित्सा सेवा दिएका छन्। उनले क्लिनिकमा आउने बिरामीको उपचार मात्र होइन, स्कुलहरुमा दन्त चिकित्साको विषयमा सचेतनात्मक कार्यक्रम तथा दन्त शिविरहरु सञ्चालन गर्ने काम पनि गर्दै आएका छन्।
नेपाल चिकित्सक संघ आवद्धता
डा फरवार्डले बिडिएस उत्तिर्ण गरेर विराटनगरमा दन्त क्लिनिक सञ्चालन गर्न थालेपछि नै उनी नेपाल चिकित्सक संघको आजिवन सदस्य बने। त्यतिबेला चिकित्सक बनेपछि संघको सदस्यता लिन पाइने व्यवस्था थियो। त्यतिबेला देखि नै उनी संघमा आवद्ध भएर चिकित्सकका हकहितका लागि आवजहरु उठाउने काम गर्न थाले। हाल उनी नेपाल चिकित्सक संघको कोशी ब्रान्चको अध्यक्षको रुपमा कार्यरत छन्। कोशी ब्रान्चको अध्यक्ष पदको उनको यो दोस्रो कार्यकाल हो।
सामान्य अवस्थामा दाँतको नियमित जाँच गर्ने चलन छैन
२० वर्षदेखि दन्त चिकित्सामा अनुभव संहालेका डा फरवार्ड मानिसहरुमा दाँतको केयरबारे अझै सचेत नभएको बताउँछन्। सामान्य अवस्थामा पनि प्रत्येक ६ महिनामा दाँतको परीक्षण गराउनुपर्ने भएपनि मानिसहरु कुनै समस्या नपरी परीक्षण गराउने नगरेको नपाइएको उनले सुनाए।
डा फरवार्डका अनुसार काठमाडौंमा बस्नेहरुमध्ये १० प्रतिशतले मात्र नियमित जाँच गराउनुपर्छ भन्ने सोचाइ राख्छन्। उनले क्लिनिक चलाइरहेको विराटनगरमा नियमित स्वास्थ्य परीक्षण गराउनका लागि प्रत्येक ६ महिनामा दन्त परीक्षण गराउनेहरु १ प्रतिशत मात्र रहेको उनले सुनाए।
‘आजभोली पनि मानिसहरु कुनै न कुनै समस्या देखिएर दुखाइ भएपछि मात्र दाँत परीक्षणका लागि आउनुहुन्छ,’ उनले भने, ‘समय समयमा जचाँउनुपर्छ भन्ने थाहा भएपनि मानिसहरु सामान्य अवस्थामा परीक्षण गराउँदैनन्।’ तर २० वर्ष अघिको तुलनमा अहिले मानिसहरुमा सचेतना भने बढेको उनले सुनाए।
डा फरवार्ड दन्त उपचारका क्षेत्रमा निरन्तर अगाडि बढीरहेका छन्। उनी विराटनगरमा दन्त उपचारको क्षेत्रमा मात्र सिमित हुन चाँहदैनन्। छिट्टै काठमाडौंमा आएर सेवा सुरु गर्ने योजना रहेको हुने सुनाए। 'विराटनगरको सेवा त निरन्तर नै हुन्छ। अब काठमाडौैमा पनि सेवा सुरु गर्न चाहन्छु। यसका लागि आवश्यक गृहकार्य गरिरहेको छु,' उनले भने।