काठमाडौं– नागरिकलाई उपचार सेवा सहितको स्वास्थ्य सेवा प्रदान गर्न ७० वर्षअघि खोलिएको एक स्वास्थ्य संस्था अझै पनि भाडाको घरबाट नै सेवा दिइरहेको छ। प्राकृतिक तथा आयुर्वेदिक चिकित्सा पद्धतीको विकासका लागि सरकारले प्रत्येक प्रदेशमा प्राकृतिक चिकित्सा सहितको १०० शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय गरेको भए पनि संघीय राजधानी काठमाडौंमै रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौंको भने विस्तार र विकास हुन सकेको छैन।
हाल बागमती प्रदेश सरकार मातहतमा रहेको ७ दशक पुरानो जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भने अझै भाडाकै घरमा खुम्चिएर सञ्चालित छ।
केन्द्रकी कार्यालय प्रमुख डा पुनम नेपालका अनुसार अनुसार सिनामंगलमा भाडाको घरमा सञ्चालित केन्द्रको मासिक भाडा १ लाख २५ हजार छ।
भाडाकै घरमा खुम्चिनु पर्दा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा विस्तार गर्न नसकेको डा नेपालले बताइन्।
‘भाडाको घरमा अहिले पनि सेवा प्रवाह गर्ने कोठाहरु पर्याप्त छैन, जसले गर्दा सेवा विस्तारमा खासै प्रगती गर्न सकेका छैनौं,’ उनले भनिन्, ‘कोठाहरु सानो हुँदा फिजियोथेरापीका उपकरण राख्न ठाउँ पुगेको छैन, बिरामी जाँच्ने एउटा मात्र कोठा छ, त्यही कोठामा बिरामी जाँच्ने र त्यही कोठामा अन्य इन्भेस्टीगेसन गर्ने र उपचार पनि गर्नुपर्ने बाध्यता छ।’
पर्याप्त कोठा नहुँदा केन्द्रमा रहेका आयुर्वेदिक विज्ञहरुले पनि आफ्नो विज्ञता अनुसार सेवा दिन समस्या भइरहेको उनले जानकारी दिइन्।
केन्द्रको आफ्नै भवन नहुँदा घर समेत सरिरहनुपर्ने अवस्था रहेको उनले सुनाइन्। ‘भाडाको घरमा विभिन्न समस्या हुने र सेवा प्रवाहमा पनि समस्या हुँदा कार्यालय पनि सारिरहनुपर्ने समस्या आइरहन्छ,’ उनले भनिन्, ‘अहिले सञ्चालित केन्द्र रहेको घरमा सरेको पनि एकवर्ष मात्र भयो।’
जिल्ला आयुर्वेदिक केन्द्रमा हाल दैनिक १ सय भन्दा बढी बिरामीहरु सेवा लिन आउँछन्। केन्द्रले हाल बिहान १० बजेदेखि ३ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्दै आएको छ। जसमध्ये ओपिडीमा आउने नयाँ बिरामी दैनिक ३० जनासम्म हुन्छन् भने अन्य बिरामीहरु नियमित फिजियोथेरापी, अकुपंचर, तेल मासिल, बाफले सेक्ने, प्रयोगशाला सेवा लिन आउने बिरामीहरु छन्। पर्याप्त स्थान नहुँदा केन्द्रले भर्ना नै गरेर उपचार गराउनुपर्ने बिरामीलाई भने सेवा दिन सकेको छैन। दैनिक २ जना बिरामीलाई भर्ना गर्न अन्य अस्पताल रेफर गर्नुपर्ने अवस्था रहेको डा नेपालको भनाइ छ।
बागमती प्रदेश सरकार मातहतमा सञ्चालित केन्द्रको काठमाडौं–८ मा ३ रोपनी जग्गा प्राप्तिका लागि प्रदेश सरकारबाट पहल भने भइरहेको डा नेपालले जानकारी दिइन्। न्यूनतम २५ शय्या सहितमा विस्तार गर्नेगरी प्रदेश सरकार मार्फत आफ्नै भवन बनाउन पहल गरिएको उनको भनाइ छ।
केन्द्रको आफ्नै भवन भएमा बिरामीले सस्तो र सुलभ रुपमा आयुर्वेद उपचार सेवा पाउन सक्ने उनले बताइन्।
‘काठमाडौंमा खुलेका निजी अकुपंचर, आयुर्वेद सेवाहरु प्रशस्त छन्, त्यहाँ धेरै शुल्क लिइन्छ,’ डा नेपालले भनिन्, ‘हाम्रो केन्द्रमा बिरामीले तिर्नुपर्ने शुल्क न्यून छ, केन्द्रको विस्तार भएमा धेरै बिरामीले सस्तोमा आयुर्वेद उपचार सेवा पाउनेछन्।’
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा कस्ता सेवा उपलब्ध छन्?
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र औषधालयको रुपमा २००८ सालमा काठमाडौंको फर्पिङमा स्थापना भएको थियो। २०५८ सालमा पशुपति क्षेत्रको आसपासमा आयुर्वेद केन्द्र राख्नुपर्ने भन्दै फर्पिङमा साधारण औषधालय राखी चाबहिलमा सारिएको थियो। हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको रुपमा सिनामंगलमा भाडाको भवनमा सञ्चालनमा छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले प्रबर्धानत्मक, प्रतिकारात्मक, निदानात्मक र उपचारात्मक सेवाहरु प्रदान गर्दै आएको छ। प्रबर्धानत्मक सेवामा ज्येष्ठ नागरिकको लागि स्वास्थ्य प्रबर्धन सेवा, स्तनपान गराइरहेका आमालाई मातृशिशु सुरक्षाका लागि दुग्धबर्धक जडीबुडीजन्य औषधि वितरण र योग सेवा, प्रतिकारात्मक सेवामा जीवनशैली परामर्श र योग सेवा, प्रयोगशाला सेवा, ओपिढि पञ्चकर्म, पूर्वकर्म, योग, अकुपञ्चर र फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ।
केन्द्रले उपचारका लागि आउने बिरामीलाई ओपिडी शुल्क नयाँ बिरामीका लागि २० रुपैयाँ र फलोअपमा आउने बिरामीका लागि १० रुपैयाँ मात्र लिने गरेको छ।
केन्द्रकी कार्यकारी प्रमुख डा नेपालका अनुसार केन्द्रले गत मंसिरदेखि मात्र ओपिडी तथा फलोअपमा आउने बिरामीको सेवा शुल्क लिन थालेको हो। केन्द्रले सरकारले निर्धारण गरेको २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको छ। केन्द्रको आफ्नै फार्मेसी पनि रहेको छ।
केन्द्रले विभिन्न स्थानीय तहसँगका सहकार्यमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ। यस्तै प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरणका लागि ट्राफिक प्रहरीलाई स्वास्थ्य समस्याबारे सचेतना तथा रोकथामका उपायबारे जानकारी दिने, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम सञ्चाल गर्ने लगायतका कार्यक्रम पनि सञ्चाल गर्दै आएको छ।