काठमाडौं- स्वास्थ्य सेवामा प्रवेश गरेको २८ वर्षपछि डा विकास देवकोटा स्वास्थ्य सचिव भएका छन्। उनलाई सरकारले त्यस्तोबेला पत्याएको छ, जतिबेला संघीयता कार्यान्वयनको प्रतिअसरले स्वास्थ्य प्रणालीमा 'गडबडी' देखिएको छ।
सरकार र मन्त्रीको समायावधि यसै यकिन गर्न नसकिने नेपालको परिस्थितिमा स्थायी सरकार भनेकै कर्मचारीतन्त्र हो। कर्मचारीतन्त्रको नेतृत्व भरोसायोग्य, परिपक्व र प्रणालीमा भिजेकोलाई सुम्पिँदा मात्रै अवस्था सम्हालिन सक्ने ठानेरै सचिवका लागि उपयुक्त तीन जनामा डा विकास देवकोटाले जिम्मेवारी पाएका हुन्।
डा विकास स्वास्थ्य प्रणालीका त्यस्ता पात्र हुन्, जो छोटो बाटोबाट यहाँ आइपुगेका होइनन्। आफूलाई क्रमश: विकास गर्दै यहाँ ल्याइपुर्याएका हुन्। हेल्थ असिस्टेन्ट (एचए)देखि सुरु भएको उनको करियर सचिवसम्म पुगेको हो। आफ्नो करियरको सुरुवात नै उनले 'त्यो बेलाको कर्णाली'बाट गरेका हुन्।
दाङ घोराहीमा जन्मिएका उनका पिता सामान्य तह (नायब सुब्बा) तहको कर्मचारी थिए। डा देवकोटा पढाइमा अब्बल थिए। त्यसैले उनले एचए, एमबीबीएसदेखि पेडियाट्रिक सर्जरीसम्म छात्रवृत्तिमा अध्ययन गरे।
महाराजगञ्ज चिकित्सा क्याम्पसबाट एचए गरेपछि उनी पहिलोपटक सीएमएलाई पढाउन कर्णालीको सुर्खेत पुगेका थिए। त्यहाँ उनले झन्डै एक वर्ष अध्यापन गरे। त्यसपछि तत्कालीन शोभियत संघले नेपाल सरकारलाई उपलब्ध गराउने छात्रवृत्तिमा नाम निकाले र मस्को गए। मस्कोबाट फर्किएपछि एक वर्ष उनले शिक्षण अस्पताल महाराजगञ्जमा काम गरे। त्यसपछि २०५३ सालमा सातौं तहमा मेडिकल अधिकृतका रुपमा स्वास्थ्य सेवामा प्रवेश गरे।
स्वास्थ्य सेवामा प्रवेश गरेपछि उनले रोजेको ठाउँ थियो- कर्णाली। सीएमएलाई पढाउने सुर्खेत पुगेको समयमा उनले त्यहाँको अवस्था र स्वास्थ्य सेवालाई नजिकबाट महशुस गर्ने अवसर पाएका थिए। त्यसैले उनले कर्णालीमा सेवा दिने कुरालाई प्राथमिकतामा राखे।
सरकारले उनलाई सुर्खेत जिल्ला अस्पतालमा पठायो। त्यहाँको अवस्था दयनीय थियो। उनी त्योबेलाको प्रसंग आउँदा बताइरहन्छन्, 'अप्रेसन गर्दा लालटिन र टर्च बालेर गरिन्थ्यो। ब्लड बैंक थिएन, स्टाफहरुले नै ब्लड दिन्थ्यौं।' अप्रेसनका लागि एमडीजीपी रेजिडेन्ट त्यहाँ जाने प्रचलन थियो। तीन-तीन महिनामा उनीहरु परिवर्तन हुन्थे।
उनी त्यसपछि दाङ जिल्ला अस्पतालमा पुगे। दाङ उपक्षेत्रीय अस्पताल हुँदा पनि काम गरे। त्यस्तै सल्यान जिल्ला अस्पतालमा उनले काम गरे। उनले त्यहाँ काम गरिरहेकै बेला निक साइमन्स इन्सिच्युट (एनएसआई)को सहयोगमा सिजरियन सेक्सन भएको थियो। शिक्षण अस्पतालमा काम गरेका हुनाले एनेस्थेसिया असिस्टेन्ट नहुँदा त्यसको काम पनि उनी आफैंले गर्ने गरेको सुनाउँछन्।
फेरि मस्कोमै पेडियाट्रिक सर्जरी गरेर फर्केपछि उनी २०६४ सालमा नवौं तहमा बढुवा भएका हुन्। त्यसैगरी २०६७ सालमा दशौं र २०७० मा ११ औं तहमा बढुवा भए। ११ औं तह भएपछि लुम्बिनी अञ्चल अस्पतालमा १ वर्ष काम गरें।
दुर्गमका अस्पतालमा २० वर्षसम्म काम गरिरहेका उनले पहिलोपटक ठूलो अस्पताल आउने अवसर पाएका थिए। एक वर्ष त्यहाँ काम गरेपछि उनी २०७२ सालमा पहिलोपटक काठमाडौं सरुवा भएर आएका हुन्।
उनले आफ्नो करियरका सुरुवाती २० वर्ष नै उपत्यका बाहिर बिताएर आएका हुन्। उनी स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा आए। त्योबेला आपुर्ती महाशाखा छुट्टै थियो।
विभागपछि उनलाई स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा ल्याइयो। त्यो समय स्वास्थ्य नीति निर्माणको थियो। राष्ट्रिय स्वास्थ्य नीति २०७६ को मस्यौदाकारको रुपमा काम गरेको उनको अनुभव छ। उनी १५औं योजनामा स्वास्थ्य क्षेत्रको मस्यौदाकारको रुपमा पनि थिए। मन्त्रालयका स्वास्थ्य समन्वय र गुणस्तर मापन तथा नियमन महाशाखा गरी तीनटैको नेतृत्व गरेका छन् उनले।
त्यही क्रममा कोभिड १९ ले आक्रान्त पार्यो। कोभिड १९ को उपचार र प्रभावबारे संसार अनविज्ञ भएको समयमा आमजनलाई आश्वस्त पार्नुपर्ने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थियो। त्यो समयमा डा देवकोटाले 'कोरोना अपडेट' दिए। डा देवकोटाको प्रस्तुति शैली आमजनले समेत रुचाए र उनको परिचय समेत फैलियो।
मन्त्रालयका सबै महाशाखाको नेतृत्व, २० वर्ष उपत्यका बाहिर काम गरेको अनुभव लिइसकेपछि उनलाई लुम्बिनी प्रदेश स्वास्थ्य सचिवका रुपमा सरुवा गरियो। पहिलोपटक प्रदेशमा स्वास्थ्य मन्त्रालय बन्दा सचिवका रुपमा उनले जिम्मेवारी सम्हाले। जसले उनलाई प्रदेशको स्वास्थ्य सेवा, अन्तर मन्त्रालय समन्वय र प्रशासकीय कार्यमा थप परिपक्वता ल्याउन मद्दत गर्यो।
२०७९ चैत १३ गते उनी अतिरिक्त सचिव (१२ औं तहमा) बढुवा भए। अतिरिक्त सचिवका रुपमा मन्त्रालयमा डेढ वर्ष र स्वास्थ्य सेवा विभागको महानिर्देशकका रुपमा ५ महिना जिम्मेवारी सम्हाले।
स्वास्थ्य सेवाको तल्लो तहदेखि उच्च तहका प्राय सबै प्रकारका जिम्मेवारीमा पुग्ने व्यक्तिका रुपमा उनलाई लिइन्छ। त्यसकारण लोकसेवाले सचिवका लागि उपयुक्त भनेर सिफारिस गरेका तीनजना (डा देवकोटा, डा संगीता मिश्रा र डा टंक बाराकोटी)मा सरकारले उनलाई रोज्यो।
स्वास्थ्य क्षेत्रलाई सही रुपमा संघीय संचरनामा स्वास्थ्यलाई सवैकोणबाट बुझेको परिपक्व नेतृत्वका रुपमा उनलाई लिइएको छ। उनीप्रति गरिएको विश्वासमा खरो उत्रिने स्वास्थ्य सेवाका कर्मचारीहरुको समेत अपेक्षा छ।