काठमाडौं– सोलुखुम्बुका प्रशान्त राईले सन् २०१७ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमबीबीएस अध्ययन सुरु गरे। अध्ययन पूरा भएपछि उनी तीन महिनादेखि प्रतिष्ठानमै इन्टर्न गरिरहेका छन्। उनको ड्युटी दैनिक ८ देखि १२ घण्टासम्म हुन्छ।
एमबीबीएस अध्ययनका लागि ४२ लाख शुल्क बुझाएर अध्ययन सकाएका राईले इन्टर्नसीपबाट पाउने मासिक जीवन निर्वाह भत्ता भने १८ हजार ३०० मात्र छ।
आफूले पाउने जीवन निर्वाह भत्ताले उनलाई धरानमा खानबस्न पनि पुग्दैन।
‘३ महिना भयो इन्टर्नसीप सुरु गरेको काम चाँही दिनमा ८ देखि १२ घण्टासम्म पनि गर्नुपर्छ,’ उनले भने, ‘जीवन निर्वाह भत्ता १८ हजार ३०० पाउछौं, सामान्य तरिकाले खाँदा बस्दा पनि मासिक २७ हजार भन्दा बढी खर्च हुन्छ।’
उनी जस्तै बीपी प्रतिष्ठानमा मात्र १४० जना एमबीबीएस र बीडीएस अध्ययन गरिरहेका इन्टर्न डाक्टरले मासिक १८ हजार ३०० मात्र भत्ता पाउने गर्छन्।
अस्पतालमा काम गर्दा पाउने जीवन निर्वाह भत्ताले नपुग्दा घरबाटै खर्च माग्नुपर्ने अवस्था रहेको उनीहरुले स्वास्थ्यखबरसँग सुनाए।
‘आफूले गरेको कामले त कहाँ खानबस्न पुग्नु, इन्टर्न गर्ने सबैले घरबाटै खर्च मागेर चल्नुपर्छ,’ उनीहरुको साझा गुनासो छ।
इन्टर्न गर्ने चिकित्सकको जीवन निर्वाह भत्ता न्यून रहेको समस्या प्रतिष्ठानमा मात्र होइन नेपालका सबैजसो मेडिकल कलेज तथा प्रतिष्ठानमा छ।
चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस र बीडीएस कार्यक्रम चलाइरहेका २२ मेडिकल कलेजबाट हामीले इन्टर्न डाक्टरको मासिक जीवन निर्वाह भत्ता कति छ भनेर विवरण संकलन गरेका छौं। इन्टर्न डाक्टरहरुले दिएको विवरण अनुसार मेडिकल कलेज तथा प्रतिष्ठानमा जीवन निर्वाह भत्ता मासिक रुपमा ६ हजारदेखि बढीमा २१ हजार ५०० सम्म मात्र दिने गरेको पाइएको छ।
कुन कलेज तथा प्रतिष्ठानले कति दिन्छन् जीवन निर्वाह भत्ता?
एमबी केडिया डेन्टल कलेज एण्ड टिचिङ हस्पिटल– ६०००
जानकी मेडिकल कलेज, जनकपुर– ८५००
बिराट मेडिकल कलेज, बिराटनगर– ९९००
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस्, भैरहवा – १०८९०
नेसनल मेडिकल कलेज, वीरगञ्ज– ११०००
पिपुल्स डेन्टल कलेज, काठमाडौं– ११५००
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, काठमाडौं – ११८००
गण्डकी मेडिकल कलेज, पोखरा– १२०००
मणिपाल कलेज अफ मेडिकल साइन्सेस् – १२०००
किष्ट मेडिकल कलेज, ललितपुर– १२५००
नेपाल मेडिकल कलेज, काठमाडौं– १३०००
नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्ज– १३०००
नोबल मेडिकल कलेज, बिराटनगर– १३८००
लुम्बिनी मेडिकल कलेज, पाल्पा– १४०००
चितवन मेडिकल कलेज, चितवन– १४०००
काठमाडौं मेडिकल कलेज, काठमाडौं– १४०००
कलेज अफ मेडिकल साइन्सेस्, चितवन– १४५००
देवदह मेडिकल कलेज, रुपन्देही–१४३००
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर– १६५००
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस्– १७१७०
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान– १८३००
चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पस– २१५००
आयोगले अध्ययन शुल्क तोक्छ, विद्यार्थीको जीवन निवार्ह भत्ता तोक्दैन
एमबीबीएस र बीडीएसको शैक्षिक कार्यक्रम अन्तर्गत अनिवार्य रुपमा एक वर्ष इन्टर्नसीप गर्नुपर्ने व्यवस्था रहेको छ। इन्टर्नसीपका क्रममा विद्यार्थीले अस्पतालमा अन्य चिकित्सकहरुभन्दा बढी नै समय खट्नुपर्छ। तर खटाइअनुसारको भत्ता भने निकै कम रहेको विद्यार्थीको गुनासो छ।
चिकित्सा शिक्षा अध्ययनका लागि विश्वविद्यालय, प्रतिष्ठान वा शिक्षण संस्थाको लागत तथा सञ्चालन खर्च, मुद्रास्फिति, भौगोलिक अवस्थिति, छात्रवृत्ति तथा निशुल्क सेवा लगायतलाई दृष्टिगत गरी विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थासँग परामर्श गरेर आयोगले शुल्क निर्धारण गर्छ। अध्ययन पश्चात इन्टर्न गर्ने विद्यार्थीको जीवन निर्वाह भत्ता कति हुने भनेर न आयोगले तोकेको छ, न विश्वविद्यालय, न शिक्षा मन्त्रालय, न त स्वास्थ्य मन्त्रालयले नै।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी विद्यार्थीको अध्ययन शुल्क तोक्ने अधिकार मात्र आयोगलाई भएको बताउँछन्।
इन्टर्न डाक्टरको जीवन निर्वाह भत्ता सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेअनुसार हुने भएकाले यस विषयमा आफ्नो कुनै प्रतिक्रिया नभएको उनले बताए।
‘अध्ययनपछि इन्टर्न गर्नुपनि चिकित्सा शिक्षाको कोर्षकै कुरा हो, इन्टर्न गराएबापत शुल्क लिन पाइदैन, इन्टर्न डाक्टरलाई जीवन निर्वाह भत्ता दिनुपर्छ,’ डा गिरीले भने, ‘आयोगले अध्ययनको शुल्क मात्र निर्धारण गर्छ, इन्टर्न डाक्टरको जीवन निर्वाह भत्ता तोक्दैन। यो विश्वविद्यालयले नै गर्छ।’
जीवन निर्वाह भत्ता बढाउन माग गर्दै आन्दोलन
न्यून जीवन निवार्ह भत्ता दिएको भन्दै इन्टर्न डाक्टरहरु पछिल्लो समय आन्दोलन र विरोधमा उत्रिएका छन्। बीपी प्रतिष्ठान धरान र लुम्बिनी मेडिकल कलेज पाल्पाका इन्टर्न डाक्टरहरुले केही दिनदेखि जीवन निवार्ह भत्ता बढाउन माग गर्दै अस्पताल परिसरमा धर्ना समेत दिएका छन्।
इन्टर्न डाक्टरहरुले चिकित्सा शिक्षा संघर्ष अभियान सञ्चालन गर्दै देशभरका मेडिकल कलेजमा कार्यरत इन्टर्न डाक्टरको जीवन निवार्ह भत्ता बढाउन माग गरेको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टर्न गरिरहेका राईले प्रतिष्ठानमा इन्टर्न डाक्टरको जीवन निवार्ह भत्ता बढाउन माग गर्दै आन्दोलन चलिरहेको बताए।
उनले एमबीबीएस उत्तिर्ण गरेर लाइसेन्स प्राप्त चिकित्सकले सरकारको ८ औं तहको मेडिकल अफिसरका लागि योग्य हुने भएकाले एमबीबीएस उत्तिर्ण गरी इन्टर्न गरिरहेका विद्यार्थीको जीवन निर्वाह भत्ता मेडिकल अफिसरको भन्दा आधा भनेपनि बनाउनुपर्ने बताए।
‘सरकारले मेडिकल अफिसरलाई ४८ हजार तलब दिने गरेको छ, हामी इन्टर्नलाई दिने जीवन निर्वाह भत्ता मेडिकल अफिसरले पाउने भन्दा आधा त हुनुपर्छ,’ उनले भने, ‘कत्तिमा पनि २५ हजार हुनुपर्छ।’
प्रतिष्ठानमा यसअघि पनि इन्टर्न डाक्टरको जीवन निर्वाह भत्ता कम भएको भन्दै आन्दोलन हुने गरेको थियो। सो क्रममा प्रतिष्ठानको कार्यकारिणी समिति तथा सञ्चालक परिषद्ले प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरुको तलब वृद्धि गर्दा उचित मूल्यांकन गरी इन्टर्नहरुको जीवन निर्वाह भत्ता पनि वृद्धि गर्ने भन्दै २०७७ सालमा नै निर्णय भएको थियो। तर इन्टर्नको जीवन निर्वाह भत्ता भने वृद्धि नभएपछि विद्यार्थीहरुले इन्टर्न डाक्टरको जीवन निर्वाह भत्ता २५ हजार हुनुपर्ने, आठौं तहको मेडिकल अधिकृतको तलबभन्दा पचास प्रतिशत हुन आउने गरी इन्टर्न डाक्टरको जीवन निवार्ह भत्ता निर्धारण हुनुपर्ने, नाइट ड्युटीमा खटिने इन्टर्न डाक्टरलाई खाजा भत्ता प्रदान गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा छन्।