काठमाडौं- वीर अस्पतालमा आज शुक्रबारबाट एक साताका लागि ब्रेन ट्युमरका बिरामीको नि:शुल्क शल्यक्रिया हुने भएको छ। अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापनाका अवसरमा अर्को शुक्रबारसम्मका लागि नि:शुल्क शल्यक्रिया गर्न लागिएको हो।
वीर अस्पतालमा हाल दैनिक ५ देखि ८ जनासम्म ट्युमरका बिरामी उपचारका लागि आउने गरेको न्यूरो सर्जरी विभागीय प्रमुख प्राडा राजिव झाले जानकारी दिए। 'केन्द्र स्थापना भएको अवसरमा वीर अस्पतालमा एक साताभर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया गरिने छ। शुक्रबारदेखि अर्को शुक्रबारसम्म ब्रेन ट्युमर भएका बिरामीले निःशुल्क शल्यक्रियाको सुविधा लिन सक्ने छन्,' डा झाले भने।
डा झाका अनुसार अस्पतालमा अधिकांश बिरामी ट्युमर ठूलो भइसकेपछि मात्र उपचारका लागि पुग्ने गरेका छन्। रोग जटिल भएपछि बिरामीलाई बचाउन असम्भव जस्तै हुने डा झाले बताए।
उनले भने, ‘विकसित मुलुकमा ट्युमर सानो हुँदा नै अधिकांश बिरामीको ट्युमर हो वा होइन भनेर पत्ता लागिसकेको हुन्छ। तर वीर अस्पतालमा भने ट्युमर ठूलो भएपछि मात्र अधिकांश बिरामी आउने गरेका छन्।’
वीर अस्पतालले ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र प्रभावकारी उपचार हुने उद्देश्यका साथ वीरले राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का निमित्त उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
'देशकै पुरानो केन्द्रिय अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गर्नु राम्रो कुरा हो। अब यसबाट धेरै बिरामीले सहज रुपमा सेवा लिन सक्नेछन्,' उनले भने।
वीर अस्पतालको नयाँ भवनमा न्यूरो सर्जरी सेवा सार्ने तयारी भइरहेको र त्यहाँ सरेपछि शल्यक्रिया कक्ष लगायतका सेवा समेत थप हुने डा बस्नेतले जानकारी दिए।
नेपालमा ब्रेन ट्युमरको उपचारका लागि एउटा निश्चित सेन्टर नभएको प्राडा झाले बताए। यो केन्द्रको स्थापनापछि ब्रेन ट्युमर भएका बिरामीले एकै ठाउँमा सहज, छिटो र प्रभावकारी उपचार पाउने उनले बताए।
उनले भने, ‘छिटो र प्रभावकारी सेवाका लागि ब्रेन ट्युमरको लक्षण भएका बिरामीको तुरुन्तै स्वास्थ्य परीक्षण गरी एकै ठाउँमा औषधि उपचार तथा शल्यक्रिया गर्न ब्रेन ट्युमर उपचार केन्द्रको आवश्यकता महसुस हुँदै आएको थियो।’
ब्रेन ट्युमरको लक्षण भएका बिरामीको तुरुन्तै सिटी स्क्यान तथा एमआरई लगायत विधिबाट स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। तर वीर अस्पतालमै स्वास्थ्य परीक्षण तथा शल्यक्रियाका लागि बिरामीले लामो समय कुर्नुपर्ने बाध्यता छ। यो केन्द्रको स्थापनापछि बिरामीको यो समस्या समाधान हुँदै जाने डा झाको अपेक्षा छ। केन्द्रको स्थापनापछि नेपालमा ब्रेन ट्युमरका बिरामीको तथ्यांक एकीकृत रुपमा राख्ने उनले बताए।
‘एउटै केन्द्रमा बिरामीले प्रभावकारी सेवा पाएको खण्डमा भौतारिनुपर्ने बाध्यतामा कमी हुने हाम्रो विश्वास छ’ उनले भने।
ब्रेन ट्युमरका लक्षणहरु
ब्रेन ट्युमरको मुख्य लक्षण नै टाउको दुख्नु हो। अधिकांश बिरामीले टाउको दुखेको भन्दै औषधि पसलबाट प्यारासिटामोल सेवन गर्ने गरेको डा झाले बताए। ब्रेन ट्युमर हुँदा देखिने लक्षणहरु :
– टाउको दुख्नु
– बेहोस हुनु
– बान्ता धेरै हुनु
– छारे रोगको जस्तै लक्षण देखिनु
– आँखा देख्न छाड्नु
– कान सुन्न छाड्ने
– खाना निल्न कठिन हुने आदि।
टाउको दुख्न थालेपछि अस्पतालमा स्वास्थ्य परीक्षण गराउन डा झाको सुझाव छ। बेलैमा स्वास्थ्य परीक्षण गर्दा ट्युमर हो होइन भनेर पत्ता लगाउन सकिन्छ। जनचेतनाको कमीका कारण बिरामीहरु ढिला अस्पताल आउने गरेको उनको अनुभव छ।
‘समयमा नै ब्रेन ट्युमर पत्ता लगाएर उपचार गरेको खण्डमा यो रोग पूर्ण रुपमा ठिक हुन सक्छ’ उनले भने।